पोखरा । नेपाल मगर पत्रकार संघ, कास्कीले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कारबाट कास्कीका पत्रकार एमबी आस्था मगर पुरस्कृत भएका छन् ।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित सो पुरस्कारबाट एबीसी न्यूज टेलिभिजनका गण्डकी प्रदेश ब्यूरो प्रमुखसमेत रहेका पत्रकार मगर पुरस्कृत भएका हुन् ।
मगरलाई गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले १० हजार रुपैयाँ नगद, ताम्रपत्र, फेटा र भाङ्ग्राले सम्मान गरेका थिए ।
संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले मगरलाई पुरस्कारका लागि छनौट गरेको हो ।
छनौट समितिका सदस्यहरूमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालका अध्यक्ष हर्क आलेमगर, उपाध्यक्ष तारामाया थापामगर, केन्द्रीय सदस्य नरमाया आलेमगर र संघका जिल्ला अध्यक्ष रूद्रबहादुर हितानमगर रहेका थिए ।
उक्त अवसरमा मन्त्री थापाले मगर जाति संस्कृतिको धनी भएको उल्लेख गर्दै नेपालमा जातीय सहिष्णुता कायम राख्न मगर जातिको अतुलनीय भूमिका रहेको बताए ।
सबै पत्रकारहरु सम्बद्ध संघसंस्था र पत्रकारहरूको सुझाव अनुसार आफू अघि बढ्ने भन्दै उनले श्रमजीवि पत्रकारको हितका पक्षमा प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता जनाए ।
नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेशका अध्यक्ष खेम पुनमगरले आदिवासी जनजातिको भाषा, संस्कृति संरक्षणका लागि समुदायले पहल गरेपनि राज्य पक्षबाट अझै उपेक्षामा परेको उल्लेख गरे ।
आदिवासी जनजातिका भाषा, धर्म, संस्कृति र भेषभूषा देशको सम्पत्ति भएको उल्लेख गर्दै अध्यक्ष पुनमगरले तिनको संरक्षण र विकासका लागि राज्यले पर्याप्त ध्यान दिनुपर्ने भनाइ राखेका थिए ।
पुरस्कृत व्यक्तित्व पत्रकार एमबी आस्था मगरले आफू पुरस्कृत हुँदा सिंगो पत्रकारिता क्षेत्र पुरस्कृत भएको महसुस भएको बताए ।
पुरस्कार प्राप्तिले आफूलाई अझै जिम्मेवारी बोध गराएको भन्दै मगरले मगर लगायतका आदिवासी जनजातिका कैयन् विषयवस्तु सञ्चारमाध्यममा अझै ल्याउनुपर्ने आवश्यकता औंल्याएका थिए ।
नेपाल मगर पत्रकार संघ, कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय सरिता तिमिल्सिना पंगेनी र त्रिभुवन पौडेलले महासंघले सबैको भावना समेटेर अघि बढ्ने बताए ।
सो अवसरमा प्रतिभा छनौट समितिका संयोजक रूद्रबहादुर श्रीसमगर, राष्ट्रिय मौलिक कौरा संरक्षण समिति नेपालकी केन्द्रीय सदस्य नरमाया आलेमगरले पनि बोलेका भने संघका जिल्ला सहसचिव सुरज थापामगरले कार्यक्रमको सञ्चालन गरेको थिए ।
उक्त पुरस्कारबाट अघिल्ला बर्षमा नवलपुरकी कमला रानामगर, कास्कीका तिलकप्रसाद पुनमगर र तनहुँका प्रताप रानामगर पुरस्कृत भइसकेका छन् ।