पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक महिनापछि मन्त्री मण्डललाई पूर्णता दिएका छन् । शुक्रबार थप ६ जना मन्त्री नियुक्त गर्दै उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबाट थप मन्त्री बनाएका छन्। ११ मन्त्रालय रहेको मन्त्रीपरिषद्लाई पूर्ण बनाएका हुन् ।
नयाँ जिम्मेवारी अनुसार कांग्रेसका कुमार खड्काले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री, विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्री र मणिभद्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा सपथ लिएका छन् ।
यस्तै माओवादी केन्द्रबाट रामजी बरालले अर्थ मन्त्रालय, चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय र दीपक चर्ती मगरले वन, वातावरण तथा भू–संक्षण मन्त्रालयमा सपथ लिए ।
माओवादीबाट मधुमाया अधिकारी यसअघि नै मन्त्री बनेकी छिन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाएकी छिन् । जसपाबाट हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् भने स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) युवा तथा खेलकुद मन्त्री छन् ।
नवनियुक्त मन्त्रीहरलाई उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराएकी हुन् । पूर्वसहमतिअनुसार मुख्यमन्त्री अघि नबढेको भन्दै जसपाले सपथ ग्रहण बहिष्कार गरेको छ। दुई सांसद रहेको जसपाले दुई जना नै मन्त्री हुनुपर्ने माग गरिरहेको थियो। सपथपछि मन्त्रीहरुले शहदीको फोटोमा मार्लापण गर्दै पदभार ग्रहण गरेका छन् ।