प्रधानमन्त्री ओली अस्पतालमा भर्ना, आइसीयुमा उपचार हुदै

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा सुधार नभएपछि उनी सोमबार बिहानै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । एक्कासी छातिमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको बताइएको छ । उनको अहिले मनमोहन कार्डियो सेन्टरको आइसीयुमा उपचार भइरहेको छ । यसअघि आइतबार मात्रै ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको भन्दै केही दिनमै सार्वजनिक कार्यक्रममा उपस्थित हुने प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताएका थिए । ओलीलाई सामान्य रुघाखोकी बताउँदै आइएको थियो । ओली अस्वस्थताकै कारण पार्टीले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा पनि सहभागी हुन सकेका थिएनन् ।

क्रसर उद्योगका साधनले नागरिकको स्वास्थ्य बिग्रन थालेपछि

  लमही,  सडकमा क्रसर उद्योगका टिप्पर र ट्याक्टरले अत्यधिक धुलो उडाउँदा नागरिकको स्वास्थ्य बिग्रन थालेपछि स्थानीयवासीले धुलो नियन्त्रण गर्न माग गरेका छन् । दाङको कालाकाटे–गढवा सडक खण्डअन्तर्गत चल्ने टिप्पर तथा ट्याक्टरले उडाएको धुलोले आफूहरुको स्वास्थ्य बिग्रन थालेको स्थानीयवासीको भनाइ छ । क्रसर उद्योगबाट गिट्टी, बालुवा लिएर दिनहुँ चल्ने टिप्पर तथा ट्याक्टरले धुलो उडाउँदा स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै घर नै धुलोले पुरिएको भन्दै आफूहरुले धुलो नियणत्रण गर्न माग गरेको गढवा गाउँपालिका–१ का स्थानीय बासिन्दा नवराज शर्माले बताउनुभयो । दिनहँु करीब ५÷६ सय टिप्पर आवातजावत गर्दा उड्ने धुलोले जेठानगाउँ, पत्रिङ्गा, बड्हरा, वनबारी, वनघुस्री, मलमला, कालाकाटे, धोद्रे, टहडा र जुरौनी गाउँका करीब एक हजार १०० सय घरधुरीले सास्ती खेप्नुपरेको छ । आइतबार धुलो नियन्त्रण गर्न माग गर्दै बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म स्थानीयवासीले सडक बन्द गरेका थिए । बाटो बन्द भएपछि गढवा गाउँपालिका–१ का वडा अध्यक्ष बाबुराम अधिकारीको पहलमा क्रसर उद्योगका सञ्चालक र स्थानीयवासीबीच भएको छलफलले दिनहँु बाटोमा पानी हाल्ने, बाटोमा भएका खाल्डाखुल्डी पुर्ने तथा मर्मत गर्नेलगायतको सहमति पछि सडक खोलिएको हो । गढवा गाउँपालिकाभित्र हाल १३ वटा क्रसर उद्योग सञ्चालनमा रहेका छन् । –––

मुस्ताङका पर्यटक होटल खोज्दै बागलुङ

, बागलुङ,  पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटकले होटल खोज्दै बागलुङ आउन थालेका छन् । दशैँ तथा तिहारको समयमा म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेपछि होटल नपाउने समस्या बढेका कारण पर्यटक होटल खोज्दै बागलुङ आउन थालेका हुन् । म्याग्दी र मुस्ताङ आएका पर्यटकले त्यहाँ सबै होटल भरिएपछि पर्यटक होटल खोज्दै छिमेकी जिल्ला बागलुङ र पर्वत आउन थालेका हुन् । “मुस्ताङ र म्याग्दीमा यो सिजनमा धेरै पर्यटक जान्छन्” बागलुङका होटल व्यवसायी निलेश राजभण्डारीले भन्नुभयो, “त्यहाँ ठूलो क्षमताका होटल छैनन् त्यसैले होटल खोज्दै बागलुङ आउछन् ।” दशैँ तिहारबीचमा मुस्ताङ घुम्न आएका काठमाडौँका केशव लामिछाने म्याग्दी बास बसेर मुस्ताङ जाने योजनामा हुनुहुन्थ्यो उहाँले त्यहाँ होटल नपाउँदा बागलुङ फर्केर बास बस्नुपरेको बताउनुहुन्छ । यतिबेला बागलुङ जिल्लाका ठूला होटल मुस्ताङ र म्याग्दी घुम्न जाने पर्यटकले भरिएको होटल व्यवसायी सङ्घ बागलुङले जनाएको छ । “दशैँको भोलिपल्टदेखि म्याग्दी र मुस्ताङका सबैजसो होटल पर्यटकका लागि बुक भइरहेका छन्” होटल व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्यले भन्नुभयो, “मुस्ताङ जानका लागि म्याग्दी आउने पर्यटकलाई छिमेकी जिल्ला पर्वत तथा बागलुङका होटलमा पठाउने गरिएको छ ।” बागलुङमा ठूला क्षमताका होटल भए पनि मुस्ताङ र म्याग्दीमा ठूला क्षमताका होटल खासै छैनन् । मुस्ताङ जान आउने पर्यटक सिधै मुस्ताङ नगइकन म्याग्दीमा बास बस्नुले होटलको माग बढेको म्याग्दीका होटल व्यवसायी बताउँछन् । मुस्ताङबाट फर्कदा म्याग्दीको भुरुङ तातोपानी बस्ने योजना बनाएका फ्रान्सेली नागरीक डेविट होटल नपाउँदा बागलुङ बजारको पिस प्यालेसमा बास बस्न आएको बताउनुहुन्छ । दशैँ तिहारको समयमा म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटक विगतका वर्षमा भन्दा यो वर्ष अत्यधिक भएको पर्यटन व्यवसायी बताउँछन् । प्रायजसो निजी गाडी तथा मोटरसाइकलमा आउने पर्यटक बागलुङ, म्याग्दी घुम्दै मुस्ताङ जाने गर्दछन् भने एजेन्सीमार्फत आएका पर्यटक सिधै मुस्ताङ जाने गरेका छन् । –––

अध्ययन र ‘करियर’ मा ध्यान दिनुपर्ने उमेरमा धेरै युवा मानसिक रोगका पीडित

  ललितपुर,  एकोहोरो टोलाउने र पढाइमा ध्यान नदिएको भन्दै एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक युवकलाई उनको अभिभावकले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पु¥याए । उपचारको क्रममा उनी कडा खालको मानसिक रोगबाट पीडित भएको पत्ता लागेको हो । केन्द्रका मनोचिकित्सक डा पशुपति महतले अभिभावकलाई उनलाई नियमित र समयमा औषधि खान सल्लाह दिए । अभिभावकले विभिन्न खालको उपचार गर्दासमेत रोग पत्ता नलागेपछि मानसिक रोगको अनुमान गरेको डा महतले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म लक्षणका आधारमा अभिभावकले सन्तानलाई मानसिक रोग लागेको छुट्टाउन सक्दैनन् ।” अध्ययन र ‘करियर’ मा ध्यान दिनुपर्ने उमेरमा धेरै युवा मानसिक रोगका पीडित छन् । देशभरमा कति मानसिक रोग पीडित छन्, भन्ने एकीकृत तथ्याङ्क छैन । स्वास्थ्य मन्त्रालयले केही समय अघिबाट मात्रै तथ्याङ्क सङ्कलन शुरु गरेको छ । मनोचिकित्सक र मानसिक रोग विशेषज्ञसम्म आउने बिरामीका आधारमा युवामा यो समस्या बढेको देखिएको हो । परिवारको मात्रै नभएर देशको समेत भविष्य निर्धारण गर्ने युवा मानसिक रोगका कारण कुनै पनि कार्य राम्रोसँग गर्न नसक्ने अवस्थामा रहेको डा महतले बताउनुभयो । समयमा उपचार नहुँदा सामान्य समस्यासमेत कडा खालका मानसिक रोगमा परिवर्तन भइसक्छ । उहाँले भन्नुभयो, “आफ्ना सन्तानलाई मानसिक रोग लाग्दा समयमा नै उपचार गराउनुपर्छ भनेर अभिभावकलाई सूसुचित गर्न खाँचो छ ।” आफूभित्र रहेको चिन्ता व्यक्त गर्न नसक्दा कतिपय युवाले आत्महत्यासमेत गरिरहेका छन् । कतिपय युवा भने चिन्ता कम गर्नकै लागि लागुऔषध र मदिरापान गरिरहेका छन् । अझैसम्म आम नागरिकले सडकमा बेवारिसे भएर हिँड्नेलाई मात्रै मानसिक रोगी मान्ने गरेको डा महतले बताउनुभयो । आफ्नो छोराछोरी असामान्य व्यवहार देखाइरहेको छ कि छैन भन्ने कुरा अभिभावकले नै ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । रोग हो भन्ने बुझेका अभिभावक स्वास्थ्य संस्थामा लैजानुभन्दा धामी, झाँक्री कहाँ जाने गरेका छन् । टिचिङ अस्पतालमा कार्यरत मनोचिकित्सक डा सरोज ओझाले देशभरमा कति मानसिक रोगी छन्, भन्ने एकीकृत तथ्याङ्क नभए पनि झण्डै २२ लाख युवा यो रोगबाट पीडित भएको अनुमान गरिएको बताउनुभयो । नेपालमा मात्रै नभएर धेरै विकासोन्मुख देशमा मानसिक रोगीको सङ्ख्या बढ्दै गएको छ । उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा धेरैले यो रोगको उपचार हुन्छ, भन्नेसमेत जानकारी नभएर रोग पालेर बसिरहेका छन् ।” नेपालमा वैदेशिक रोजगारीका कारण पनि धेरै खालका मानसिक समस्या बढेको डा ओझाले बताउनुभयो । वैदेशिक रोजगारीमा गएका व्यक्ति र उनको परिवारमा समेत अनेक मानसिक समस्या देखिरहेको छ । श्रीमान विदेश गएपछि श्रीमती हरेक दिन फोन कुर्ने र नआउँदा वा सम्बन्धमा समस्या आउँदा त्यसले चिन्ता बढाउने गर्छ । श्रीमान वैदेशिक रोजगारीमा जाँदा श्रीमतीमा धेरै खालको मानसिक समस्या देखिरहेको छ । उहाँले भन्नुभयो, “एकातिर श्रीमानसँगको सम्बन्ध सुमधुर नहुनसक्छ भने एर्कातिर सन्तान र परिवारको जिम्मेवारीसमेत थपिन्छ ।” इन्टरनेटलगायतका प्रविधिले पनि धेरै खालका मानसिक समस्या बढाएको छ । भूकम्पका समयमा भएका क्षतिले पनि धेरैमा मानसिक समस्या बढेको पाइन्छ । मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्था ‘अब्बल उइ’ का निर्देशक विजया विजुक्च्छे धेरै युवाले आफूभित्र रहेको समस्या गुम्साएर राख्दा त्यही समस्या मानसिक रोगमा परिणत हुने गरेको बताउनुहुन्छ । साधारण कुरालाई असाधारण मानेर चिन्ता गरिरहँदा त्यही समस्याले विकराल रुप लिन्छ । आफूलाई मानसिक रोग लागेको व्यक्तिले पनि थाहा नपाउने र परिवारका सदस्यलाई पनि थाहा नहुँदा त्यसैले ठूलो रुप लिएको हो । उहाँले भन्नुभयो, “सानो समस्या हो भनेर बुझ्ने र समयमै उपचार गर्न आम नागरिकलाई बुझाउन खाँचो छ ।” नेपालमा मानसिक रोग विशेषज्ञ १५० जना र मनोबाद झण्डै ३० जना रहेका छन् । सबै सरकारी अस्पतालमा मानसिक रोग विशेषज्ञको भने दरबन्दी छैन । विद्यालय र कलेजका पाठ्यपुस्तकमा समेत मानसिक रोगका बारेमा उल्लेख हुनुपर्ने यस क्षेत्रमा कार्यरत विज्ञले माग गर्दै आएका छन् । –––