पाेखरा । सम्मानपूर्वक बाँच्न पाउनुपर्ने अधिकारबाट वञ्चित हुनु परेको ज्येष्ठ नागरिकले गुनासो गरेका छन । बिहीबार जेष्ठ नागरिक दिवसको अबसरमा पाेखरामा आयोजना गरिएको जेष्ठ नागरिककाे लागि कानुनी संरक्षण विषयक कास्की जिल्ला स्तरीय अनुशिक्षण कार्यक्रमका सहभागीले नागरिकको मौलिक अधिकारअन्तर्गतको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका साथै आरक्षणका नाममा उपलब्ध सेवा सुविधाबाट आफूहरू वञ्चित भएको गुनासो गरेका हुन् ।
कार्यक्रममा बाेल्दै पाेखरा महानगरपालिका वडा नम्बर १७ का वडा सदस्य शिवराम भण्डारीले जेष्ठ नागरिकका सवालमा काम गर्न वडा कार्यलय सधैं प्रतिवद्ध रहेको बताउनुभयो ।
जेष्ठ नागरिक संघ कास्कीका अध्यक्ष केशव ढकालले यातायात साधनमा परिचयपत्र देखाउँदा वेवास्ता गरिने र छुटको कुरा गर्दा दुर्व्यवहार समेत व्यहोर्नु परेको बताउनुभयाे । सार्वजनिक यातायात साधनमा ज्येष्ठ नागरिक छुट र सुविधा दिने कार्यविधि २०७० को दफा ३ को १ मा ६० वर्ष उमेर पार गरेका व्यक्तिलाई परिचयपत्रका आधारमा आरक्षण तथा छुट दिइने व्यवस्था उल्लेख छ । जसमा एक सवारी साधनमा बढीमा दुई जनालाई उक्त सुविधा दिइने व्यवस्था छ तर, उक्त व्यवस्था अनुसार सार्वजनिक यातायातका साधनमा सुविधा नपाएको उहाँले बताउनुभयाे ।
जेष्ठ नागरिककाे लागि कानुनी संरक्षण विषयक कार्यक्रमकाे सहजिकरण गर्दै अधिबक्ता सरिता तिम्सिना पगेनीले जेष्ठ नागरिकका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवारका सदस्य, समाज, संघसंस्था तथा तीनै तहका सरकारहरूबीच सहकार्य गरी ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार र सहज जीवनयापनका लागि सामुहिक प्रयास गर्नु पर्नेमा जाेड दिनुभयाे ।