प्रेसर, सुगर लगायतको  औषधि निशुल्क उपलब्ध गराउन  कास्की कारागारका    कैदीबन्दीहरुकाे    माग 

४ श्रावण २०८१, शुक्रबार

 

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले कारागार कार्यालय कास्कीको निरीक्षण गरेका छन् । शुक्रबार कारागारमै पुगेर उनले बिरामी भएका ९२ जना कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा बुझेका हुन् । डेंगी लगायत विभिन्न रोग लागेर बिरामी भएका कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको मन्त्री थापाले बताए ।

“कास्की कारागारको आज निरिक्षण गरेको छु । बिरामी भएका ९२ जना कैदीबन्दीहरुको स्वास्थ्यमा विस्तारै सुधार आएको रहेछ । उहाँहरुलाई आवश्यक पर्ने औषधि लगायत पोसिलो आहारको समेत व्यवस्था गरिएको छ ।”, उनले भने । मन्त्री थापाले कारागारमा देखिएको खानेपानी लगायतका अन्य समस्याका विषयमा समेत जानकारी लिएको बताए ।

कैदीबन्दीहरुले प्रेसर, सुगर लगायतको नियमित खाइरहने औषधि निशुल्क उपलब्ध गराउन माग गरेको र त्यस विषयमा स्वास्थ्य मन्त्रालयका सचिवलाई समेत निर्देशन गराइसकिएको उनले बताए

कारागारमा भएका समस्यालाई समाधान गर्न आफु लाग्ने प्रतिबद्धता समेत उनको छ । कास्की कारागार पहिले भन्दा व्यवस्थित भएको उनले बताए । “कारागार पहिले भन्दा व्यवस्थित रहेछ । सरसफाईमा समेत ध्यान दिएको पाए । आवश्यक सामान बिक्रीमा कारागार भित्र हुने गरेको मुल्यवृद्धिमा समेत ध्यान दिन निर्देशन दिएको छुु ।”, उनले भने ।

कास्की कारागारमा अहिले ७८३ जना कैदीबन्दी रहेका छन् ।

Leave a Reply