चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन् । उहाँका अनुसार गैंडाको बच्चालाई गोहीले खाएर, जुधेर, भालेले हानेर, दलदलमा फसेर, बुढो भएर र एउटा मृगौला एवं फोक्सोमा खराबी भएर मरेको हो ।
चोरी शिकारीबाट गैँडा मर्न पाएका छैनन् । ढकालका अनुसार गत वर्षको यही समयमा १२ गैँडा कालगतिले मरेका थिए । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गत वर्ष यो समयमा बाढीले चार गैँडा मरेका थिए । बाढीले बगाएर भारत पु¥याएका नौ गैँडा उद्धार गरी ल्याइएको थियो । नेपालकै सीमा क्षेत्रबाट बाढीले बगाएको एउटा गैँडा उद्धार गरिएको थियो । गैँडाको सङ्ख्या बढ्दै गएपछि कालगतिका कारण मर्ने सङ्ख्या पनि बढ्दै गएको अर्यालले बताउनुभयो । गत आर्थिक वर्षमा कालगतिले २६ गैँडा मरेका थिए । यो सङ्ख्या हालसम्मकै उच्च हो । कालगतिका कारण मर्ने सङ्ख्या बढ्दै गएपछि निकुञ्ज विभागले अध्ययनसमेत थालेको छ । सन् २०१५ को गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका छन् ।नगर प्रमुखहरूको विश्व संसदमा न्यौपाने निर्वाचित
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको छ । बेलायतको व्रिष्टोल शहरमा सम्पन्न नगर प्रमुखहरूको सम्मेलनबाट न्यौपाने कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको हो । उक्त सम्मेलनमा व्यास नगर प्रमुख न्यौपाने उपस्थित नभए पनि कार्यकारी सदस्यका लागि उम्मेदवारी दिनुभएको थियो । उक्त सम्मेलनले न्यौपानेसहित आठ जनालाई कार्यकारी सदस्यमा निर्वाचित गरेको छ । नयाँ निर्वाचित कार्यसमितिमा जर्मनीको मेनहम नगरका प्रमुख पिटर क्रुज, बेलायतको व्रिष्टोल नगरका प्रमुख मार्भिन रिज, इटालीको पालेर्मो नगरका प्रमुख लियो लुका ओर्लाण्डो, युगाण्डाको होइमा नगरपालिकाका प्रमुख ग्रेस मेरी मुगासा, नर्वेको स्टेभेङ््गजर नगरका प्रमुख क्रिष्टिन सेगन हेल्गो, अमेरिकाको कोलम्बिया नगरका प्रमुख स्टेफेन के बेनजामिन र लाइवेरियाको मोनरोभिया नगरका प्रमुख जेफर्सन टम्बा कोइजी रहनुभएको छ । उक्त सम्मेलनले शहरी बसाइसराइलाई मानवीय ढङ्गले व्यवस्थित गर्ने शहरी सुरक्षा र शहरी स्वास्थ्य क्षेत्रमा सम्बन्धित विश्व सङ्गठन र क्षेत्रीय सङ्गठनसँग समन्वय गरी कार्य गर्ने प्रतिबद्धतासहित घोषणापत्र समेत जारी गरेको छ ।