समीर शर्मा
२०७२ साल असोज २४ गते केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा जनताको मनमा छुट्टै किसिमको खुशी थियो । मन, विचार र आस्था मिल्ने मात्र हैन, फरक मत राख्नेहरुले पनि ओलीबाट धेरै आशा गरेका थिए । ओली बोलीमा मात्र हैन काम पनि गरेरै छड्ने हठी नेता हुन भन्ने सबैमा अनुमान थियो । सो कार्यकालमा हावाबाट बिजुली निकाल्ने, नेपाली ध्वजावहाक पानीजहाज चलाउने, घरघरमा ग्यासका पाइपहरु जडान गर्ने जस्ता हावादारी लाग्ने तर गर्यो भने सम्भव हुने आश्वाशन दिएको भएता पनि केही प्रशंसनीय कार्यहरु गरेर उनले आफ्नो शाख मजवुत बनाएका थिए ।
माओवादीले जनताको अभिमत पाएर पटक-पटक सरकारमा जाँदासमेत उचित डेलिभरी दिन नसक्नु, काङ्ग्रेसको कमजोर आन्तरिक सङ्गठन, अवसरवादी र अस्थिर चरित्रका वामदेव गौतमको साथ र मुख्यत: भारतले लगाएको नाकाबन्दीको डटेर सामना गरेपछि ओलीको शान र इज्जत आफ्ना समकालीन नेताहरुको तूलनामा ह्वात्तै बढ्यो र नेपाली जनताको मनमनमा बस्न सफल भए । स्थानीय चुनावको व्यापक सफलतासँगै २०७४ सालको आम निर्वाचनमा नेपाली जनताले वाम गठबन्धनलाई करिब दुईतिहाइ मत दिए । फलस्वरुप उनी दोस्रोपटक ५ वर्षका लागि प्रधानमन्त्री बने । जनताको मन जितेका ओली पुन: प्रधानमन्त्री बन्दा फेरि एक पटक सारा नेपालीको घर आँगनमा खुशीको सञ्चारसहित आशाका किरणहरु छाउन थाले । चुनावमा तालमेल मिलाएका दल एमाले र माओवादी पूर्वसर्त अनुरुप नै पार्टी एकता गरे र सरकार बहुमतको मात्र हैन दुईतिहाइकै बन्यो । यो एकता प्रतिपक्षमा रहेका दलहरु मूलत: काङ्ग्रेसका लागि दु:खको कुरा भएता पनि लामो समयसम्म अस्थिरता र अशान्तिले गाँजिएको देशमा ५ वर्षभित्रै आमूल परिवर्तन हुने दरिलो आशासँगै उत्साह पनि छायो ।
पहिल्यैदेखि आडम्बरी ओलीलाई बिस्तारै दुईतिहाइको मातको पारो दिनानूदिन चढ्दै गयो मन्त्रीपरिषद निर्माणदेखि नै उनले आफूलाई सहयोग गर्ने र आफ्ना गुटका व्यक्तिहरुलाई भर्ती गराउँदै गए । नवगठित दलको समेत अध्यक्ष बनेका उनले प्रतिपक्ष र फरक गुटका नेतालाई त के आफ्नै समकक्षी अध्यक्ष प्रचण्ड र पूर्वएमालेका पूर्वअध्यक्षद्वय माधव नेपाल र झलनाथ खनालमाथि समेत अत्यन्तै छुद्र अभिब्यक्ति र निकृष्ट व्यवहार गर्न थाले । आँफैले बनाएका मन्त्रीहरुलाई कार्य सम्पादनमा पुरै हस्तक्षप मात्र गरेनन् फरक गुटकै भएका कारण पूर्वकानुन मन्त्री शेर बहादुर तामाङले सानै गल्तिमा हात धुनुपर्यो भने जनमानसमा राम्रो छवि बनाएका गोकर्ण विष्ट र लालबाबु पण्डितसमेत धेरै टिक्न सकेनन् ।
यस्तै यस्तै अपाच्य हर्कतका कारण ओली पछिल्ला दिनमा पार्टी सचिवालय, स्थायी समिति, केन्द्रीय समिति, संसदीय दल सबै तिर अल्पमतमा छन् । त्यसको अर्थ पार्टी र संसदीय दलले चाहेका बेला उनी प्रधानमन्त्रीबाट हट्न सक्छन् । सुन्दै आइएअनुसार संसारमा सबैभन्दा काँतर प्राणी गोमन सर्प हुन्छ । गोमन सर्पले जब आफूलाई असुरक्षित महसुस गर्छ तब अत्तालिएर वरिपरिका प्राणी र शत्रुमाथि आक्रमण गर्छ । तर हाम्रा प्रधानमन्त्री पछिल्लो समयमा गोमन सर्प भन्दा पनि धेरै अत्तालिंदै विपक्षीसँग मात्र हैन आफ्नै विरासत र समकक्षीमाथि पनि फणा फिंजाएर इतिहाँसकै निर्लज्ज काम गरेका छन् । अन्तिम अबस्थासम्म आफूलाई अबरोध गर्ने जसलाई पनि डस्न उद्धत छन् भन्ने कुरा उनले पछिल्लो समय पार्टीका उपाध्यक्ष वामदेम गौतम र अन्य शीर्ष नेताहरुसँग भएको बहसमा दिएको अभिव्यक्तिले प्रष्ट पार्छ ।
प्रधानमन्त्री जस्तो ब्यक्तिले पूर्व प्रहरी प्रमुख र सांसदहरु मार्फत सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गर्न लगाएर पदीय मर्यादा र निर्लज्जताको मात्र धज्जी उडाएनन् आफु, सरकार र नेकपाको समेत अवशानको बाटो खने
यतिबेला छन्दकवि डा. रामप्रसाद ज्ञवालीको शार्दुलविक्रीडित छन्दमा लेखिएको ‘आऊ फेरि गरौं’ कविताका केही हरफहरु स्मरण भईरहेको छ ।
हावामा बिजुली जहाज जलमा सम्भावना उन्नत
टुक्कामा र उखानमा बदलिंदै जान्छन् कि बन्दै गफ
सल्लाहा पनि लिन्न रे विज्ञ जनको दम्भी छ रे नायक
घेराभित्र छ रे ‘गणेश’ सित यो टाढा छ रे ‘कार्तिक’
चिन्ता छैन कुनै बलत्कृत बनुन् रोउन् मरुन् जोसुकै
बाटा भत्किरहुन् चलोस् न पहिरो सीमा मिचोस् जोसुकै
रोक्छन् झैं सुनकाण्ड हुन्छ दिनमा थुप्रिन्छ रे रातमा
हाँस्छन् पप्पुहरू यिनैसित बसी ठेक्का लिंदै हातमा
कवि ज्ञवालीले भने जस्तै राष्ट्रनायक बनेका प्रधानमन्त्री ओली आफ्नो पदभार र दम्भले तथा मनको बाघले नराम्रोसँग थिचिएका छन् । गाउँतिर एउटा लोकोक्ति छ, ‘कि आफैं जान्नु कि अरुले भनेको मान्नु’ तर उनी न विज्ञहरुको सुझाव नै लिन्छन् न आफै जान्दछन् । देशको समस्या एकातिर छ उनको कार्यदिशा अर्कैतिर । खराव ब्यक्ति र आफ्नै कुत्सित मनोदशाभित्र रुमल्लिएका ओली अहिले अध्यादेश काण्डले निकै चर्चा र विवादमा छन् । केही उहाँका पकेटका मान्छे र सल्लाहाकार टिम जो ओलीको अवशानपछि आफ्नो राजनीतिक भविस्य नै समाप्त हुन्छ ठान्दछन् बाहेक सबैजना उहाँसँग रुष्ट छन् । हिजोसम्म आफ्ना क्रियाकलापमा समेत साथ दिनेहरु पनि अहिले खुलेर विरोध गर्न थालेका मात्र हैन पार्टीका उच्च नेत्रृत्वका ब्यक्तिहरु अध्यादेश खारेजसँगै ओलीको वहिर्गमनको माग गर्ने गरिरहेका छन् । पार्टीका नेता नेता र ओलीबीच विवाद चर्कदै गएपछि वामदेव गौतमले त ‘तपाईले बेमौसममा अध्यादेश ल्याएर गम्भीर गल्ती गरिसक्नुभयो । यसमा तपाइको मनस्थिति ठिक देखिएन । अब खुरुक्क राजीनामा दिनुस् र बालकोट गएर बस्नुस् । त्यसैमा तपाईको भलो हुन्छ’, भन्दै सुझाव नै दिइसके ।
ठेट भाषामा भन्दा अोलीले आफ्नै खुट्टामा बञ्चरो हाने । कहिलेकाही कुकुरलाई हानेको ढुङ्गाले ढुकुरलाई टोल्न सक्छ तर ओलीले त आफैंले हानेको तीर ‘ब्याक फायर’ भएर आफ्नै कञ्चेटामा लागेको छ । फलस्वरुप समाजवादी पार्टी फुटाएर आफ्नो गुट अझै मजवुत बनाउँछु भन्दा उल्टो रातारात समाजवादी र राजपा एकीकरण भएका छन् । प्रधानमन्त्री जस्तो ब्यक्तिले पूर्व प्रहरी प्रमुख र सांसदहरु मार्फत सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गर्न लगाएर पदीय मर्यादा र निर्लज्जताको मात्र धज्जी उडाएनन् आफु, सरकार र नेकपाको समेत अवशानको बाटो खने ।
इतरसमूहलाई पेलेरै जाने, अनविज्ञ विषयहरुमा पनि आफूलाई सर्वज्ञाता ठान्दै हचुवाको भरमा जे मनमा आउँछ त्यहि अभिव्यक्ति दिने, विपक्षी, समकालीन र समकक्षी नेताहरुको अस्तित्व स्वीकार गर्दै नगर्ने जस्ता गलत प्रवृति हावी हुँदै जाँदा पार्टीभित्र र बाहिर ओलीको लोकप्रियताको ग्राफ निरन्तर ओरालो लागिरहेको छ । त्यति मात्र होइन, आफ्ना सल्लाहाकार टिमको अति ढाकछोप गर्ने, विभागीय मन्त्रीहरुमाथि अनावश्यक ढाकछोप गर्ने, राज्य श्रोतको अधिक दोहन, आफू निकटका व्यक्तिहरुलाई चेप्ने र फरक मत राख्नेहरुलाई हेप्ने मात्र नभई किनारा नै लगाइदिने मिचाहा प्रवृत्तिले गर्दा मुलुकका लागि उनको बहिर्गमन अनिवार्य बनिसकेको छ ।
निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा जस्ता भ्रष्ट ब्यक्तिहरुको समेत सक्दो ढाकछोप गरेर ओलीले आफ्नो गुटको संरक्षणका लागि केसम्म गर्छन् भन्ने कुराको पुष्टि गरिसकेका छन् । यीबाहेक कमजोर कार्यसम्पादन, अति अदुरदर्षिता, समयानुकूल काम गर्न नसक्नु, विपत्तिको बेलामा समेत जनताको सेवा भन्दा आफ्नै कुर्सी रक्षार्थ लाग्नु, देशको प्रधानमन्त्री जस्तो व्यक्ति सांसद अपहरण जस्तो निकृष्ट कार्यमा लाग्नु, राज्य र दलभन्दा माथि उठेर घातक निर्णय गर्ने जस्ता हर्कतहरु गर्दै अहङ्कार र आडम्बरले भरिएको बेलुन जस्तै बनेका ओलीमाथि कुनै पनि सहानुभूति नराखी पदच्यूत गर्नु नै नेकपा, नेपाली जनता र समग्र नेपाली राजनीतिका लागि हीतकर हुनेछ । सहज रुपमा पदबाट हटेर आफूलाई थप बद्नाम हुनबाट जोगाउन सके ओली स्वयंलाई पनि फाइदा हुनेछ ।
janadisha.com बाट साभार