सम्झना पौडेल
पाेखरा। प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सम्पूर्ण कार्यकाल काउन्सिलको मर्यादा र प्रतिष्ठा बढाउने काममा खर्चने वचन दिनुभएको छ । प्रेस काउन्सिल नेपालमा आज भएको सपथ ग्रहण कार्यक्रममा उहाँले अबको काउन्सिलले इतिहास रच्ने गरी कार्यसम्पादन गर्ने र त्यसका लागि सबैको साथ र सहयोगको अपेक्षा रहने बताउनुभयो ।
नेपाल सरकारले काउन्सिलको गरिमा र महत्वलाई बुझी लामो समयदेखि रिक्त अध्यक्ष पद पूर्ती गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले प्रेस काउन्सिल नेपालको ऐन र नियममा टेकेर संस्थाको भावना र मर्मअनुरूप स्वस्च्छ पत्रकारिताको विकासमा पहल गर्ने उल्लेख गर्नुभयो ।
अध्यक्ष बस्नेतले काउन्सिलमा धेरै काम गर्न बाँकी रहेको भन्दै संस्थाको गरिमालाई उच्च बनाउन गम्भीर ढङ्गबाट समीक्षा गर्दै अघि बढ्ने बताउनुभयो । वैकल्पिक मिडियामा देखिएका केही बेथितिका कारणले पत्रकार र गैर पत्रकार छुट्याउन गाह्रो भैरहेको, अनलाइनका नाममा खुलेका कतिपय पोर्टलहरूले विकृति फैलाएको भन्दै अब अनुगमन कडाइको साथ गर्ने उल्लेख गर्नुभयो । पत्रकार आचारसंहिताको उल्लङ्घन गरी राज्यका उच्च ओहोदामा भएका व्यक्तिलाई जथाभावी गालीगलौज गर्दै उत्रनेलाई कारबाहीको दायरामा ल्याइने बताउँदै उहाँले भन्नुभयोः गलत ढङ्गबाट बनावटी समाचार बनाएर भ्रम छर्ने ठूला मिडियाप्रति समेत काउन्सिल कडारूपमा प्रस्तुत हुनेछ ।
काउन्सिलका सदस्य सचिव गोगनबहादुर हमालले युवा क्षमतालाई खेर जान नदिई सिङ्गो टिम संस्थाको भलाइको लाग्ने बतानुभयो । प्रेस काउन्सिल नेपालका पूर्व सदस्य एवं नेपाल पत्रकार महासङ्घका केन्द्रिय सचिव गोविन्द चौलागाईंले पत्रकारिताको क्षेत्रमा काम गर्ने निकाय काउन्सिल र महासङ्घबीच सहकार्य हुनेछ भन्दै श्रमजीवी पत्रकारको पक्षमा काउन्सिलले गम्भीर हुनुपर्ने, पत्रकारलाई दिँदै आएको सेवा सुविधा बढाउनुपर्ने बताउनुभयो ।
सदस्य दीपक पाण्डेले लामो समयपछि काउन्सिलले अध्यक्ष पाएको भन्दै नेपाल पत्रकार महासङ्घसँग भन्दा पनि काउन्सिलसँग पत्रकारको बढी अपेक्षा हुने गरेको बताउनुभयो । उहाँले काउन्सिल के हो भन्ने पत्रकारले नबुझेको, काउन्सिलको कर्मचारीलाई तालिमको आवश्यकता भएको जस्ता विषयमा छलफल गर्नुपर्ने बताउनुभयो ।
काउन्सिलका सदस्य गणेशप्रसाद पोखरेलले काउन्सिल पत्रकारिता क्षेत्रको अर्धन्यायिक निकाय भएकाले युवा जोश र जाँगरबाट अबको काउन्सिललाई नयाँ उचाइ दिनुपर्ने बताउनुभयो । सदस्य हरिप्रसाद जोसीले नवनियुक्त अध्यक्ष बस्नेतको कार्यकालमा काउन्सिलको भूमिकाको समीक्षा हुनुपर्ने बताउनुभयो ।
सदस्य चिरञ्जीवी मास्केले पत्रकारिताको माध्यमबाट देशको विकास र समृद्धिमा नयाँ नेतृत्वले उल्लेखनीय काम गरेर देखाउने र त्यसको लागि हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो । सदस्य दुर्गा भण्डारी पौडेलले सफल कार्यकालको लागि शुभकामना दिनुभयो ।
सदस्य ठाकुरप्रसाद बेलबासेले कपाल फुलेपछि मात्रै अध्यक्षको जिम्मेवारी सम्हाल्ने प्रवृत्तिको अन्त्य भएसँगै युवा नेतृत्व तहमा पुग्ने अवसरको पूर्ण सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले काउन्सिल पत्रकार र सरकारबीच सम्बन्ध सेतुको रूपमा काम गर्ने निकाय भएकाले चुनौतिहरूको सामना गर्दै गहन ढङ्गले काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
यसअघि काउन्सिलका नवनियुक्त अध्यक्ष बस्नेतले काउन्सिलको हाताभित्र रहेको पत्रकार सहिद स्तम्भमा माल्यार्पण गरे लगत्तै सदस्य–सचिव हमालले माला र खादा लगाई स्वागत गर्नुभएको थियो । अध्यक्ष बस्नेतलाई प्रेस काउन्सिल नेपालका सदस्य सचिव हमाल, पुर्व सदस्य एवं महासङ्घका सचिव चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत ९प्रवक्ता० दीपक खनाल, उपप्रशासकीय अधिकृतद्वय रामशरण बोहरा र राधेश्याम अधिकारी तथा कर्मचारी सङ्घको तर्फबाट अधिकृतद्वय सुरेन्द्र मल्ल र सविता ढकालले माला र खादा लगाएर स्वागत गर्नुभएको थियो ।
सदस्यहरू जोसी, मास्के, अधिकारी र भण्डारी कोरोनाको कारण काउन्सिलमा उपस्थित हुन नसक्नु भएपछि भर्चुअल माध्यममा जोडिएर शुभकामना दिनुभएको हो । अध्यक्ष बस्नेतले सदस्यहरूका सामु आफैँ सपथ पढेर सपथ ग्रहण गर्नुभएको हो ।
नेपाल सरकारको ०७८ जेठ २० को बैठकको निर्णयानुसार बस्नेत काउन्सिलको अध्यक्षमा नियुक्त हुनुभएको हो । उहाँ प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ उपदफा १९क० बमोजिम नियुक्त हुनुभएको हो । उक्त उपदफामा सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरूमध्ये नेपाल सरकारबाट मनोनित व्यक्ति अध्यक्ष हुने प्रावधान छ ।
कानुन व्यवसायीका रूपमा पनि क्रियाशील बस्नेत यसअघि नेपाल टेलिभिजनको बोर्ड सदस्य तथा नेपाल महासङ्घको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । दोलखा निवासी बस्नेतले २०५२ सालमा छलफल साप्ताहिक र त्यसपछि लामो समय कान्तिपुर दैनिकमा काम गर्नुभयो । उहाँले १४ महिना यता खुलानेपाल अनलाइनको सम्पादकका रूपमा कार्यभार सम्हाल्दै आउनुभएको थियो ।
यसअघि काउन्सिलमा गोपाल बुढाथोकी र किशोर श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नु सम्हाल्नु भएको थियो ।
तस्बिरः विपुल पाण्डे