पोखरा । कास्की जिल्ला बन क्षेत्र समन्वय समितिको बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा बन क्षेत्र समन्वय समितिका प्रमुख लिलाधर पौडेलले बन क्षेत्रको संरक्षणमा सरकारी निकायहरू अति गम्भीर र प्रभाबकारी ढंगले लागि पर्न आग्रह गर्दै पछिल्लो समय बन बिनासको महत्वपूर्ण कारक तत्व डढेलो नियन्त्रण गर्न प्रभाबकारी जनचेतना सहितका कार्यक्रम बनाउन आग्रह गर्नुभयो।
मानब जीवन सहित सम्पूर्ण जिबजन्तुको अस्तित्व नै समाप्त हुने गरि बन बिनास बढ्दै जानू अत्यन्त चिन्ताको बिषय भएको भन्दै प्रमुख पौडेलले संरक्षणका निम्ति तत्काल अल्पकालिन र दीर्घकालीन कार्ययोजना आबश्यक भएको हुँदा त्यसतर्फ ध्यान दिन सरोकारवाला कार्यालयका कर्मचारीहरूलाई आग्रह गर्नुभयो।
पौडेलले छलफलका क्रममा देखिएका समस्या ,चुनौती ,कानुनी र नितिगत समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराउने उल्लेख गर्दै घनिभुत ढंगले समन्वय गर्ने उल्लेख गर्नुभयो।
पौडेलले नितिगत झन्झट राजनितिक तहबाटै हल गर्नुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा जि. स. स. कास्कीका उप-प्रमुख सरिता माल, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, कास्कीका डिभिजनल बन अधिकृत कोमलराज काफ्ले , एक्याप पोखरा कार्यालयका प्रमुख डाक्टर रबिन कडरिया , सामुदायिक बन उपभोक्ता महासंघ नेपाल गण्डकीका अध्यक्ष कालिदास सुवेदी सहितका विभिन्न सरोकारवाला ब्यक्तिहरूले बन क्षेत्रमा देखिएका समस्या ,चुनौती र निराकरणका सम्बन्धमा आ -आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा बन क्षेत्र समन्वय समितिका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।