म मृत्यु गनिरहेछु

0
1000

कविता :

निरू केसी

वसन्ती पवनमा लहरिएका

गुलाफका पत्रहरूमा

मृत मानव शरीरका

छरपस्ट पोकाहरू देखिरहेछु ।

हरेक बिहान र साँझ

अखबार र टेलिभिजनमा

म मृत्यु गनिरहेछु ।

ग्यास च्याम्बर भित्रको क्वारेन्टाइनबाट

जीवनदानको याचना गरिरहेछु ।

शिषिरको सिरेटोसँगै लहरिएको

कोरोना बतासको अविजित यात्रा जारी छ

जारी छ

मानव संहारको

म्याराथन जारी छ

,भोका नाड्गा मजदुरको क्रन्दन जारी छ,

बन्द कोठामा निसास्सिएको बाल रोदन जारी छ,

लासको थुप्रो नाघेर

घर फर्कने परदेशीको याचना

आफन्तको एक सप्को अँगालो

पर क्षितिजमा अस्ताएको हेर्दै

आइसियुलेसनमा एक्लिएको मानव

एक बुँद आँसु पिएर,

मृत्युको सागर हेलिन्छ ।

पि.पि.ई भित्र स्वास्थकर्मी मृत्यु त्रासले उसिन्निएर मर्छ ।

निर्जन सहरका आकाशमा

गिद्द र काकाकुलको बथान, नजिकै

राइफल फालेको हतभागी सिपाही

लासका पोकासँग लडिरहेको छ ।

अन्धा धृतराष्ट्रलाई

युद्ध वर्णन सुनाइरहेका संजय जस्तै

कोरोनाको मृत्यु वर्णित

रेडियो र टेलिभिजनमा मृत्यु गनिरहेछु ।

हरेक विहान र साँझ

अस्पताल बाहिर मिल्काइएका

मानवदेहका पोकासँग

मृत्यु डाटा मागिरहेका

थकित पत्रकार अनि

बाँचे घर फर्किने झिनो आशामा

सेनिटाइजरको होली खेलिरहेको परदेशी

, सिमा नाकामा अलपत्र बालक,वृद्धा र सुत्केरीका सारङ्गी पेटमा

ब्वाँसा नाचिरहेको देखेकोछु ।

आजकल दूर देशको मृत्युु गणना छोडेर

स्वदेशको क्वारेन्टाइनमा फर्किदा

आहतमा राहत दिने नकाबधारी दानबीरको

राजनीतिक खेल हेरिरहेकोछु ।

कोरोना रोकथामका बाहानामा

गरिब किसान,

भोका मजदुरको

मृत्यु उत्सवमा नाचिरहेका

शासकहरूको ताण्डव नृत्य हेरिरहेकोछु ।

सत्ता र कुर्सीको उठान बैठानमा

समृद्ध नेपालको मृत सपनाको लासछेउ

शान्तिको निद्रा सुतेका

जिउँदा लासहरू गनिरहेछु ।

आजकल म मृत्युु गनिरहेछु