पोखरा । पोखराको राम बजारमा प्रधान कार्यालय र न्यूरोडमा सेवा केन्द्र रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले आन्तरिक पर्यटनलाई बढावा दिने उदेश्यका साथ संस्थाको तेस्रो समिक्षा बैठक पोखराकै वडा नम्बर १६ स्थित सुन्दर गाउँ अर्मलाकोटमा सम्पन्न गरेको छ । पहिलो दिन साँस्कृतिक कार्यक्रम र दोस्रो दिन कार्यालय प्रमुख बृहस्पति अधिकारीले राख्नुभएको संस्थागत प्रस्तुति सहितको समिक्षा बैठक गरि दुई दिने कार्यक्रम उक्त गाउँमा गरिएको हो ।
उक्त अवसरमा अर्मलाकोट सामुदायिक होमस्टेका अध्यक्ष बबिता गुरुङ सहितका होमस्टे संचालकहरुले सबैलाई फूल टीकाले स्वागत गर्दै आफ्नो गाउँ रोजाइमा परेकोमा खुसी व्यक्त गरे ।
पोखरामा कुनै बेला संघर्षशील महिला एवं समाजसेवीका रुपमा परिचित संगम सहकारीका पुर्व संचालक सदस्य देब कुमारी गुरुङको जन्म घरमा आउदा श्रद्धाले शिर झुकेको र उनले सहकारीमा दिएको योगदान सम्झदा गर्वले छाती फुलेको अनुभुति सुनाउदै संरक्षक निरज थापाले हालका खेल क्षेत्रका राष्ट्रकै धरोहर गण्डकी प्रदेश खेलकुद परिषदका पुर्व सदस्य सचिव तेज बहादुर गुरुङको गाउँघरमा बास बस्न पाउनुको मिठो संयोग समेत सुनाए ।
यसैगरी उनले पुर्व अञ्चलाधिस लक्ष्य बहादुर गुरुङसँगको ती दिनको सम्झना गर्दै अर्मलाकोट बास्तवमै ऐतिहासिक गाउँ र केहि सिक्नुपर्ने ठाउँ भएको बताए । संस्थाका संचालक सदस्य बिष्णु कुमारी थापाले पनि सहकारीको र समुदायकै महिला सशक्तीकरणमा देबु दिदीले खेलेको महत्वपूर्ण भुमिकाको स्मरण गर्दै भावुक भइन् ।
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं गण्डकी प्रदेश खेलकुद परिषदका पुर्व सदस्य सचिव तेज बहादुर गुरुङले फोनमार्फत सबैलाई शुभकामना दिदै सुखद बसाइ र कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । राम्रो सहकारीले राम्रो गाउँमा ल्याइ कार्यक्रम गरेकोमा धन्यवाद दिदै लेखा संयोजक भोबिन्द्र गिरीले सेयर सदस्यको साथसाथै सेयर रकम वृद्धितर्फ पनि ध्यान दिनुपर्ने बताए । कानुनी सल्लाहकार दयाराम गौतमले सेवा केन्द्रको प्रगति देखेर खुसी लागेको बताए ।
दुई दिने कार्यक्रमकै बिचमा हाइकिङ , हरिहर आश्रम लगायतका ठाउँको अवलोकन , इन्द्र गुरुबाट योग अभ्यास समेत गरिएको थियो । नबराज तिवारीको अध्यक्षता र सचिव धनराज पुरीको संचालनमा भएको कार्यक्रमको अन्तमा पुर्व संचालक सदस्य देब कुमारी गुरुङको स्मृतिमा एक मिनेट मौन धारण समेत गरिएको संचालक सदस्य तिलक थापाले बताए ।