पत्रकार सरिता तिम्सिना पंगेनीलाई  लेखनाथ पत्रकारिता पुरस्कारद्धारा सम्मान

१६ पुष २०७९, शनिबार

 

 

लेखनाथ । कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्तीको पाेखरा २७ अर्चलेमा भएको मूल   कार्यक्रममा विभिन्न पुरस्कार प्रदान गरिएका छन् ।

कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान लेखनाथ पत्रकार मञ्च लगायतका संस्थाद्धारा आयोजित लेखनाथको १३९ औं जन्मजयन्ती कार्यक्रममा साहित्य, शिक्षा, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुका साथै पुरस्कृत  गरिएको हो।

यस क्षेत्रका कवि तथा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको  कार्यक्रमममा नेपाली भाषा विज्ञानमा विशेष योगदान पुर्याएका चुडामणि बन्धुलाई लेखनाथ साहित्य पुरस्कारद्धारा सम्मान गरिएको थियो । उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।

कुन्तीदेवी साहित्य पुरस्कारद्धारा साहित्यकार तथा लोक गायिका हरिदेवी कोइराला र लेखनाथ सांस्कृतिक पुरस्कारद्धारा वेदनाथ अधिकारीलाई सम्मान गरिएको थियो । उक्त पुरस्कारहरु पच्चीस हजार रुपैयाँ र सम्मान पत्र रहेका छन् । त्यस्तैगरी  पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै पत्रकार सरिता तिम्सिना पंगेनीलाई लेखनाथ पत्रकार मंचले स्थापना गरेको लेखनाथ पत्रकारिता पुरस्कारद्धारा सम्मान गरिएको छ, उक्त पुरस्कारको राशि ११ हजार एक सय ११ रुपैयाँ र सम्मान पत्र रहेको छ ।

जन्मजयन्तीका अवसरमा उनका योगदानका बारेमा चर्चा गरिएको थियो । गण्डकी प्रदेश सभा  सदस्य एवं पूर्व गृह तथा स्वास्थ्य मन्त्री खगराज अधिकारीले कवि शिरोमणि लेखनाथ पौड्याल नेपाली भाषा र साहित्यका महान सर्जक भएको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कवि शिरोमणि लेखनाथ पौड्यालले प्रकृति, मानव जीवन, समाज र कलाको माधुर्यतालाई आफ्ना कविताहरूमा चित्रण गरेको बताए  ।

साहित्यकार सरुभक्त श्रेष्ठले प्रकृतिको चित्रण र मनमोहक वर्णन त पौड्यालको काव्यशिल्पको मुटु नै  भएको धारणा राखे । सोही अवसरमा बोल्दै साहित्यकार तथा पृथ्वीनारायण क्याम्पसका नेपाली विभाग प्रमुख प्राडा कुशुमाकर न्यौपानेले १२ वर्षको उमेरमै कविता कोर्न थालेका लेखनाथलाई पोखराको मनोरम प्राकृतिक दृश्यले पनि कवित्व गुणमा ऊर्जा थपिदिएको बताए।

साहित्यकार तथा समालोचक डा. रविलाल अधिकारीले लेखनाथका कृति  निकै प्रसिद्ध र लोकप्रिय रहेको बताए । साहित्यकार तथा लोक गायिका हरिदेवी कोइरालाले प्रकृतिको चित्रण गर्ने सन्दर्भमा कवि शिरोमणि लेखनाथ पौड्यालले सबै ऋतुहरूप्रति उच्च सम्मानको गाथा गाएको भनाई राखिन ।

त्यसैगरी शिक्षा क्षेत्रमा उत्कृष्ट छात्राछात्रालाई समेत प्रत्येक जन्मजयन्तीमा पुरस्कृत  गरिँदै आइएको छ । उक्त कार्यक्रमको सभापतित्व लेखनाथ जन्मस्थल विकास समितिका कावा अध्यक्ष गिपिराज पौडेलले गरेका थिए ।  पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको  अघौं अर्चलेमा वसुन्धरादेवी र पं. दुर्गादत्तबाट भएको थियो । उनको वि.सं. २०२२ फाल्गुणमा शिवरात्रिका दिन ८१ वर्षको उमेरमा मृत्यु भएको थियो ।

Leave a Reply