पाेखरा। ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ ।
अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको हो।
आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो।
सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए।
मारियाले घरेलु टिम ब्राजिलविरुद्ध खेलको २२ मिनेटमा गोल गरेका थिए। डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम स्तब्ध बनेको थियो।
ब्राजिलका रेनान लोडीले राम्रोसँग मार्क गर्न नसक्दा डि मारियाले डिबक्स भित्रबाट बललाई गोल पोस्टको दिशा दिए।
सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपा जितेयता २८ वर्षसम्म उपाधिविहीन थियो । यस बीचमा अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि पराजित भएको थियो ।
२००४ र २००७ को फाइनलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।