संस्कार सहितको शिक्षा आजको आवश्यकता : मन्त्री थापा

१ भाद्र २०८१, शनिबार

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले संस्कार सहितको शिक्षाको आजको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन कास्कीले शनिबार आयोजना गरेको अभिभावक अभिमुखीकरण कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् ।
अभिभावकको अज्ञानताले, बालबालिकाप्रति गरिने नकारात्मक व्यवहारले उसको जीवनमा नकरात्मक प्रभाव पर्ने बताउँदै मन्त्री थापाले अभिभावकले यसमा विशेष ध्यान दिनुपर्ने बताए । बाबुआमा हजुरबा हजुरआमाका आनी बानी बोली व्यवहार बच्चाले नजिकबाट नियालिरहेको हुनाले त्यसै अनुरुपको सिकाई प्रति अभिभावक चनाखो हुनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
“समाज परिवर्तनसँगै अभिभावकको भूमिका पनि परिवर्तन भएको छ । अन्तर पुस्ता जोड्ने, बाबुआमा वा मान्यजनप्रति गरिने व्यवहार, संस्कार र संस्कृति सिकाउने जिम्मा पनि अभिभावककै हो ।”, उनले भने ।
समाजमा भएका ज्ञान गुणका कुरा, शास्त्रमा भएका ज्ञान गुणका कुरा र बाहिरी जगतमा भएका ज्ञान गुणका कुरा अभिभावकबाट नै बालबालिकाले सिक्ने हुँदा सकरात्मक चिन्तनको विकास तर्फ लाग्नुपर्ने उनले बताए । बालबालिकाको उत्सुकता र आवश्यकतालाई अभिभावकहरुले सही सम्बोधन गर्न सकेमात्र उनीहरुमा आत्मविश्वास र आत्मसम्मान बढ्ने भनाई उनको छ । शिक्षित र सुसंस्कृत अभिभावकले आफ्ना बालबालिकाहरुको मनोविज्ञान बुझेर सोही अनुरुप मार्गदर्शन गर्नुपर्ने उनले बताए ।
सामाजिक सञ्जालको सही प्रयोग गर्ने बाटोमा आफ्ना बालबालिकालाई डोह¥याउन अभिभावक स्वयमले सामाजिक सञ्जालको समुचित प्रयोग गर्नुपर्ने धारणा मन्त्री थापाको छ । विगतमा विद्यार्थीहरुलाई मात्र केन्द्रित गरी विभिन्न कार्यक्रमहरु गर्ने गरिएकोमा अहिले अभिभावकहरुलाई समेत समेट्ने गरी प्रदेश सरकारले कार्यक्रम तय गरेको जानकारी उनले गराए । प्रदेश सरकारले यस आर्थिक वर्षदेखि अभिभावक शिक्षा तथा वृत्ति परामर्श, मानव मूल्य र सीपको विकास जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको भनाई उनको छ ।
शिक्षक विद्यार्थी प्रतिभा पहिचान, असल अभ्यास प्रवर्द्धन, सिक्दै कमाउदै कार्यक्रम, सिकाउनका लागि पढाइ कार्यक्रम, न्यून सिकाइ उपलव्धि भएका विषयमा अतिरिक्त कक्षाको व्यवस्था, विद्यार्थीहरुका लागि सृजनात्मक लेखन र बालबालिकाहरुका लागि साहित्यिक पुस्तक वितरण कार्यक्रमका साथै सिकाउनका लागि पढाई लगायतका महत्वपूर्ण कार्यक्रमहरु यो आवमा कार्यान्वयन हुने उनले बताए । यसका साथै शिक्षक विद्यार्थी, अभिभावक लगायतका सरोकारवालाहरुमा आत्म अनुसाशन वृद्धि गर्ने अभिप्रायले प्रदेश सरकारले यसै आ.व. देखि प्रदेशभर योग ध्यान र जीवनविज्ञानका कार्यक्रम पनि सञ्चालन गर्दैछ ।
प्रदेश शिक्षा निर्देशनालयका प्रमुख अम्बिका प्रसाद आचार्यले शिष्टता, सालिनता, परिश्रमीको शिक्षा अभिभावकले नै बालबालिकालाई सिकाउन सक्ने बताए । धनको लगानी भन्दा पनि मनको लगानीको आवश्यकता रहेको उनको भनाई छ ।
नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले अब सीप सहितको शिक्षा आवश्यकता भएको उल्लेख गरे । समयानुसारको शिक्षाले नै विद्यार्थीमा परिवर्तन आउने भनाई उनको छ । गह्रङगो पाठ्यक्रमलाई हलुका बनाउन तर्फ लाग्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

Leave a Reply