बडादशैंको अवसरमा पोखराको विन्ध्यबासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

0
13

पाेखरा ।  नेपालीहरुको महान चाँड बडादशैंको अवसरमा पोखराको विन्ध्यबासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने   भएकाे छ । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा  विगतका वर्ष झैं यसवर्ष पनि नवदुर्गा महोत्सव हुने भएको हाे  ।  सोमबार  विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिले पाेखरामा  पत्रकार सम्मेलन गरेर   विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा यहि असोज १७ गते घटस्थापनाको दिनदेखि असोज २५ गते महानवमीसम्म नवरात्री विशेष कार्यक्रम हुने  जानकारी दिएको हो ।

विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिका सदस्य सचिव  तीर्थ श्रेष्ठका अनुसार  असोज १७ गते घटस्थापनाको दिन नवदुर्गाका नौ रुप सिंगारिुएका नवकन्या, आरुढ नौरथ, विन्ध्यबासिनी मन्दिरको झाँकी तथा विभिन्न जातिका वेशभुषा र सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालेर जातीय, धार्मिक, सांस्कृतिक, सामाजिकलगायतका पक्षहरुको उजागर गरिने छ। घटनास्थापनाको दिन विहान ७ बजे विन्ध्यवासिनी पार्कबाट शुरु हुने शोभायात्रा मोहरियाटोल, भैरवटोल, भीमसेन टोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोलहुँदै पुनः विन्ध्यबासिनी मन्दिर प्राङ्गण पुगेर समापन हुनेछ । मन्दिरमा सोहि दिनदेखि श्रीमददेवी भागवत ज्ञान महायज्ञसमेत प्रारम्भ हुने सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।

महायज्ञमा महानवमीसम्म हरेक दिन संगीतमय झाँकीसहित श्रीमददेवी भागवतको कथासमेत प्रस्तुत गरिने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार श्रीमददेवी भागवतको कथा पूर्वाह्न ९ बजेबाट मध्याह्न १२ बजेसम्म र दिउँसो २ बजेबाट अपराह्न ४ बजेसम्म कथा प्रवचन हुनेछ ।

मन्दिरमा विजया दशमीको नित्य पुजा विहान ४ बजेबाट प्रारम्भ हुनेछ भने ५ बजेबाट दर्शनार्थीका लागि मन्दिर खुल्ला गरिने समितिले जनाएको छ । साँझ ६ बजे भने आरती हुने अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार विहान ५ बजेबाट पूर्वाह्न ९ बजेसम्म भजनकिर्तनसमेत हुनेछ ।

मन्दिरबाट प्राप्त आम्दानीमार्फत समितिले विन्ध्यबासिनी मन्दिरको सौन्दर्यकरणका साथै आवश्यक पूर्वाधार निर्माण, विन्ध्यबासिनी गुरुकुल भवन, मन्दिरमा बृद्धबृद्धा तथा असहायःका लागि आवतजावत गर्न विद्युतीय लिफ्ट, विन्ध्यबासिनी गुरुकुल विद्याश्रम सञ्चालन गरी निःशुल्क अध्यापन, ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्दै आएको छ ।