बजारमा नयनराज पाण्डेको ‘जियरा’

0
398

काठमाडौं । लोकप्रिय लेखक नयनराज पाण्डेको नवीनतम कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । निषेधाज्ञा बीच कुनै सार्वजनिक कार्यक्रम नगरी फाइनप्रिन्टले पाण्डेको नयाँ कृति ‘जियरा’ बजारमा ल्याएको हो ।

यस सङ्ग्रहमा पाण्डेले पछिल्लो समयमा लेखेका १३ ओटा लामा कथा समावेश छन् । ‘जति किताब लेखिसके पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु,’ लेखक पाण्डेले भने, ‘यो उत्साहमा पाठकको प्रतिक्रिया बुझ्ने मेरो हुटहुटी पनि मिश्रित छ । मैले एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक र बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले आख्यानको एउटा बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको छु । त्यसमा म कति सफल भएँ, त्यो जान्न म व्यग्र प्रतीक्षामा छु ।’ ‘जियरा’मा सङ्गृहीत कथा पढ्दा पाठक एकसाथ यथार्थ र स्वप्नमय संसारमा पुग्ने उनको भनाइ छ ।

मधेसको पृष्ठभूमिमा लेखिएका कथाहरूको सङ्ग्र्रह ‘जियरा’मा लेखक पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शिल्प अनि शैलीसित पाठकलाई परिचित गराउँछन् । मुख्य कथाभित्र विभिन्न उपकथा बुन्ने बेजोड कलासँग साक्षात्कार गराउँछन् ।
लेखकले आफ्ना पात्रलाई दुःखका रुन्चे गाथा सुनाउने चरित्रमा सीमित पारेका छैनन्, तिनलाई ‘एजेन्सी’ दिएका छन्, हुर्कंदै गरेको प्रतिरोधी चेतनाको पुट भरिदिएका छन् । पुस्तक पढिरहँदा लाग्छ, लेखक समकालीन समयसँग झगडा गर्न चाहन्छन् ।

जादुयी यथार्थवादी कथाहरूको मानक बनेर आएको पाण्डेको सङ्ग्रह पुँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना रहेको प्रकाशन गृह फाइनप्रिन्टका अजित बरालले बताए । ‘मलाई लाग्छ, पाण्डेका पूर्वप्रकाशित कृति ‘उलार’ र ‘लू’ले जसरी ‘जियरा’ले पनि नेपाली आख्यानमा दरिलो उपस्थिति जनाउनेछ,’ उनले भने ।

पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । यसको मूल्य ४७५ रुँपैयाँ छ ।