कास्कीमा वैशाख १५ बाट लागु हुने गरी निषेधाज्ञा जारी

0
457

कास्की ।  कास्की  जिल्लामा वैशाख १५ गतेबाट लागु हुने गरी निषेधाज्ञा जारी भएको छ ।

नयाँ भेरिएन्टसहितको  कोरोना भाइरसको संक्रमण जिल्लामा फैलिँदै गएको भन्दै  कास्की प्रशासनले  वैशाख १५ गते बिहान ६ बजेबाट वैशाख २१  गते राति १२  बजे सम्म निषेधाज्ञा जारी गरेको हो ।

उक्त अवधिभर  अत्याश्यक कामवाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न सभाजुलुस गर्न जात्रा महोत्सव गर्न प्रशासनले निषेध गरेको  छ ।

जिल्ला भित्र संचालन हुने अत्यावश्यक सवारीसाधनबाहेक यात्रुबाहक सार्वजनिक तथा निजि सवारीसाधनहरुमा सो अवधिभर जोरबिजोर प्रणाली लागु भएको  छ । जोरबिजोर प्रणाली अन्तर्गत जोर दिनमा जोर नम्बरका सवारीसाधन र बिजोर दिनमा बिजोर नम्बरका सवारीसाधन संचालन हुने कास्की प्रशासनले जनाएको छ ।

उक्त अवधिभर औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घन्टा खुला रहने  तथा  उपभोग्य, खाद्यान्न र निर्माण सामग्री पसलहरु  बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मात्र  सञ्चालन हुने कास्की प्रशासनले जनाएको छ ।

डिपार्टमेन्टल स्टोर्स, सपिङ मल र ठूला स्टोरहरु सञ्चालनमा रोक लगाइएको छ । होटेल तथा रेस्टुरेन्टमा टेक अवे सेवा मात्र सञ्चालन हुने गरी  बिहान ८ देखि बेलुका ८ बजेसम्म खोल्न पाइनेछ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने दैनिक सेवा, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय पोखराको समन्वयमा शाखा प्रबन्धकले न्यूनतम कर्मचारीको उपस्थितिमा सञ्चालन गर्न सक्ने कास्की प्रशासनले जनाएको छ ।

अादेशकाे अवज्ञा गरी कार्य गरे गराई एकाे पाईएमा स्थानीय प्रशासन ऐन ,२०२८,संक्रामक राेग ऐन ,२०२०,एवम् अन्य प्रचलित कानुन वमाेजिम कारवाही हुने कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतम बाट साेमबार जारी गरिएको अादेशमा जनाईएकाे छ।