तिर्थ पौडेल
कोरोना माहामारिको सन्त्राससङ्गै मानिसको सार्वजनिक जीवनमा केही परिवर्तनहरु देखिएका छन् । खासगरी सामाजिक दूरी कायम गरेर बसेको समयलाई चिन्तन गर्ने अबसर र केहीले घरछेउको करेसाबारीमा आफूलाई सक्रिय बनाउने गरेको देखिएको छ । यति हुँदाहुँदै पनि, धेरैमा दुईवटा विषयले स्थान पाएको देखिन्छ । पहिलो, कोरोनाको अकल्पनीय परिदृश्य हो भने अर्को खाद्य सुरक्षा ।
आजका दिनमा प्रत्यक परिवारमा यि विषयवस्तुले बलियो स्थान लिएको छन् । विगत केही हप्ताहरुमा विश्वभरी नै कृषि उत्पादनमा पर्नसक्ने अनेकौ प्रभावका वारेमा भिन्न भिन्न अड्कलवाजीका साथमा बिभिन्न तथ्यहरु सार्वजनिक भएका छन् ।
कृषि उत्पादनमा बृद्धी, स्थिरता वा उत्पादनको उपलब्धताका वारेमा विचारबिमर्श शुरु भएका छन् । यद्दपी कोरोनाको प्रभाव कतिसम्म पर्न सक्छ भन्ने कुरा यकिन नहुँदा तथ्यगत रुपमा प्रक्षेपण गर्न असमर्थ भए पनि हाम्रो विगतको कृषिको अनुभव र कोरोनाको अहिलेसम्म को परिदृष्य वा प्रकृति हेर्दा कृषि क्षेत्र एउटा कम जोखिमको क्षेत्र हुन सक्दछ । यद्दपी खाद्य आपूर्तिको सन्जाल जती जटिल देखिन्छ त्यत्ती नै सहज पनि देखिन्छ । व्यवस्थापकीय पक्ष बलियो बनाउनु भने यस्को महत्व पूर्ण कडी हुनजान्छ ।
प्रत्यक सूचना र समाचारमा आज आमसर्वसाधारणले कोबिडको अहिलेसम्मको जोखिम, सम्भावित जोखिम र आफु र आफ्नो परिवारलाई खाद्य सुरक्षाको वारेमा आफूलाई केन्द्रित गरेको देखिन्छ । जुन हाम्रो समाजको वास्तविक चित्र पनि हो । हरेक परिवारमा भोली के खाने, अर्को महिना कसरी खाद्य व्यवस्था गर्ने वा भविस्यमा के गर्ने ? यो विषयवस्तु केन्द्रविन्दुमा रहेको छ भने जोखिमले निम्त्याउने अप्रत्याशित खाद्य समस्या कसरी न्यूनिकरण गर्न सकिन्छ भन्नेतिर ध्यान केन्द्रित भएको छ । तथ्यगत रुपमा जे जती भए पनि समग्र नेपाल र नेपालीले कृषिलाई सभ्यता कै रुपमा परापुर्वदेखि लिंदै आएका छौं ।
पहिलो, हामी वाच्नका लागि कृषि पेसा गरेका छौ । दोस्रो, अरुलाई बचाउनका लागि वा आफ्नो समृद्धिका लागि । घरको छतमा राखिएको गमला होस् या भान्सा नजिकको करेसावारी वा खेत, वारी, पाखा । यस्तो विषम समयमा पनि हाम्रो समुदाय आजका दिनमा पनि कृषिमा तल्लिन छ । खाद्य जोखिम न्युनिकरणमा अभ्यासरत छ, वाँच्नका लागि । यो परिवेश हाम्रा लागि अवसर नै हो । अन्य क्षेत्रमा कतै पनि आशाको दियो नवलेको बेला कम्तिमा कृषि र कृषकले आफ्नो सुरक्षा आफै खोजी रहेका छन् । यसलाई अत्यन्त संयम र उचित व्यवस्थापनका साथ हामिले थप व्यवस्थित र परिणाममुखी बनाउनु पर्दछ । तर ढिला हुँदैछ । हरेक कृषि गतिविधीमा तुलनात्मक रुपमा सामाजिक दूरी कायम भएको देखिन्छ । खेत जोत्नेबेला होस् या रोपाइ गर्ने बेला वा मकै गोड्ने बेला । वा जङ्गल पात नै किन नहोस् । अझ कृषि क्षेत्रमा आवद्ध भएका कृषकलाई थोरै मात्र सचेतना प्रदान गर्दै यस कार्यमा अगाडी बढ्दा कोरोनाको रोकथाममा अहिलेसम्म प्रभावकारी मानिएको सामाजिक दूरी कृषि क्षेत्रमा पूर्णपालना हुन सक्दछ ।
अर्कोतिर, विगतदेखि सभ्यताकै रुपमा कृषि पेसालाई हाम्रो समुदायले अङिकार गर्दै आएको परिवेश विद्यमान छदैंछ । हाम्रा अगाडि यसको बृद्धि गर्ने सुनौलो अवसर छ । र टद्कारो आवस्यकता पनि । यसकारण कत्ती पनि ढिलो नगरी कृषि क्षेत्रलाई प्रार्थमिकतामा राखी अबिलम्व कृषिको उपलब्धी मुलक कार्ययोजना ल्याउनु पर्दछ ।
यसका लागि पहिलो प्राथमिकतामा निम्न र मध्यम वर्गका कृषकलाई हालसम्म भइरहेको उत्पादनमा कम्तिमा ५० प्रतिसत कृषि उपज बद्धि हुनेगरी सरकारले सबै क्षेत्रमा सहयोग गर्नु पर्दछ । त्यसैगरी निश्चित उत्पादन परिमाणलाई सरकारले अग्रिम खरिदको व्यवस्था गर्नु पर्दछ र उत्पादन पुर्व नै भुक्तानी व्यवस्था गर्नु पर्दछ । यसो गर्दा उत्पादनले बजार पाउँदैन कि भन्ने चिन्तावाट सबै किसानहरु मुक्त हुन्छन् र उत्पादन बृद्धिमा सबै ताकत लगाउँछन् । यसैगरी कृषकलाई बिना कठिनाई, सरल र सहज तरिकावाट आवश्यक ऋणको व्यवस्था गर्नु पर्दछ । राज्यले गंभिरतापूर्वक योजना बनायो भने ऋणको असुली उत्पादनवाट गर्ने व्यवस्था गर्न सकिन्छ । आवश्यक मल, विऊ वा औजार प्रत्यक किसानको घरमा पु¥याउने व्यवस्था भने राज्यले आफ्ना संरचनाहरु मार्फत गर्नु पर्दछ । औजार सामुहिक रुपमा प्रदान गर्नु पर्दछ । यि क्षेत्रहरुमा सहुलियतपूर्ण सहयोग गर्नुपर्दछ । ‘कृषि जोगाउ, सभ्यता बचाउँ’ भन्ने गहन नारालाई वास्तविक रुपमा व्यवहारमा कार्यान्वयन गर्ने तर्फ योजना बनाउनका लागि यो उपयुक्त समय पनि हो । किनभने अबको अबस्थामा कृषि उत्पादन बृद्धि नै अर्थतन्त्रको सुधारदेखि बाँच्नका लागि महत्वपूर्ण छ भन्ने कुरामा सबै एक मत देखिएका छन् ।
कृषि सम्वन्धी सम्पूर्ण कार्य एकद्वार प्रणालीवाट गरिनु पर्दछ । हामिले कम्तिमा यो बर्गलाई सुरक्षित गर्न सक्यौ भने निश्कृय वा हतोत्साहित कृषकले विषम समयमा अन्य क्षेत्रलाई समेत सहयोग पु¥याउन सक्नेछ । बैदेशिक रोजगार गुमाएका हजारौ श्रम शक्ति तत्काल केहीहदसम्म उत्पादनमा सकृय हुनेछ, जसवाट सम्भावित बेरोजगारी समस्यामा समेत टेवा मिल्नेछ । यसकार्यको सुरुवात सङ्गै कृषकमा जीवन्तता आउनेछ । मनोबैज्ञानिक रुपमा पनि कृषक उत्साही हुनेछन् ।
निश्कर्षका रुपमा भन्न सकिन्छ कि लकडाउनले सबै गतिबिधि ठप्प बनाइदिए पनि कृषिकर्मलाई उचित व्यबस्थापनका साथ अगाडि बढाउन संभव छ । भिडभाड नगरेरै कृषि कर्म अगाडि बढाउन सकिन्छ । राज्यले किसानलाई उत्प्रेरित गर्नका लागि माथि भनिए झै(मल, बिऊको घरमै उपलब्धतादेखि, सहुलियत कृषि लोन हुँदै उत्पादनलाई उत्पादन पूर्व नै खरिद गर्ने सुनिश्चितता) योजना अगाडि सार्ने हो भने कृषि क्षेत्रले यो संकटमा तथा संकटपछिको अबस्थामा मानिसको जीवन व्यवस्थापनदेखि देशको अर्थतन्त्र उठाउनमा समेत योगदान दिनेछ भने, रोजगारी विना छट्पटाउने अबस्थामा पनि एक हदसम्म मलहम लगाउने छ । तसर्थ सामाजिक दूरी बनाउँदै कृषिकर्मको अभ्यासमा मुलुकलाई हिडाउने दायित्व निर्वाह गर्ने तर्फ राज्य अग्रसर बन्नै पर्ने देखिन्छ ।
(विकासबिज्ञ पौडेल रोटरी क्लब दाङका अध्यक्ष पनि हुन् ।)