‘मस्किने र टाँस्सिने नगरी चुनाव जितिन्न बहिनी’

0
2297

सरिता तिम्सिना पगेनी
चुनाव जित्न के चाहिन्छ ? सिधा र सहज जवाफ हो–भोट । तर भोट कसरी पाउने ? निरन्तर आन्दोलनमा लागेर, त्याग गरेर, योगदान दिएर यस्तै यस्तै हुन सक्छ जवाफ । तर अहिले भोट पाउने तौल तरिका फेरिएको छ । ‘मनी’, ‘मसल’ र ‘मदिरा’ । तर यो भनाइ मेरो हैन  पत्रकार दाइ नेताको हो ।
‘यस्तो पाराले पनि चुनाव जितिन्छ त ? तिमीसँग चुनाव जित्ने कला नै छैन । चुनाव जित्नका लागि त फलानो या ढिस्कानोसँग नजिकिनु पर्छ, ढिस्कानोसँग मस्किनु पर्छ । पैसा खर्चेर मदिरा पाटी राख्न सक्नु पर्यो, गाडि हाँकेर देशभर डुल्न पर्यो तिमी जस्तो स्वाभिमानी केटि चुनाव नलडेकै राम्रो ।’ यस्तै यस्तै सुझाव दिए एकजना अग्रज पत्रकार दाइले ।
अर्का अग्रज दाइको सुझाब यस्तो छ–‘केन्द्रीय नेता भएर घर बिग्रान खोजेकी हौ कि क्या हो ? खुरुखुरु घर परिवार सम्हालेर बसे भईहाल्यो नि ? किन पत्रकारको नेता बनेर हिंड्न पर्यो ? बुढाले केहि भन्दैनन् ?’
यतिबेला नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशनको देशभरी चर्चा छ । नेपालगञ्जमा आगामी चैत्र २१ र २२ गते हुन लागेको महाधिवेशनका लागि नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधिहरु उत्साहित छन् । अध्यक्ष पदमा फलानो पुरुष पत्रकार यो गुटबाट उठ्ने रे नि, फलानो पुरुष पत्रकार त महासचिव लड्ने रे, तयारी पनि राम्रो गरेको छ, मान्छे पनि क्रियाशिल छ । तर पत्रकार महिलाको हकमा भने खासै चर्चा नै हुँदैन, जतिसुकै लैङ्गिक मैत्री विधान बनाए पनि महिलाका पदलाई खासै महत्व दिइदैन । कतिपय पत्रकार महिलालाई चुनाब लड्ने इच्छा भए पनि खुलेर कुरा राख्न सक्दैनन् कसैले कुरा राखिहाले पनि अग्रज पत्रकार दाइहरुले माथि उल्लेख गरे झैं  ओठे सुझाव दिइहाल्छन् ।
यहाँनिर मैले उठाउन खोजेको विषय के हो भने, समान हैसियत भएका पत्रकार महिला र पुरुष पत्रकारलाई दिने सुझाव भनौं या चर्चा किन फरक ढंगले गरिन्छ । पुरुष पत्रकारले चुनाव जित्ने आधार प्रस्तुत गर्दा माथि अग्रज पत्रकार दाइले गरेका प्रश्न किन गरिदैन होला । के महिला पत्रकारका चुनाव जित्ने आधार उनले गरेको व्यवसायीक पत्रकारिता, उनको शैक्षिक योग्यता, क्रियाशिलता, नेतृत्व विकास सिपलगायतका विषयबस्तुले केही  अर्थ राख्दैन त ?
अग्रज पत्रकार दाइहरुले भने झंै घर बिर्गानको लागि या फलानो या ढिस्कानोसँग निकटतम सम्बन्ध गाँसेर पदमा पुग्नका लागि हो त  पत्रकार महिला नेतृत्वमा जाने ?
सुझाव दिनेलाई सामान्य लाग्न सक्छ तर यस्ता सुझावले पत्रकारिताको क्षेत्रमा आफ्नो भविश्य खोजिरहेका र नेतृत्व तहमा पुगेर पत्रकारितामार्फत समाज रुपान्तरण गर्ने सोच राखेर आफ्नो अध्ययन, पेसा र रुची पत्रकारिता क्षेत्रमै समर्पित गर्ने स्वाभिमानी पत्रकार महिलालाई भने आत्मसम्मानमा ठूलो ठेस पु¥याउन सक्छ ।
लैङ्गिक समतामूलक समाज निर्माण गर्नु पर्छ भन्दै भाषण गरेर नथाक्ने अग्रज पत्रकार दाइहरुको बोली र ब्यबाहारमा फरक देख्दा लाग्छ, साँच्चिकै हामीले कस्ता सोच भएका व्यक्तिलाई अग्रज ठान्यौं र तिनका निर्देशन  बालकले झंै चुपचाप सुनिरह्यौं मानिरह्यौं ।
कहिलेकाहिं सोच्न मन लाग्छ व्यक्तिगत रुपमा जसलाई अग्रज पत्रकार मान्यौ ति अग्रज पत्रकार दाइहरुको भन्दा  पत्रकारिता क्षेत्रमा क्रियाशिलताका हिसावले होस्, औपचारिक शिक्षाका हिसावले  होस्, या आर्थिक या नैतिक हिसावले किन नहोस् सबैमा अब्बल ठहरिँदा पनि केका आधारमा त्यति निम्नस्तरका सुझाव दिने हिम्मत गर्छन होला ?
सक्नुहुन्छ अग्रज भएका नाताले प्रेरीत र उत्साहित हुने खालका सुझाव दिनुहोस नभए चुप लागिदिनुहोस । बिभिन्न बाधा व्यवधान पन्छाउँदै, घर परिवारलाई समेत व्यवस्थापन गर्दैै पत्रकारिता क्षेत्रलाई नै आफ्नो मुल पेशा बनाएर आफ्नो  योग्यता र क्षमताका आधारमा चुनाव लड्ने तयारी गरेका पत्रकार महिलालाई यो वा त्यो वाहानामा हतोत्साहि गर्ने तपाईलाई कुनै अधिकार छैन ।
नेपाल प्रेस युनियनमा देशभर झण्डै १५ सय महाधिवेशन प्रतिनिधि छन् ।  महाधिवेशन प्रतिनिधि भएका नाताले के महिला के पुरुष सबैले  निर्वाचनमा चुन्ने र चुनिने अधिकार प्राप्त गर्छन् नै । त्यसैले फलानो या ढिस्कानाको निकटताको आधारमा नभै जस्ले व्यवसायिक पत्रकारिता गरेको छ, पत्रकारका हक हितका लागि लडेको छ, जो महाधिवेशनका समयमा मात्र नभै निरन्तर पत्रकाररिता गरिरहेको छ  र एजेन्डासहित चुनावमा भाग लिने तयारी गरेका छन् त्यस्ता पत्रकार महिलालाई  महाधिवेशनमा भाग लिनका लागि र नेतृत्व तहमा पुर्याउनका लागि सबैले आ आफ्नो ठाउँबाट हौसला बढाउँ, प्रेरित गरौं ।
(लेखक क्रियाशिल पत्रकार महिला (wwj) गण्डकी प्रदेशका अध्यक्ष एबं नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य हुनुहुन्छ ।)