पाेखरा। २५६९ औं बुद्ध जयन्तीको अवसरमा पन्चासे बुद्ध विहार साहिस्वारा
मा विभिन्न कार्यक्रममा साथ बुद्ध जयन्ती मनाईएकाे छ।कार्यक्रमलाई केदारेश्वर महादेव मन्दिर लेकसाईड पाेखराका पीठाधिश डा .चितन चैतन्य महाराज जी र कुस्मा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष रुद्रमाेहन रिमालले झण्डाेत्तलन गरी उद्घाटन गर्नुभएको थियाे ।
कार्यक्रममा बाेल्दै केदारेश्वर महादेव मन्दिर लेकसाईड पाेखराका पीठाधिश डा .चितन चैतन्य महाराजजीले गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि जीवन उपयोगी भएको बताउनुभयाे । सनातन धर्ममा पनि बुद्धत्व र बुद्ध धर्ममा पनि सनातन रहेकोले बिश्व शान्तिका लागि बुद्धका सन्देशलाई देश विदेशमा फैल्याउन सबै पक्ष र क्षेत्र लाग्नुपर्नेमा उहाँले जोड दिनुभयाे । बुद्ध धर्म नेपालकाे माैलिक धर्म रहेको उल्लेख गर्दै उहाँले बुद्ध मार्गमा नै शान्ति मिल्ने बताउनुभयो ।
कुस्मा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष रुद्रमाेहन रिमालले बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको स्मरण गर्दै उहाँले एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महान् अभियानमा लाग्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभयो ।
१८३६ सालमा स्थापना भएका गुम्बाहरु यस क्षेत्रमा रहेको उल्लेख गर्दै उहाँले धार्मिक एवम् पर्यटकिय क्षेत्रकाे प्रचारप्रसार गर्न सके पन्चासे क्षेत्रमा धार्मिक पर्यटन भित्र्याउन सकिने उहाँको भनाइ थियाे।
धर्म अनुशासक मीन गुरुले बुद्ध जयन्ती पर्व बुद्ध धर्मको मात्रै नभै सबै धर्म मान्नेहरुकाे साझा पर्व भएको बताउनुभयो । उहाँले
गौतम बुद्ध शान्ति र अहिंसाका लागि विश्वकै प्रेरणाका स्रोत भएको बताउनुभयाे । गौतमबुद्धले प्रतिपादन गर्नुभएको अहिंसा र शान्तिको सन्देशले व्यक्ति परिवार, समाज, देश, विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने उल्लेख गदै उहाँले शान्तिदूत गौतमबुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढीकरणमा योगदान पुग्ने बताउनुभयाे ।
कार्यक्रममा नील सागर सेवाआश्रमका संस्थापक अध्यक्ष डा.सरिता खनाल ,उपाध्यक्ष डा.नारायण सुवेदी ,पाेखरा गाैशालाका संरक्षक एवम् परिकल्पनाकार ईन्जिनियर नन्द कुवँर नन्द गाेपाल दास ,अन्तर्राष्ट्रिय हरि ॐ गुरु लक्ष्मण पाैडेल, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनी समाजसेबी अनिल गुप्ता लगायतले बाेल्नु भएको थियाे।
मीन गुरुले साहिस्वारामा १४ राेपनी क्षेत्रफलमा पन्चासे बुद्ध विहार संचालन गर्नुभएको छ।उहाँले समुदायमा रहेको वालवालिका,युवा जेष्ठ नागरिकलाई बुद्ध दर्शनकाे महत्त्व र ज्ञान बाड्दै सेवा गरिरहनुभएकाे छ ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका बौद्ध दर्शनको खोज–अनुसन्धानमा लागेका बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताए । ‘सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभयो, जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो,’ उनले भने । बौद्ध दर्शनका प्राध्यापक शान्तरत्न बज्राचार्य भगवान् बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेको उल्लेख गर्नुहुन्छ । जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गर्नुभएको उहाँको भनाइ छ । “भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ, त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्छ, दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठवटा मार्ग छन् भनी बुद्धले हामी सबैलाई ज्ञान दिनुभएको छ”–उहाँले भन्नुभयो । यसलाई बुद्धले दिएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।
यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।