जिल्ला प्रशासन कार्यालय कास्कीकाे सहजीकरणमा आमाको नामबाट नागरिकताको प्रमाणपत्र वितरण

0
13

पोखरा । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ०८ की स्थायी बासिन्दा निरुता नेपालीका तीन सन्तानलाई आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ।
आइतबार  निरुता नेपालीका दुई छोरा सुजन नेपाली, दिनेश नेपाली र  छोरी सुस्मिता नेपालीलाई जिल्ला प्रशासन कार्यालय कास्कीको सहजीकरणमा आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो।
अन्नपूर्ण गाउँपालिकामा यहि मंसिर १२ गते सञ्चालन गरिएको ‘स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम’का क्रममा निरुता नेपालीका सन्तानको जन्मदर्ता र नागरिकता प्राप्तिमा समस्या रहेको विषय उठान गरिएको थियो। सोही विषयलाई आधार मानी सम्बन्धित स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालयको पहलमा समस्या समाधान गरिएको हो।
प्राप्त जानकारी अनुसार निरुता नेपालीको विक्रम राई नामक व्यक्तिसँग सम्बन्ध कायम भई सन्तान जन्मिएको भए पनि विक्रम राई श्रीमती र चार सन्तानलाई छाडेर वेपत्ता भएपछि बाबुको पहिचान खुल्ने कुनै कागजात वा प्रमाण पेश हुन सकेको थिएन। यस कारण सन्तानहरूको नागरिकता प्रक्रिया लामो समयदेखि अवरुद्ध हुँदै आएको थियो।
बाबुको पहिचान पुष्टि हुने कागजात नपुगेपछि अन्नपूर्ण गाउँपालिका वडा नं. ०८ बाट जारी गरिएको जन्मदर्ता प्रमाणपत्र, वडा कार्यालयको सिफारिस, वडा मुचुल्का, प्रहरी मुचुल्का लगायतका आवश्यक कागजात तथा प्रमाणका आधारमा नागरिकता ऐन, नियमावली र नागरिकता वितरण कार्यविधि बमोजिम प्रक्रिया पूरा गरी आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।