आत्मज्ञान प्रचार संघ कास्की द्वारा शान्ति पदयात्रा सहित विभिन्न कार्यक्रमका साथ पाेखरामा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाईयाे

0
47

सरिता तिम्सिना पगेनी

 

पाेखरा।अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आत्म ज्ञान प्रचार संघ पाेखरामा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाईएकाे छ। दिवसका अवसरमा शनिबार  आत्मज्ञान प्रचार संघ रानीपाैवा कास्कीले शान्ति पदयात्रा सम्पन्न गरेको छ। शान्ति पदयात्राका सहभागीहरुले शान्ति हामी भित्र छ,शान्ति अनुभव गर्न जरुरी छ,  परिवर्तनको सुरुवात आफुवाट गराैं जस्ता  सन्देश लेखिएका प्लेकार्ड बाेकेका थिए। पाेखरा रानीपाैवावाट सुरु भएको शान्ति पदयात्रा महेन्द्रपुल,चिप्लेढुङ्गा ,न्युरोड ,नयाँ बजार हुदै आत्मज्ञान प्रचार संघकाे कार्यलय रानीपाैवामा पुगेर औपचारिक कार्यक्रममा परिणत  भएकाे थियाे।

 

औपचारिक कार्यक्रमकाे उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका भाैतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले द्वीप प्रज्वलन गरी हरेक मानिसको मन मष्तिकमा शान्ति स्थापना गर्न सके समाज शान्तिपूर्ण हुने र शान्तिपूर्ण समाजले नै सुखी नेपाली र समृद्ध गण्डकी प्रदेश वनाउन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले  बिश्व शान्ति दुत प्रेम रावत फाउन्डेसनले गरेको मानविय र सामाजिक कार्यकाे उच्च प्रशंसा गर्दै एकपटक पाईने मानिसको जीवनमा सबैले सत्कर्म गर्नुपर्नेमा जाेड दिनुभयो । संयुक्त राष्ट्र संघकाे अन्तर्राष्ट्रिय शान्ति दिवस सेप्टेम्बर २१ का दिन आत्मज्ञान प्रचार संघले व्यक्तिगत र सामाजिक शान्ति स्थापना गर्ने उदेश्यले कार्यक्रमकाे आयोजना गरिएको कार्यक्रम संचालक हातेमालो अभियान नेपालका अध्यक्ष एबम् सामाजिक अभियान्ता डाक्टर लक्ष्मी पन्थीले जानकारी दिनुभयो ।

सो कार्यक्रममा अन्तराष्ट्रिय शान्ति दूत प्रेम रावत र प्रेम रावत फाउन्डेसन र आत्म ज्ञान प्रचार संघले शान्ति स्थापना गर्न शान्ति शिक्षा, पिस एजुकेशन प्रोग्राम जस्ता क्यौ मानविय कार्यक्रमका विषयको भिडियो देखाइएको थियो। इभेन्ट म्यान्जर डाक्टर साैरभ अधिकारीले २०४१ सालमा नेपालमा विधिवत दर्ता भएको आत्मज्ञान प्रचार संघका देशभर ५ सय भन्दा बढि शाखा रहेको जानकारी दिनुभयो । आत्मज्ञान प्रचार संघ रानीपाैवा कास्कीका केन्द्र सहायक रामकुमारी गुरुङले आगलागी,बाढी पहिराे,शीत लहर जस्ता विपतका समयमा पनि आत्मज्ञान प्रचार संघले सहयोग गर्दै आएकाे जानकारी गराउनुभयाे।नेपालकाे धादिङमा जन भाेजन कार्यक्रम संचालन ,  नेपालका विभिन्न गाउँमा पुगेर त्यहाँका नागरिकलाई  सीप मुलक र आय आर्जनका कार्यक्रम समेत गर्दै आएकाे उहाँले जानकारी दिनुभयो ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनी,पाेखरा महानगरपालिका वडा नम्बर १२ का कर्मचारी निर्मला बस्नेत लगायत, कास्की जिल्ला भरिका आत्म ज्ञान प्रचार संघ संग सम्बन्धित व्यक्तित्वहरु, समाजसेवी मिन गुरुङ, विभिन्न क्षेत्रमा कार्यरत धार्मिक एवम् समाजसेवी व्यक्तिहरुकाे सहभागीता रहेको थियाे । त्यस्तै   कार्यक्रममा  बिश्व शान्ति दुत एबम गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर प्रेम रावतकाे  सकरात्मक सन्देश र शान्ति सुरक्षा कार्यक्रम विषेश  भिडियो देखाईएकाे थियाे । उहाले  भिडियाे सन्देशमा  प्रत्येक मानवको हृदयमा प्रेम, आनन्द, शान्ति र सद्भावको बिज रोप्दै मानव जीवनलाई सफल पार्न सहयोग गर्नु आफ्नो जीवनको परम लक्ष्य रहेकाे  उल्लेख गर्दे शान्ति सम्भव छ । शान्ति आफैँभित्र छ । अरुलाई परिवर्तन गर्न असम्भव छ । आफूलाई परिवर्तन गर्न मात्र सम्भव छ । परिवर्तनको सुरुवात आफूबाट गरौँ, विश्वमा शान्ति अवश्य हुन्छ भन्नुभएकाे  छ ।

कार्यक्रममा  लगभग ३ सय जनाकाे  सहभागिता  रहेकाे थियो।