काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले प्रदान गर्ने ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ का लागि चारजना पत्रकार छनौट भएका छन् । चारवटा विधामा प्रदान गरिने पुरस्कारका लागि कौशल चेम्जोङ (रेडियो), राजबहादुर गुरुङ (अनलाइन), गणेश राई (छापा) र शोभा श्रेष्ठ (टेलिभिजन) छनौट भएको फोनिजले जानकारी दिएको छ ।
पुरस्कार फोनिजको २० औं स्थापना दिवसका दिन साउन २७ गते आयोजित कार्यक्रममा प्रदान गरिने फोनिजले जनाएको छ । पुरस्कारको राशी जनही २० हजार रहेको छ । स्थापना दिवसको अवसरमा फोनिजले साउन २७ गते अपरान्ह साढे १२ बजे ‘२०औं स्थापना दिवस, पुरस्कार वितरण तथा सम्मान समारोह–२०७६’ आयोजना गरेको छ । उक्त कार्यक्रममा फोनिजका संस्थापकदेखि निवर्तमानसम्मको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गर्ने फोनिजले जनाएको छ ।
को हुन् पुरस्कारका लागि छनौट भएकाहरु
‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’को रेडियो विधामा छनौट भएका कौशल चेम्जोङ २०४५ सालदेखि उदयपुरबाट पत्रकारिता गर्दै आएका छन् । दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरुवात गरेका उनी ‘टंकेला साप्ताहिक’को सम्पादक/प्रकाशक, ब्लाष्ट दैनिक धरानको कार्यकारी सम्पादक, स्पेसटाइम दैनिक, च्यानल नेपाल र रेडियो नेपालको स्थानीय सम्वाददाताको रुपमा काम गरेका छन् । रेडियो त्रियुगामा स्टेशन म्यानेजर चेम्जोङ नेपाल पत्रकार महासंघको पूर्व उपसभापति हुन् ।
छापा विधाका लागि छनौट भएका गणेश राई कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक हुन् । २०५० देखि २०७४ सम्म त्रिभाषीय त्रैमासिक पत्रिका ‘लिब्जु–भुम्जु’ सम्पादन गरेका उनले कौशिकी, निप्सुङ, कावा लगायतका भाषिक पत्रिकामा सम्पादकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । २०४८ सालबाट वाम्बुले राई भाषा लेखन थालनी गरेका राई ‘किरात राई पत्रकार संघ’का संस्थापक अध्यक्ष हुन् ।
अनलाइन विधाबाट पुरस्कारका लागि छनोट भएका राजबहादुर गुरुङ २०५१ सालदेखि पोखराबाट पत्रकारिता गर्दै आएका छन् । उनी पोखराबाट प्रकाशित/सञ्चालित युनाइटेड दैनिक र युनाइटेडखबर डटकमको प्रकाशक तथा सम्पादक हुन् । गुरुङले जनसत्ता साप्ताहिक, सूचना साप्ताहिक, सन्ध्याकालीन दैनिक, देशान्तर, विमर्श, तरुण, घटना र विचार, जनमन्थन, सगरमाथा टेलिभिजनलगायतमा काम गरेका छन् ।
टेलिजिभन विधाका लागि छनोट भएका शोभा श्रेष्ठ नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक हुन् । उनले आदिवासी जनजातिको भाषा, कला, संस्कार संस्कृति, रीतिरिवाज र परम्परामा आधारित टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशाण समेत गर्दै आएकी छन् ।