वरिष्ठ कलाकार हरिवंश आचार्य र गायक एवं कलाकार प्रकाश सपुत पोखरामा पुरस्कृत

0
104
पोखरा, २ चैत । वरिष्ठ कलाकार हरिवंश आचार्य र गायक एवं कलाकार प्रकाश सपुत पोखरामा पुरस्कृत भएका छन् ।
पोखरा नदिपुरस्थित प्रतिभा माविले प्रतिभा विशेष व्यक्तित्व पुरस्कारबाट हरिवंश र प्रतिभा वर्ष युवा पुरस्कारबाट प्रकाश सपुतलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत व्यक्तित्वद्वयलाई राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिभा माविका अध्यक्ष नारायणप्रसाद पौडेल, प्रबन्ध निर्देशक बलबहादुर थापा, संस्थापक प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुलीलगायतले नगद एक÷एक लाख राशीसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
आचार्यले हास्यव्यंग्य र अभिनयको माध्यमबाट देश र जनतालाई सुसूचित बनाउँदै नागरिकको मुहारमा हाँसो र खुशी छरेको तथा सपुतले गीत र संगीतको माध्यमबाट उत्पीडित समुदायको हित, जातिय विभेद विरुद्ध चेतना फैलाएकाले सम्मान गरिएको संस्थापक प्राचार्य सापकोटाले बताए ।
प्रतिभाले यसअघि प्राडा सुरेशराज सुरेशराज शर्मा र प्राडा अभि सुवेदीलाई प्रतिभा विशेष व्यक्तित्व सम्मान अर्पण गरिसकेको छ । यस्तै, नेपाली क्रिकेट टीमका पूर्व कप्तानद्वय ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने, भलिबलकी कप्तान अरुणा शाही, एचआईभी संक्रमित सगरमाथा आरोही गोपाल श्रेष्ठलाई पनि वर्ष युवा पुरस्कारबाट  जनही १ लाखले पुरस्कृत गरिसकेको छ ।
राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यालयले प्रतिभा सम्मान अर्पण गरेर देश र जनताका लागि केहि गर्छु भन्नेहरुलाई थप हौसला प्रदान गरेको बताए । उनले नाम जस्तै काम गरेर मुलुकमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रतिभाले हरेक क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाउनसमेत शुभकामना दिए ।
सम्मानित बरिष्ठ कलाकार हरिवंश आचार्यले सम्मानले केहि गर्छु भन्नेहरुलाई काँध थाप्ने र अगाडि बढ्नका लागि उत्प्रेरणा जगाउनेहरुको कमी हुँदैन भन्ने आभाष दिलाएको बताए । उनले आफूले सम्मान ग्रहण अघि प्रतिभा विद्यालयबारे पर्याप्त जानकारी लिएको भन्दै यस विद्यालयबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताए । यो नगद १ लाख सामाजिक कार्यमा प्रतिभाकै नाममा प्रदान गर्ने पनि उनले घोषणा गरे ।
अर्का सम्मानित कलाकार प्रकाश सपुतले सम्मानले आफूलाई थप नया कार्य गर्नका लागि जिम्मेवारी थपेको महशुष गराएको बताए । गाएर ठीक गरेछु भन्ने महसुस आजको सम्मानले दिलाएको उनको भनाई छ ।
विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यालयले शैक्षिकसँगै अतिरिक्त क्रियाकलापलाईपनि उत्तिकै ध्यान दिएको बताए । उनले कलाकार, खेलाडी र सामाजिक अभियन्तालाई प्रोत्साहन गर्न र गरेको कामको सम्मान गर्ने संस्कृतिको विकासका लागि वर्षेनी पुरस्कार प्रदान गर्ने गरेको बताए ।
विद्यालयका निर्देशक किरण सापकोटाले प्रतिभा मावि गण्डकी प्रदेशको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित भएको बताए । २०४३ मा स्थापित प्रतिभाले युग सुहाउँदो गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण पोखराको उच्च शिक्षामा प्रमुख आकर्षणको गन्तव्य बनेको बताए ।
प्रतिभा सम्मान समारोहमा विद्यालयले १० वर्षभन्दा बढी समयदेखि सेवारत शिक्षिकाद्वय गीता उपाध्याय र मीना पाण्डेलाई दीर्घ सेवा सम्मान ग¥यो । वर्ष सर्वोत्कृष्ट शिक्षकबाट प्रविण ढुंगाना, एसईई रत्न पुरस्कारबाट विनेश तिम्सिना, प्रतिभा रत्नबाट विज्ञापन संकायतर्फका राजन पौडेल र व्यवस्थापन संकाय तर्फकी विनिता कुमारी चापागाईंलाई जनही २५ हजार नगदले पुरस्कृत ग¥यो । यस्तै, ५ हजार नगदसहित होटल व्यवस्थापन समूहका सम्पूर्ण पौडेललाई पुरस्कृत ग¥यो ।
उक्त अवसरमा विद्यालयमा प्लस टु सम्म अध्ययन गरी एमबीबीएस, ईञ्जिनियरिङ, सीए, होटल मेनेजमेन्ट, एग्रीकल्चर, फरेस्ट्री, आईटी लगायतका विषयमा छात्रवृत्ति पाउन सफल विद्यार्थीहरु तथा विद्यालयमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
सो अवसरमा गायक प्रकाश सपुतले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर विद्यार्थी तथा अभिभावकहरुलाई मनोरञ्जन पनि प्रदान गरे । विद्यार्थीहरुले संस्कृतिमूलक नृत्यका साथै गीतहरु पनि प्रस्तुत गरे ।
विद्यार्थीले ‘यो देश मेरोपनि होईन र ? भन्ने गीतमा उत्कृष्ट प्रस्तुती दिएपछि गायक प्रकाश सपुतले स्टेजमै उक्लिएर स्यालुट गरे । उनले पोखरालाई पर्यटनको राजधानी घोषणा विशेष समारोहमा आफ्नो प्रस्तुती रहने र सो क्रममा यो नृत्यलाई त्यहाँ देखाउन प्रयास गर्ने पनि बताए ।