पोखरा। सरकारले खोप उपलब्ध नहुञ्जेलका लागि कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित गरेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको (आईसीएस) बैठकले खोप उपलब्ध नहुञ्जेलका लागि खोप अभियान स्थगित गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले खोप उपलब्ध हुनासाथ सूचना दिएर अभियान सुरु गर्ने बताउनुभयो ।
बुधवारदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप दिने कार्यक्रम रहेकोमा खोप उपलब्ध नहुञ्जेलका लागि स्थगित गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
गएकाे माघ १४ गतेदेखि सुरु भएको खोप अभियान विभिन्न चरणमा गरी मङ्गलवार ( ३ चैत ) सम्म चलेको थियो ।
अभियानअन्तर्गत हालसम्म १६ लाख ४४ हजार पाँच सय ५८ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अभियानमा स्वास्थ्यकर्मी, सफाइकर्मी, शव व्यवस्थापक, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार, जनप्रतिनिधि, अग्रभागमा काम गर्ने कर्मचारी, ६५ वर्षमाथिका नागरिक लगायतले खोप लगाएका छन् ।
यसैबीच खोप अभियानको पहिलो चरणअन्तर्गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएकालाई दोस्राे मात्रा खोप आउँदो वैशाख ७ गतेदेखि ११ गतेसम्म दिने निर्णय गरेको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।
दोस्राे चरण अन्तर्गत फागुन २३ गतेदेखि हिजोसम्म खोप लगाएकालाई दाेस्राे मात्रा खोप दिने मिति भने खोप प्राप्त भएपछि मात्र तय गर्ने उहाँले जानकारी दिनुभयो ।