पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव अधिकारको सवालमा आफू सचेत हुनुपर्ने र अरूको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।राष्ट्रिय मानव अधिकार आयोगको २५ औं वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख भट्टले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन भए नभएको बारे ख्याल गर्न जरुरी रहेको बताउनुभयो । सबैले जिम्मेवारीपूर्वक आफ्नो हक प्रयोग गर्दा मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिनेमा प्रदेश प्रमुख भट्टको जोड छ ।
कार्यक्रममा बाेल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले मुलुकमा मानव अधिकार संस्कृतिको विकास गर्दै मानव अधिकारको सम्मान र संरक्षण गर्ने सवालमा आयोगले आफ्नो स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान गर्दै आइरहेको बताउनुभयाे ।
मानव अधिकार मानिसले जन्मसिद्ध रूपमा प्राप्त गरी स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने आधारभूत अधिकार रहेको र यी अधिकारहरू मानिसको मानव मर्यादा, इज्जत र प्रतिष्ठाका लागि सिर्जित भएको हुँदा मानिसलाई मानिस भएर बाँच्नका लागि अपरिहार्य रहेको उहाँको भनाई छ ।
राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशका प्रमुख नितु गर्ताैलाले
राजनैतिक संरक्षण तथा दण्डहिनताको संस्कृतिले मानव अधिकारको सिद्धान्तलाई उपेक्षा गर्ने हुनाले यसतर्फ सबैपक्ष सचेत बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गैरसरकारी सस्था महासङ्घ गण्डकी समितिका अध्यक्ष गोपाल खड्का,मानवअधिकारकर्मी बिना सिलुवाल, यूएडीपिका प्रतिनिधि टेक टमाटा लगायतकाले शुभकामना राख्नु भएको थियो ।