पचभैयाँको शिविरमा तीन सयको सित्तैमा जाँच

0
57

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा ३१ उपशाखा वेगनासको आयोजना र युआरएल शिशुवाको प्राविधिक सहयोगमा पचभैयाँमा शनिबार भएको शिविरमा ३ सय ५ जनाको सित्तैमा जाँच गरिएको छ ।
शिविरमा सहभागीको युरिक एसिड र रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको हो । कार्यक्रममा वरिष्ठ बाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ डा रामकृष्ण गिरीले वाथ रोग लाग्नुका कारण, लक्षण, उपचार प्रक्रिया आदिबारे प्रकाश पारे । उनले उनले बाथ रोगलाई बेवास्ता गरे कुँजिने, अपांगता हुने सक्ने र जीवन निकै कष्टकर बन्ने औंल्याए ।
डा गिरीले युरिक एसिडका कारण एक खालको बाथ हुन सक्ने औंल्याउँदै युरिक एसिडलाई मात्र बाथका रुपमा नबुझ्न आग्रह गरे । बाथसम्बन्धी समाजमा अनेक भ्रम रहेको औंल्याउँदै उनले भ्रमको पछि नलाग्न र समयमै उपचार गरी सहज जीवन बाच्न आग्रह गरे ।
‘गर्भका बाच्चादेखि अति वृद्धसम्मलाई वाथ हुन सक्छ । तर बाथ फरक फरक प्रकारको हुन्छ,’ डा गिरीले भने, ‘बाथका लक्षणहरु देखिए वा नठोक्किई, कतै दुख्ने गरे बाथ हुन सक्ने भएकाले उपचार गर्नुपर्छ । जति ढिलो भयो, बाथको उपचार प्रक्रिया जटिल बन्दै जान्छ ।’ उनले स्थानीय राखेका जिज्ञाशाहरुको पनि जवाफ दिएका थिए ।
पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले रोग लागिसकेपछि उपचारलाई भन्दा लाग्नै नदिन सचेतना, बेला बेलामा जाँच जस्ता कुरामा ध्यान दिनुपर्नेमा जोड दिए । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले युआरएलले ११ वर्षदेखि पोखरा र आसपासका क्षेत्रमा गुणस्तरीय ल्याब सेवासँगै बेला बेलामा निशुल्क शिविरसँगै सचेतना कार्यक्रम गर्दै आएको जनाए । ‘हामी प्रदेशको पहिलो रेफरेन्स ल्याब हौं । पहिलो र अग्रणी ल्याब भएकाले त्यही अनुरुप दायित्व निर्वाहसमेत गर्दै आएका छौँ ।’
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की कोषाध्यक्ष सन्तोष अधिकारीले लेखनाथ क्षेत्रमा मुटुरोग र वाथसम्बन्धी कार्यक्रम भइसकेको जनाउँदै चाँडै पाठेघरको क्यान्सर जाँच शिविर आयोजना गर्ने प्रतिवद्धता गरे । रेडक्रस सोसाइटी पोखरा ३१ उपशाखाकी कार्यवाहक सभापति बबिता सुवेदीले स्थानीयलाई स्वास्थ्यबारे सचेत बनाउन र रोग लागिसकेको भए उचित उपचारका लागि उत्प्रेरित गर्न कार्यक्रम गरिएको जनाइन् ।
यो युआरएलले प्राविधिक सहयोग गरेको १ सय ७४ औं शिविर हो । अहिलेसम्म विभिन्न संघ, संस्थासँग सहकार्य गरी भएका शिविरबाट २ लाखभन्दा बढीले सित्तैमा सेवा पाएका छन् ।
कार्यक्रममा अमरसिद्ध माविका प्रधानाध्यापक विष्णुप्रसाद पौडेल, ग्लोबल आइएमइ बैंकका रामचन्द्र कँडेल, रेडक्रस उपशाखाका सचिव कृष्ण तिमिल्सिना लगायतले बोलेका थिए । युवा रेडक्रम सर्कल अमरसिद्ध नमुना मावि, नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा, पोखरा ३१ वडा कार्यालय र ग्लोबल आइएमइ बैंकले पनि कार्यक्रमका लागि सहकार्य गरेका थिए ।