गठबन्धनको प्रतिबद्धता : विद्यार्थीहरुका लागि सिक्दै कमाउँदै कार्यक्रम

0
288

पोखरा । कास्की- २ का पाँच दलीय गठबन्धनका साझा उमेदवारहरुले विद्यार्थीहरुका लागि आत्मनिर्भर सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ । यो कार्यक्रम माध्यमिक तह पुरा गरेका विद्यार्थीहरुका लागि लाभ हुने गरी सञ्चालन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।
यो सँगै शिक्षा क्षेत्रमा खोजमुलक पठनपाठन तथा अनुसन्धान संस्कृतिको विकास गरी गु्णस्तरीय शिक्षा हासिल गर्ने अवसरको सुनिश्चितता गर्न एक मेट्रो लाईब्रेरी र वडास्तरमा लाईब्रेरी स्थापनाका लागि पहल गर्ने बताएको छ । पोखराको पर्यटनलाई बढवा दिने र आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न माध्यमिक तहमै पर्यटनका विषयमा पठनपाठन गर्न सार्वजनिक र सामुदायिक विद्यालयसँग पहल गर्ने प्रतिवद्धता जनाएको छ । सूचना, सञ्चार तथा प्रविधिको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न महानगरीय आईसिटी एकेडेमी स्थापना गर्न महानगरसँग सहकार्य गर्ने बताएको छ ।

पोखरामा सञ्चालित विश्वविद्यालयहरुको स्तरोन्नति गर्दै वर्तमान र भविष्यको मागलाई सम्बोधन गर्ने शैक्षिक कार्यक्रम गर्न पहल गर्ने पनि प्रतिवद्धता जनाएका छन् । पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय र पृथ्वीनारायण क्याम्पसलाई अनुसन्धान गर्ने थिंक ट्यांकका रुपमा विकास गर्ने गठबन्धनको प्रतिवद्धता छ । आवश्यकता अनुसार कृषि, स्वास्थ्य, इन्जिनियरिङ र सूचना प्रविधि सम्बन्धी प्राविधिक तथा व्यावसायिक महाविद्यालयको रुपमा विकास गरिने बताएका छन् ।
कास्कीको निर्वाचन क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानका क्रममा उमेदवारहरुले शिक्षा क्षेत्रमा यस्तो काम गर्ने बताएका हुन् । गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल, प्रदेशसभा २ (क) मा नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने र प्रदेशसभा २ (ख) मा नेपाली काँग्रेसका विन्दुकुमार थापा उम्मेदवार छन् ।