यस वर्षको तीजमा बालेन  देशभक्ति र  माइतीको झल्को लिएर  आइन  चन्द्रावती

७ श्रावण २०८१, सोमबार

पोखरा। तीजको आगमनसँगै हरेक वर्ष नयाँ नयाँ तीजका गीतहरू कोशेली ल्याउने गर्नुभएकी गीतकार चन्द्रावती वाग्लेले यस वर्षका लागि तीनवटा तीजका गीत ल्याउनुुभएको छ ।
यस वर्ष उहाँका बालेन र देशभक्ति शीर्षकका तीज गीत बजारमा आइसकेका छन् भने माइतीको झल्को आउने अन्तिम तयारीमा छ ।
समाजका कथा, व्यथा र पीडालाई जीवन्त रुपमा आफ्ना गीतका माध्यमबाट प्रस्तुत गर्दै आउनुभएकी वाग्लेका गीतमा देशको सीमा, देशको रक्षाका लागि लडेका नेपाली योद्धाको चर्चासँगै पछिल्लो समय देशको सीमा मिचिएको लगायतका विषय उल्लेख गरिएको छ ।
देशभक्ति शीर्षकको गीतको सुरुको टुक्कामा नै उहाँले भन्नुभएको छ,
“आजसम्म गाइयो गीत सत्ताको र शक्तिको ।
यो तीजमा गाउँछु गीत देशभक्तिको ।।”
देशको रक्षाका लागि पुर्खाले गरेको बहादुरी प्रति गर्व गर्दै उहाँ गीतमा भन्नुहुन्छ ।
“नालापानी युद्ध लडी देश बचाए पुर्खाले ।
जतन गर्न सकेनौ च्यापे अर्काले ।।
तत्कालीन समयमा नेपालीहरू एकजुट भएर शत्रु पराजित गरेको र सामन्य रुपमा जीवनयापन गरेको प्रसङ्ग उल्लेख गर्दै भन्दै उहाँले,
“शत्रु पराजित गरे दाजुभाइ मिलेर ।
भोकलाग्दा पानी सँग सातु लिएर ।।
राष्ट्रियता राष्ट्र प्रति सधैं भलो चिताए ।
कछाड र कमेजमा रात विताए ।।” भन्नुभएको छ ।
देशका लागि स्वार्थ रहित ढंगले बहादुरी साथ लडेको भन्दै गीतमा
“बहादुरी साथ लडे स्वार्थमा कहीँ चुकेनन् ।
देशका लागि कति रोए कतैं झुकेनन् ।।
आज भाइभाइ लडे दोस्रो पक्ष हाबी भो ।
चारैतिर सिमानामा उनकै दाबी भो ।।”
भुठा आस्वासन र एक अर्कामा गाली गलौजले देश विकास नहुने भन्दै उहाँले,
“सडक सदन चोकचोकै झुटो भ्रम छर्दैमा ।
हुन्न विकास विपक्षीलाई गाली गर्दैमा ।।” भन्नुभएको छ । उहाँका यी गीत उहाँ स्वयम्को ‘चन्द्रावती वाग्ले’ नामक युटुव च्यानलमार्फत गीतसहितको म्युजिक भिडियो हेर्नसकिन्छ ।

 


शब्द, स्वर र लय चन्द्रावती स्वयंको रहेको गीतको एरेन्ज कृष्ण पुनले, सम्पादन शिवराज भुर्तेलले गर्नुुभएको छ । गीतमा कोरस स्वर रुपी सिञ्जाली र प्रतिमा विश्वकर्माको भने म्युजिक भिडियोको मिक्सिङ साजन शाहले गर्नुुभएको छ । वसन्त चालिसेको निर्देशन रहेको गीत म्युजिक बैंकमा रेकर्ड गरिएको हो ।
गीतको म्युजिक भिडियोमा वसन्त चालिसे, दीपेन्द्र कार्की, बुद्धिसागर खनाल, शिव त्रिपाठी, मुक्तिप्रसाद रेग्मी र ढुुण्डीराज ज्ञवालीको मुख्य अभिनय रहेको छ । श्रृंगार सुरेश भुर्तेल, छयांकन पनि शिव र सुरेश भुर्तेलले नै गर्नुुभएको छ ।
उनको ‘बालेन’ नामको म्युजिक भिडियो एक साता अघि सार्वजनिक भएको थियो । विभिन्न आठवटा टुक्कामा समेटिएको गीतमा काठमाडौं महानगरप्रमुख बालेन शाहले थालेका विकास निर्माणका बारेमा चर्चा गर्दै राम्रा कामहरू सबैका लागि अनुकरणीय हुने उल्लेख गरिएको छ । काठमाडौंमा लुटिएका जमिनहरूको सरकारीकरण र साँघुरा बाटाहरू फराकिलो पारिएको भन्दै गीतमा,
“लुटिएका कैयौं जमिन सरकारमा सार्दैछन् ।
साँघुरा ति सडक पेटी चाक्ला पार्दैछन् ।।” उल्लेख छ ।
प्रत्येक वर्ष नयाँ नयाँ गीतका साथ देखिने वाग्लेले अघिल्लो वर्ष कृषि प्रधान देश, फेरी पनि आयो तीज मन दुखाउन शीर्षकका गीत ल्याउनुुभएको थियो ।
पहिलोपटक वि.संं. २०७४ मा ‘आइन छोरी’ गीत सार्वजनिक गरेकी गीतकार वाग्लेका यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा–भाग एक, गरिन गुनासो, जागिरे नारी–भाग दुई, सहरको सुविधा र म, दर्जा बेरोजगारको, आऊ सङ्गी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जँड्याहा पोइ, शून्य छ जन्मेको घर बरिलैलगायत गीत सार्वजनिक गरिसक्नुुभएको छ । साहित्यका अन्य विभिन्न विधामा समेत कलम चलाउँदै आउनुुभएकी वाग्लेका हरिश्चन्द्र शोककाव्य, जिन्दगीको बाटो मोडियो तीज गीत संग्रहका साथै पलपलका भावनाहरू कविता संग्रह प्रकाशन भैसकेका छन् । पोखरा महानगरपालिकामा अधिकृत कर्मचारीका रुपमा सेवारत वाग्ले कस्केली अधिकृत समाजको कार्यसमिति सदस्य सहित विभिन्न सामाजिक संघ संस्थामा कृयाशिल हुनुहुन्छ ।

Leave a Reply