पोखरामा गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी  सम्पन्न

0
24

पोखरा ।  गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी  सोमबार पोखरामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।

कार्यक्रमकाे उद्घाटन गर्दे गृहमन्त्री ओम प्रकाश अर्यालले सु-शासन र भ्रष्टाचार निर्मुल गर्ने जगमा स्थापना भएको वर्तमान सरकारको प्रमुख उद्देश्यनै तोकिएको समयमा निर्वाचन सम्पन्न गरी जनतालाई नयाँ नेतृत्व प्रदान गर्नु रहेको बताउन्उरभयाे । स्वच्छ निर्वाचननै लोकतन्त्रको प्रमुख मर्म रहेकोले यसका लागि आवाश्यक वार्ता छलफल र संवादका लागि सरकार सदैव तयार रहेको बताउनु भएका गृहमन्त्री अर्यालले निर्वाचनको परिवर्तित सुरक्षा चुनौतिलाई मध्यनजर गरी जेनजि आन्दोलनमा लुटिएका हतियारहरु फिर्ता गर्न र कारागार बाट भागेका कैदि बन्दिहरुलाई फिर्ता गर्न मन्त्रालयले विशेष अपरेशन चलाईरहेको बताउनुभयो ।

सोही अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत भदौ २३ र २४ गते भएको आन्दोलनका कारण खस्किएको सुरक्षाकर्मीको मनोबल, फेरिएको राजनितिक परिस्थिती र थपिएको सुरक्षा चुनौतीले विगतको भन्दा धेरै जिम्मेवार भएर सुरक्षा योजना बनाउनुपर्ने भन्दै सरकारले तोकेकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने अन्यथा थप चुनौती सिर्जना हुनसक्ने सम्भावना रहेको बताउनुभयो ।

गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आन्दोलनका क्रममा न्यूनतम सतहमा पुगेको नेपाल प्रहरी अपुर्ण जनशक्ति एवम् साधनस्रोतका वावजुद उच्च मनोबलका साथ सुरक्षा चुनौतीहरुको सामना गर्न तयार रहेको बताउदै गोष्ठीबाट प्राप्त भएको निर्देशन तथा पृष्ठपोषणको उच्चतम सदुपयोग गरी प्रदेश अन्तर्गत प्रभावकारी सुरक्षा व्यवस्थापन र आसन्न निर्वाचन सुरक्षामा प्रदेशस्तरीय निकायहरूबीच प्रभावकारी सहकार्य तथा समन्वयका साथ कार्यसम्पदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठ, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव गोविन्द रिजाल, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरे लगायतले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो ।

गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौति, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

गोष्ठीमा गण्डकी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो उक्त गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । प्रदेशको शान्ति सुरक्षा चुनौती विश्लेषण, आवश्यक तयारी, निर्वाचनको तयारी लगायतको विषयमा छलफल गरिएको उक्त गोष्ठीको गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित समापन गर्नुभएको थियो ।