पोखरा । मौलिक जरोकिलो पार्टीले गण्डकी अस्पताल पोखरामा अक्सिजन अभावमा सुत्केरी महिला सहित ८ जनाको ज्यान गएको घटनाको जिम्मा गण्डकी प्रदेश सरकारले लिनु पर्ने ठहर गरेको छ । कोरोना महामारीसंग लड्न आबश्यक पुर्व तयारी गर्नुपर्ने समयमा सरकार सत्ता समिकरणमा व्यस्त रहेको कारण पोखरामा दुःखद घटना घटेको शनिबार पार्टीका महासचिब शैलेन्द्र रेग्मीद्धारा जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ ।
“ पोखरा जस्तो शहरमा त अक्सिजनको अभावमा विरामीहरुले मृत्युवरण गर्नु परेको छ भने गण्डकी प्रदेशका विकट स्थानहरुमा स्वास्थ्य सुबिधा कति नाजुक अबस्थामा होला ? ” बिज्ञप्तिमा सत्ताको रस्साकस्सी छोडेर प्रदेशका सबै क्षेत्रमा आबश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन प्रदेश सरकारसंग माग समेत गरिएको छ।
अक्सिजन अभावमा बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत आठ कोरोना संक्रमितको ज्यान गएको थियो । ज्यान गुमाउनेमा एक सुत्केरीसमेत छिन् । उनीहरू सबैलाई हाई फ्लो अक्सिजन दिएर उपचार भइरहेको थियो ।

