पाेखरा।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगन्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि भएको अाक्रमणकाे निन्दा गरेका छन्।उनले भेरी अस्पतालकाे घटनाबारे सामाजिक सन्जालमा अाफ्नाे धारणा सार्वजनिक गर्दै घटनाको तत्काल छानबिन गरि अाक्रमणमा संलग्नलाई कडा कारवाहीकाे माग गरेका छन्।
सभापति देउवाले फेसबुकमा लेखेका छन्, ‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो । यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन् । स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु ।’
भेरी अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएका एक बिरामीका आफन्तले बिहीबार साँझ ड्युटीमा खटिएका चिकित्सक र नर्सहरुलाई आक्रमण गरेका थिए । आक्रमणको विरोधमा अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
