कोरोना महामारीमा पत्रकारको अवस्था र आचारसंहिता पालनाको सम्बन्धमा प्रेस काउन्सिलको गण्डकी प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रम सम्पन्न

0
235
पाेखरा। प्रेस काउन्सिल नेपालको आयोजनामा कोरोना (कोभिड–१९) महामारीमा पत्रकारको अवस्था र आचारसंहिता पालनाको सम्बन्धमा गण्डकी प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम संयोजन गर्दै काउन्सिल सदस्य दुर्गा भण्डारी पौडेलले प्रदेशभरका पत्रकारको अवस्था, पत्रकार आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा जानकारी लिन कार्यक्रम राखिएको बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारलाई महामारीको समयमा रोजगारीबाट निकाल्ने, तलब नदिनेजस्ता अमानवीय काम भएकाले पत्रकारलाई राहत मिल्ने खालको कार्यक्रम ल्याउन काउन्सिलले पहल गर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष एवं काउन्सिल सदस्य विपुल पोख्रेलले सरकारले पत्रकारलाई ‘फ्रन्टलाइनर’ को व्यवहार गर्नुपर्ने बताउनुभयो । देशभर कोरोनाबाट १९ जना पत्रकारको मृत्यु भैसकेको उहाँले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले पत्रकारका समस्या समाधान गर्न र आवश्यक नियमन गर्न काउन्सिल सधैँ तयार रहेको बताउनुभयो ।
महासङ्घका केन्दीय सदस्य सरिता तिमिल्सिना पंगेनीले पत्रकार महिलाहरू कोभिड– १९ को चेपेटामा परेको बताउनुभयो ।
पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष नारायण शर्माले गण्डकी प्रदेशमा हालसम्म ११७ जना पत्रकारमा कोरोना सङ्क्रमण भएको र तीनजना पत्रकारको मृत्यु भएको बताउनुभयो ।
पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य पुण्य पौडेलले पत्रकार महासङ्घ श्रमजीवी पत्रकारको अधिकारमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकारहरूले ज्यान जोखिममा राखेर काम गर्ने पत्रकारको लागि मिडिया हाउसले संवेदनशीलता नदेखाएको, पत्रकार जागिरबाट निकालिनुपरेको, बेतलबी विदामा बस्न दबाब दिइएको, पारिश्रमिक नदिइएकोजस्ता विषय उठाएका थिए ।
उनीहरूले पत्रकारको पूर्ण पेसागत स्वतन्त्रता र सुरक्षा ज्ञारेन्टीको माग गरेका छन्।