पोखरामा तायाः मचा नृत्य प्रतियोगिता हुने

२३ असार २०८१, शनिबार

पोखरा । नयाँ बजार सांस्कृतिक समितिको आयोजनामा तायाः मचा नृत्य प्रतियोगिता २०८१ हुने भएको छ ।
प्रतियोगिता  भदौ ८ गते गण्डकी प्रदेश सङ्ग्रहालय रोड, शिव गणेश मार्गमा हुनेछ ।
नेवाः खलः कास्कीद्वारा गाईजात्रा पर्वको अवसरमा गरिने नियमित कार्यक्रम यसवर्ष नयाँबजार सास्कृतिक समितिको आयोजनामा हुन लागेको शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले संस्कृति संरक्षण गर्ने कार्यमा वडाको निरन्तर सहयोग हुने बताए ।
नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले करिब २ सय ५० वर्ष पुरानो इतिहास बोकेको गाईजात्रा पर्वको अवसरमा निकालिने तायाः मचा नृत्य पोखराको मौलिक ऐतिहासिक नृत्य भएको बताए । साथै, उनले तायाः माचाको महत्वलाई आत्मसाथ गर्दै सबै कचाः खलः तथा पुचः हरुलाई प्रतियोगीतालाई व्यवस्थित रुपमा सफल पार्न सहयोग गर्न आग्रह गरे ।
पत्रकार सम्मेलनमा प्रतियोगिता सम्पादन समितिका मूल संयोजक शम्भुलाल श्रेष्ठका अनुसार यस वर्ष प्रतियोगिता अन्तर्गत महिला र पुरुष समूह गरी विभिन्न टोलका ३६ वटा नृत्य टोलीले सहभागिता जनाउने अनुमान गरिएको छ । परापूर्व कालदेखि प्रचलनमा रहेको तायाः मचा संस्कृतिको संरक्षण गर्नु, परम्परागत, मौलिक संस्कृतिको माध्यमबाट आन्तरिक र वाह्य पर्यटनलाई आकर्षण गर्नुको साथै नयाँ पुस्ताहरुलाई यसको महत्व बुझाई यसको निरन्तरताको बोध गराउनु प्रतियोगिताको मूल उद्देश्य रहेको संयोजक श्रेष्ठको भनाई छ ।
प्रतियोगिताको बिजेतालाई ३ लाख १ रुपैयाँ, द्वितीय हुनेलाई २ लाख १ रुपैयाँ, तृतीय हुनेलाई १ लाख १ रुपैयाँ र सान्त्वना हुनेलाई १० हजार १ रुपैयाँ प्रदान गरिने मूल संयोजक श्रेष्ठले जानकारी दिए । त्यस्तै महिलातर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए । पुरस्कारको सबै राशी पोखरा तेर्सापट्टी निवासी स्व.हेमप्रसाद र बालकुमारी श्रेष्ठको स्मृतिमा उनका परिवारले उपलब्ध गराउने जनाइएको छ ।

Leave a Reply