पोखरा । विश्व हिन्दु महासंघ नेपालले शुक्रबार पोखरामा निकालेको मोटर साइकल र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी टोलीले मोटरसाइकल र्यालीलाई सिद्धार्थचोक र महेन्द्रपुलतर्फ जान रोकेको थियो । प्रहरीले अवरोध गरेपछि र्यालीले पोखरा महानगरको पुरै भागको परिक्रमा गर्न नपाएको संयोजक अशीलकुमार शाहीले पोखरा पोष्टलाई बताए । उनका अनुसार प्रहरीको अवरोधपछि चिप्लेढुंगा मानवअधिकारचोकबाट सिद्धार्थचोक हुँदै जाने र्याली पोखरा सभागृहमा पुगी समापन भएको हो । महासंघको शनिबारदेखि पोखरामा सुरु हुने सातौ राष्ट्रिय महासभा तथा विशाल धार्मिक सभाको प्रचारका लागि शान्तिपूर्ण मोटर साइकल र्याली निकालिएको शाहीले बताए ।
यसै बिच प्रहरी हस्तक्षेपको विरोधमा विश्व हिन्दु महासंघमा आबद्ध ब्यक्तिहरुले जिल्ला प्रशासन कार्यालय कास्कीको गेटमा डेढ घन्टा धर्ना दिए ।
बिहान ९ बजेदेखि साढे १० बजेसम्म धर्नाको क्रममा प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले अबदेखि कुनै पनि समूहलाई मोटर साइकल र्याली निकाल्न नदिने प्रतिबद्धता जनाएपछि १ बजे गर्ने भनिएको धर्नालाई स्थगित गरिएको बिश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खरालले बताए ।