फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । सम्झौता आगामी पाँच वर्षसम्मका लागि भएको एन्फाले जनाएको छ । दुवै राष्ट्रको फुटबल विकासका लागि एन्फा र क्युएफएको मुख्यालय दोहामा एन्फाका अध्यक्ष शेर्पा र क्युएफएका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अलतानीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौतानुसार दुई राष्ट्रबीचको विभिन्न विषयका लागि व्यवस्थापन टोली, प्राविधिक टोली, प्रशिक्षक, रेफ्री र खेलाडीको आदानप्रदान हुनेछ । त्यसैगरी फुटबलको अध्ययन, अनुसन्धान, महिला फुटबल, युवा फुटबल, फुटसललगायत १७ कार्यमा दुई मुलुकबीच सहकार्य हुने सम्झौतामा उल्लेख छ । कतार सन् २०२२ को विश्वकप आयोजक राष्ट्रसमेत हो । हाल कतारले विश्वकपका लागि फुटबल मैदान धमाधाम निर्माण गरिरहेको छ । सम्झौताका लागि एन्फा अध्यक्ष शेर्पा र लिग कमिटीका संयोजक विज्ञानराज शर्मा हाल दोहामा हुनुहुन्छ । यसअघि एन्फाले जापान फुटबल एशोसिएशन (जेएफए)सँग सहकार्य गर्न सम्झौता गरिसकेको छ ।
एकै दिन रु १३ लाख आम्दानी
सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको सङ्ख्या बढेपछि एकै दिन करीब रु १३ लाख आम्दानी भएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा विस्तारै पुनःनिर्माणले गति लिइरहेको बेला पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले आम्दानी बढेको हो । घुम्न आउने पर्यटकबाट मङ्गलबार मात्रै रु १३ लाख आम्दानी गरेको हनुमान ढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जानकारी दिनुभयो । अन्य दिन सामान्यतयाः दैनिक रु १० लाख आम्दानी गर्दै आएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या ८२ अन्य देशबाट एक हजार २६९ जना पर्यटक घुम्न आएका थिए । यसै कारण यो वर्ष अहिलेसम्मको सबैभन्दा बढी शुल्क पनि त्यसै दिन रु १२ लाख ८१ हजार ३०० जम्मा भएको हो । यहाँ विशेष गरी चिन, जर्मन, फ्रान्सलगायत देशबाट पर्यटक घुम्न आउने गर्दछन् । यस क्षेत्रमा घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कबापत रु १५० तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले रु एक हजार तिर्नुपर्छ । शुल्कबापत दैनिक सङ्कलन हुने रकमलाई पर्यटकको सङ्ख्या बढाएर रु १५ लाख सम्म पु¥याउने लक्ष्य सुनाउँदै कार्यक्रम प्रमुख पसखलले वसन्तपुर क्षेत्रका सांस्कृतिक संरचना पुनःनिर्माणमा तीव्रता दिइएकाले पर्यटकको सङ्ख्या बढेको बताउनुभएको छ । भूकम्पका कारण क्षति पुगेका सम्पदामध्ये हालसम्मा गद्दी बैठकको पुनःनिर्माण सम्पन्न भइसकेको छ । उक्त स्थानमा सबैभन्दा महत्वपूर्ण मानिने नौतले दरबार र काष्ठमण्डप पुनःनिर्माण भइरहेका छन् भने माजु देग पुनःनिर्माणको शुभारम्भ चरणमा पुगेको छ । कुमारी घरको भूकम्पीय संवेदनशीलताको प्राविधिक परीक्षण तथ्य विश्लेषण भइरहेको छ । यस वर्ष अहिलेसम्मको अवधिमा सबैभन्दा बढी पर्यटक मङ्गलबार आएका हुन् । आन्तरिक पर्यटकको लागि भने शुल्क लिन व्यवस्था रहेको छैन । यस क्षेत्रमा पर्यटकको झण्डै तीन दर्जन सम्पदा रहेको छ । जसमा भूकम्पका कारण दश सम्पदाको वटा पूर्णरुपमा क्षति भएको छ भने अन्यमा सामान्य क्षति पुगेको बताउनुभएको छ ।