सोमबारबाट फेरि झरी सुरु हुने

0
591

पाेखरा। सोमबारबाट फेरि मनसुन सक्रिय हुने भएको छ ।सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ । साथै अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि झरी सुरु हुने  जल तथा मौसम विज्ञान     विभागको पूर्वानुमान छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

जल तथा मौसम विज्ञान  विभागले जारी गरेको विशेष मौसमी बुलेटिनमा लेखिएको छ, ‘आउँदो सोमबार (साउन १२) रातिबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशको धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुन सम्भावना रहेको छ ।’

त्यसैले ती स्थानहरुका नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने छ । साथै ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहनसक्ने भएकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।