कास्की । पोखरामा हिजो रातिदेखी अहिलेसम्म निरन्तर वर्षा भइरहेको छ ।अविरल वर्षापछि गएको पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिका गरी दुई जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।
कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्ती स्थित प्रकाश रानाभाटको घरमा आज विहान २ः१५ बजे गएको पहिरोमा परेर कोठामा सुतेका १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जारालाई सकुशल उद्धार गरिएको छ । घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । घटनापछि इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरेको थियो ।
यसैगरी आज विहान ३ः०० बजेको समयमा पोखरा महानगरपालिका–२७ आरुपाटा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किदा सुनारका तीन वर्षीय छोरा अनमोल सुनारको मृत्यु भएको छ ।
घटनामा सुनारका श्रीमति २७ वर्षीय रितु घाइते भई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ । रितुको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । सो घटनामा हरि र उहाँका नौ वर्षीय छोरी अञ्जलीलाई सकुशल उद्धार गरिएको थियो ।
पहिराले घर पूर्ण रुपमा क्षति पुगेको बताइएकाे छ ।