विदेशबाट फर्केपछि बाख्रा संग रमाउदै रामजी

0
1013

दीपेन्द्र बस्नेत
कञ्चनपुर  ।
रामजी सापकोटा झन्डै आठ वर्ष रोजगारीका लागि खाडी मुलुकमा जवानी बिताएर फर्केका युवा हुन ।
“उपासना बाख्रा फर्म ” दर्ता गरेर उनी व्यावसायिक रुपमा बाख्रा पालनमा होमिएका छन् ।
वैदेशिक रोजगारीबाट फर्किएका अधिकांश युवाहरु व्यापार व्यवसाय या त सहर बजारमा घर घडेरी जोडेर बस्ने गर्छन् । तर, पुनर्वास नगरपालिका–६, ङ गाउँका रामजी सापकोटा भने बिदेश बाट फर्किए लगत्तै बाख्रापालनमा जुटेका छन् । उनले खाडी मुलुकको मलेसियामा बसेर रोजगारी गर्दा पाएको दुःख र पारिवारिक एक्लोपनाका कारण घर फर्कनासाथ आँगनमा  बाख्रापालन थालेका छन् ।
नौ महिना अघि मलेसियाबाट फर्केका रामजीको दैनिकी बाख्रा संगै रमाउदै बितेको छ ।
विदेशमै रहँदा घर फर्केपछि बाख्रापालन गर्ने सोच आएको बताउँदै रामजी भन्छन्,‘म विदेशमै रहँदा घर गएर बाख्रापालन गर्छु भन्ने सोच आएको थियो ।’ उनले गत वैशाखमा नगरपालिकामा गएर उपासना बाख्रा फर्म दता गराए र ८ ओटा बाख्रा किनेर सुरु गरेको उनको  व्यवसायिक यात्रा अहिले झाँगिदै गएको छ । अहिले उनीसँग साना ठूला गरेर २० वटा बाख्रा, खसी र बोका छन् । सुरुमा स्थानीय जातका बाख्रा किनेर व्यवसायिक यात्रा सुरु गरे पनि अब भने बोयर जातका बाख्रा पनि पालन गर्ने सोच बनाएको उनी बताउछन् । ‘बोयर जातका बाख्राका लागि ईन्टरनेटमा सर्च गरेर जानकारी र ज्ञान सिक्न र थप सिकाइ  संकलन  लागि रहेको छु,’ उनले भने,‘कहाँ कति मूल्यमा पाइन्छन् भनेर सर्च कुरा पनि गरिरहेको छु ।’
मलेसियाबाट फर्के लगत्तै दुवईमा भान्जाले मासिक दुई लाख भन्दा बढी आम्दानी हुने काममा आउन भने पनि आफूले विदेश नगएर स्वदेशमै बाख्रापालन गर्ने सोच बनाएको बताउँदै उनले भने,‘विदेशमा गर्ने दुःख स्वदेशमै गर्दा सोचे भन्दा बढी आम्दानी हुन्छ ।’ विदेशमा १२ घण्टा अनिवार्य काम गर्नुपर्ने र आउँदा जाँदा, खाना पकाएर खाँदा सबै समय मिलायो भने १६ घण्टा खटिनुपर्ने बताउँदै उनले भने,‘हामीले स्वदेशमा मात्रै दैनिक आठ घण्टा काम गरेमा यही विदेशको भन्दा बढी पैसा कमाउन सकिन्छ ।’ उनी अहिले बाख्रालाई बिहान २ घण्टा, दिउँसो २ घण्टा र बेलुकी २ घण्टा घाँस काट्न पानी दिन र हेरचाह गर्नमा खर्चने गरेको बताउँछन् । ‘यहाँ दैनिक ६ घण्टा मात्रै बाख्रालाई समय दिए पुग्छ,’ उनले भने,‘बाँकी समय अन्य काममा खर्चे पनि रामै्र आम्दानी गर्न सकिने रहेछ ।’ वैदेशिक रोजगारमा जानेहरुलाई विदेशमा दुःख गर्नुभन्दा स्वदेशमै व्यवसायिक कृषि कर्म गरे विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिने उनी बताउँछन् ।
उनले अहिले दुई बिघा जमिनको वरिपरि डाले घाँस, जौ घाँस रोपेका छन् । ‘अब पूरै दुई बिघा जमिनमा घाँस रोप्छु र आधुनिक तरिकाले बाख्रा पालन गर्छु,’ उनले भने,‘अबको मेरो बाँकी जीवन घरमै बाख्रापालन गरेरै बित्छ ।’