हेमजा गोल्डकप सुरु ,विरगंजलाई हराउँदै आयोजक सेमिफाइनलमा

0
213

हेमजा।हेमजा युनाईटेडको अयोजनामा शनिवार देखि छैटौं नेपाल आईस अन्तराष्ट्रिय हेमजा गोल्डकप २०७९ सुरु भएको छ । स्थानीय गौरीशंकर खेल मैदान ९गैरी०मा भएको उद्घाटन खेलमा आयोजकले विरगंज युनाइटेड माथि ३–१ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको सुरुवातदेखि नै निकै दबदबा राखेको हेमजाका लागि सुमन अर्यालले २ गोलको महत्वपूर्ण योगदान दिए ।यस्तै अर्को गोल कमल थापा मगरले थपे । विरगंजका लागि कृपा चौधरीले सान्त्वना गोल फर्काए। सुरुवात देखिनै खेललाई नियन्त्रणमा राखेको हेमजाले खेलको दोस्रो मिनेटमै गोल गर्ने अवसर भने खेर गयो । हेमजाका कमलले गरेको करिब ८० यार्ड टाढाबाटको शसक्त प्रहारमा विरगंजका गोलरक्षक तथा कप्तान दिलमणि चौधरी बाधक बने लगत्तै विरगंजका बिवेक चौधरीको प्रहारलाई हेमजाका गोलरक्षक दीप कार्कीले बचाउ गरे । ७ औं मिनेटमा सुरज ज्यु ठकुरीको क्रसमा सुमन अर्यालको प्रहारमा विरगंजका डिफेन्डर शिसास थापा बाधक बने। उनले हेमजाको गोल गर्ने सुवर्ण अवसरलाई डिफेन्ड लाइनबाट क्लियर गरिदिए। खेलको ११ औं मिनेटमा हेमजाले पेनाल्टीको अवसर प्राप्त ग¥यो ।

हेमजाका सुनिल विकको क्रसलाई डि एरियाभित्र नियन्त्रणमा लिने प्रयास गर्दा विरगंजका सृजन क्षत्रीको हातमा लागेपछि पेनाल्टीको अवसर प्राप्त गर्यो । उक्त पेनाल्टीमा सुमनले सहजै गोल गरे । २७ औं मिनेटमा हेमजाका लोरेन्टले विरगंजका कृपा चौधरीलाई डि एरिया नजिकै लडाएपछि विरगंजले खेलमा फर्किने अवसर प्राप्त गरेको थियो। निकै नजिकबाट पाएको स्वर्ण फ्रि–किकको विवेक चौधरीले सदुपयोग गर्न सकेनन् । उनको प्रहार बाहिरियो । २८ औं मिनेटमा हेमजाका कप्तान मनबहादुर तामाङको क्रसपासमा कमलले उत्कृष्ट हेडर गर्दा गोलरक्षक दिलमणीले बचाउ गरे। २९ औं मिनेटमा विरगंजका विवेक अफ साइड रहँदा बराबरी गर्नबाट चुके । कृपाले उत्कृष्ट क्रसपास गरेपनि उनी पहिले नै अफसाइड रहँदा बराबरीको अवसर खेर गएको हो । खेलको ३६ औं मिनेटमा कमलले डिबक्सभन्दा बाहिरबाट शक्तिशाली प्रहार विरगंजका गोलरक्षकको हातमा लाग्दै गोल हुन पुगेको थियो । त्यसपछि विरगंज निकै दबाबमा परेको थियो । पहिलो हाफमा २ गोलले पछि परेको विरगंजको दोस्रो हाफको अन्त्यमा मात्रै खेलमा फर्किने प्रयास गरेको थियो, त्यतिन्जेल निकै ढिला भइसकेको थियो । हेमजाले दोस्रो हाफको सुरुवाती २ मिनेटमै गोल गर्दै अग्रता तेब्बर पार्दा विरगंज समस्यामा परेको थियो ।

खेलको ४८ औं मिनेटमा हेमजाका सुमनले व्यक्तिगत दोस्रो गोल गरे । उनी खेलको म्यान अफ्दी म्याच समेत घोषित भए । विरगंजले खेल सकिन केही मिनेट मात्रै बाँकी रहँदा ३ वटा अवसर खेर फाल्यो । उक्त अवसर खेरजाँदा जितबाट बञ्चित हुँदै बिरगंज घर फर्किएको छ । निर्धारित समयको पाँच मिनेट बाँकी रहँदा विरगंजका कृपा चौधरीको लगातारको ३ अवसर खेर गयो । उनको चौथो प्रयास भने गोलमा परिणत भयो । उनले खेलको ८८ औं मिनेटमा गोल गरे ।

यहि असार ११ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ए डिभिजन र आयोजक सहित ८ टिमको सहभागिता रहने छ। शनिवार कपको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हेमजामा खेल पुर्वाधार विकासका महानगर तयार रहेको बताए । उनले कपसँगै पोखरा रगंशाला भन्दा बाहिर पनि ठुला प्रतियोगिता गर्न सम्भव छ भन्ने सन्देश दिएको पनि सुनाए।