पाेखरा। सरकारले पिसिआर परीक्षणको शुल्क घटाउदै अब तीनवटा मापदण्डका आधारमा मात्र कोरोनाभाइरसको निशुल्क परीक्षण गर्ने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अब सङ्क्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्ने व्यक्तिहरूको मात्र निशुल्क परीक्षण गर्ने निर्णय भएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पिसिआर परीक्षणको शुल्क अधिकतम ४ हजार ४ सय रुपैयाँ तोकिएको जानकारी दिए ।
‘अब अधिकतम ४ हजार ४ सय रुपैयाँभन्दा बढी लिन पाइँदैन,’ उनले भने । यसअघि पिसिआर परीक्षणको लागि मन्त्रालयले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो । अधिकारीले विश्व बजारमै परीक्षणका लागि चाहिने कीटहरूको उपलब्धता सहज र सस्तो भएकाले नेपालमा पनि शुल्क घटाइएको जनाए ।
सरकारले निजी अस्पताल र प्रयोगशालाहरूलाई पनि स:शुल्क परीक्षणको अनुमति दिएको छ । अब ती अस्पताल र प्रयोगशालाहरूले पनि सरकारले तोकेको नयाँ शुल्क अनुसार नै परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
साथै यसअघि प्रयोगशाला नभएका अस्पतालहरूले सरकारले तोकेको शुल्को १० प्रतिशत थप शुल्क लिएर स्वाब संकलन गर्न पाइने भनिए पनि अब भने त्यो गर्न नपाइने डा. अधिकारीले बताए ।
