पोखरा–मुग्लिन सडक विस्तारको काम छिटो गर्न मुख्यमन्त्री पाण्डेकाे निर्देशन

0
27
पोखरा–मुग्लिन सडक विस्तारको कार्यमा भइरहेको विलम्ब प्रति  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक विस्तारको काम छिटो गर्न सरोकारवालालाई ताकेता गर्नुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका प्रमुख सचिव, शुक्लागण्डकी नगरपालिकाका प्रमुख, कास्की र तनहुँका प्रमुख जिल्ला अधिकारी, सडक योजनाका प्रमुख, विद्युत् प्राधिकरणका इकाई प्रमुखहरू लगायतको उपस्थितिमा बसेको बैठकमा    गण्डकी प्रदेशको लाइफलाइन रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतिको काम सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सहज रूपमा सवारी आउजाउ गर्ने गरी छिटो काम गर्न निर्देशन दिनुभएको हो ।
सडक निर्माणका क्रममा पोखरा खण्डमा देखिने स्थानीय अवरोधहरूको समाधान लागि पोखरा महानगरपालिका लागि परेको नगर प्रमुख धनराज आचार्यले विश्वास दिलाउनु भएको छ । हाल पोखरा महानगर क्षेत्रमा सडक निर्माण कार्यमा महानगरको तर्फबाट आवश्यक सहजिकरण गरिएको उहाँको भनाई छ ।
साथै बैठकले स्थानीय उत्पादन तथा निर्माण सामाग्रीको लागि प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी बापतको शुल्क सङ्कलन गर्ने क्रममा सम्बन्धित स्थानीय तहले फरक शीर्षकमा थप शुल्क नलाग्ने गरी एकमुष्ट रूपमा प्रचलित कानुन बमोजिम रोयल्टी बापतको शुल्क सङ्कलन गर्ने व्यवस्था मिलाउने, निर्माण सामाग्री प्रशोधनको लागि निर्माण गरिएको प्लान्टमा सङ्कलन हुने निर्माण सामाग्रीहरूको सम्बन्धमा सम्बन्धित पालिकाले स्रोत बुझ्न चाहेको बखत उक्त सामाग्रीको स्रोत सम्बन्धित पक्षले प्रमाणित गर्नु पर्ने निर्णय गरेको छ ।
यस्तै सडक निर्माणको कार्यमा बाधा उत्पन्न नहुने गरी समयमा कार्य सम्पन्न गर्न सहजीकरण गर्न नेपाल विद्युत् प्राधिकरणको तर्फबाट बिजुली पोलहरू रिलोकेट गर्ने, मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्डमा) बर्सातले बिगारेको सडक क्षेत्रमा खाल्डाखुल्डीहरू पुर्ने तथा प्यापअप गरी सवारी आवागमनमा सहज बनाउन आयोजनाको तर्फबाट आवश्यक प्रबन्ध मिलाउने र बत्ती काट्ने समयको सूचना प्रकाशन गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेटदेखि सेती नदी पुलसम्म बिजुली तार भूमिगत गर्ने कार्य मिति २०८१ भदौ मसान्तसम्ममा सम्पन्न गर्ने र तत्पश्चात् आयोजनाको तर्फबाट उक्त क्षेत्रमा यथाशीघ्र न्यूनतम दुई लेन सडक निर्माण कार्य सम्पन्न गर्ने गराउने निर्णय पनि गरेको छ ।