कास्कीमा पनि बर्डफ्लू

0
906

 

पोखरा । हेटौंडा र काठमाण्डौमा कुखुरामा बर्ड फ्लू संक्रमण देखिएको समाचार आइरहँदा कास्कीमा पनि बर्ड फ्लू भेटिएको छ । मादी गाउँपालिका वडा नं। ३, याङ्जाकोटमा स्थानीयले पालेका लोकल र गिरीराज जातका कुखुरामा बर्डफ्लू संक्रमण भएको हो ।
जिल्ला प्रशासन कार्यालय, कास्की बर्डफ्लू रोग नियन्त्रक कक्ष सूचना अधिकारी डा। गृष्म न्यौपानेका अनुसार याङ्जाकोटमा घरमा पालिएका कुखुरा मर्न थालेपछि ५० नमूना संकलन गरिएको र शंकास्पद नमूना परीक्षण गर्दा बर्डफ्लू भाइरस एच ५ एन वान संक्रमण देखियो । पुनः केन्द्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पठाउँदा पनि बर्ड फ्लू भाइरस देखिएपछि नियन्त्रणका लागि टोली परिचालन गरिएको छ ।
आइतबार मन्त्रीस्तरकै निर्णयानुसार तत्काल रोग नियन्त्रणका लागि पत्र प्राप्त भएपछि सोमबार बिहान प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको अध्यक्षतामा बैठक बसेको उनले जनाए । कन्ट्रोल इञ्चार्ज डा। केदार राज पाण्डे सहितको टीम रोग नियन्त्रणका लागि खटिएका छन् । टोली याङ्जाकोट प्रस्थान गरेको छ ।
फागुन दोस्रो सातामै कुखुरा भकाभक मर्न थालेपछि फागुन १९ गते पहिलोपटक जाँच गरिएको थियो । बर्डफ्लूको संक्रमण देखिएको स्थानमा चार किल्ला तोकिएको छ । पूर्वपट्टी भीरक्षेत्र, पश्चिममा पोखरा आउने बाटो, उत्तरतर्फ गाउँपालिका कार्यालय र दक्षिणतर्फ ससुराबाजे भनेर चिनिने स्थानीयको घरलाई चार किल्ला कायम गरिएको छ ।
अब चारकिल्ला क्षेत्रभित्रका सबै कुखुरा, दाना, सुली नष्ट गरिने, खोर सरसफाईसँगै चुना तथा एन्टीभाइरल औषधि चर्ने, १० दिनसम्म कुनैपनि पंक्षी तथा पंक्षीजन्य वस्तु ओसारपसार नगर्ने डा। न्यौपानेले बताए ।
अन्य कहिँकतै कुखुरा झोक्राउने, मर्ने गरेको भए तुरुन्त जानकारी गराउन पशु विकास अधिकृत सहदेव पौडेलले आग्रह गरेका छन् । पोखरा महानगरपालिका, पशु सेवा महाशाखा प्रमुख शिव वाग्लेले मादीको याङ्जाकोट बाहेक अहिलेसम्म पोखरा क्षेत्रमा नदेखिएको बताए ।
साभार :   रञ्जन अधिकारी,       बिगखबर