मानवअधिकार अायाेगले भन्याे :स्वास्थ्यकर्मीमाथि अाक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउ

0
361

 

 

पाेखरा। राष्ट्रिय मानव अधिकार आयोगले बाँकेको भेरी अस्पतालमा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि भएको कुटपीटको घटना तथा अस्पतालमा भएको तोडफोडको घटनाको विरोध जनाएको छ ।    आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जले शुक्रबार नै भेरी अस्पतालको स्थलगत अनुगमन पनि गरेको छ ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गरी घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन, यस प्रकारको कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ ।

 

बाँकेको भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले हिजो साँझ स्वास्थ्यकर्मीहरुमाथि कुटपीट गर्नुका साथै अस्पतालको कोभिड उपचार कक्षमा तोडफोड गरेको र चिकित्सक तथा नर्सहरुमाथि आक्रमण गरेपछि ४ जना स्वास्थ्यकर्मीहरु एक तलामाथिबाट हाम फालेको अनुगमनको क्रममा पाइएको आयोगले  जनाएको छ ।

कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा रही अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरु माथि भएका यस प्रकारका कुटपीट तथा अस्पताल तोडफोडका घटनाले हालको संकटको अवस्थामा उच्च मनोबलका साथ कार्य गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको मनोबल र प्रतिष्ठामा नकरात्मक असर पर्ने भएकोले घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन, यस प्रकारको कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न र महामारीको यस संकटपूर्ण अवस्थामा स्वास्थ्य जस्तो अत्यावश्यकीय सेवालाई कुनै पनि तवरले अवरोध हुने अवस्था सिर्जना हुन नदिन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान  गर्न आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा आग्रह गरिएको छ ।