पोखरा । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कागको पूजा गरी काग तिहार मनाइँदै छ ।
यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खाना खान दिने र पूजा गर्ने चलन छ ।
कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर यस दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने चलन रहि आएको छ ।
यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि नै सुरु भए पनि काग तिहार भने २८ गते परेको हो । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि आजै परेको छ ।
तिथि घटबढका कारण यस्तो भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ ।