पोखरा । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा स्थापित दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालनमा आएको छ । पोखरा ३३ पुष्पवस्तीमा स्थापना गरिएको केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रवार एक समारोहका बिच उद्घाटन गर्नुभएको हो ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सामाजिक न्याय र मानवीय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो । केन्द्र गण्डकी प्रदेशको सामाजिक रूपान्तरणको अभियानमा कोशे ढुङ्गा साबित हुने उहाँले विश्वास समेत व्यक्त गर्नुभयो । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले हिंसापीडित महिलाहरूलाई कम्तीमा ६ महिना र बढीमा २ वर्ष सम्म राख्ने व्यवस्था मिलाउने गरी पुनर्स्थापना केन्द्र सञ्चालनमा आएको बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो पुनर्स्थापना केन्द्र पीडित महिलाहरूलाई आश्रय, सुरक्षा र आत्मनिर्भर जीवनयापन तर्फ अग्रसर गराउने एक सशक्त प्रयासका रूपमा उल्लेख गर्नुभएको छ । पोखरा महानगरपालिका यस किसिमका सामाजिक सरोकारका विषयमा एकल वा साझेदारीमा कार्यहरू गर्न निरन्तर प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । पुनर्स्थापना केन्द्रबाट धेरै महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले एकद्वार प्रणालीबाट सञ्चालन हुने गरी सामूहिक प्रयासमा केन्द्र अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
प्रमुख सचिव शोभाकान्त पौडेलले दीर्घकालीन रूपमा स्थायी संस्था निर्माण गरी परिणाम दिने ढङ्गले अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कोपिला नेपालकी विना सिलवालले घरपरिवार र समाजबाट समस्या भोगेका छोरीहरूको संरक्षण गृहका रूपमा केन्द्रको उपयोगिता सार्थक हुनुपर्ने बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं.३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले आफ्नो वडामा बनेकामा खुसी व्यक्त गर्नुभयो ।
केन्द्र स्थापनासँगै घर–परिवार तथा समाजबाट उपेक्षामा परेका छोरीहरू, मानसिक स्वास्थ्य समस्याको सामना गरिरहेका व्यक्ति तथा दुर्व्यसनमा फसेकाहरूको दीर्घकालीन पुनर्स्थापनाको सुरुवात हुने विश्वास गरिएको छ । केन्द्र गण्डकी प्रदेशका लागि मात्र नभई समग्र नेपालको पुनर्स्थापना र मानसिक स्वास्थ्य क्षेत्रमा एक महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।