नेपालीलाई करोडपति बनाउँदै हमाल
अभिनेता राजेश हमालले नेपाली दर्शकलाई करोडपति बनाउने भएका छन् । अन्तराष्ट्रिय रुपमै लोकप्रियता हाँसिल गरेको बौद्धिक खेल कार्यक्रम हु वान्ट्स टु बी ए मिलिनेयरको नेपाली संस्करणको रुपमा ‘को बन्छ करोडपति नेपाल’ नेपालमा प्रशारण हुन लागेका अभिनेता राजेश हमालले बताएका छन् । भारतमा लोकप्रियता हाँसिल गरेको प्रतियोगितामुलक कार्यक्रम ‘कौन बनेगा करोडपति’ नेपालीहरुबीच पनि लोकप्रिय रहेकाले आफुहरुले यसलाई नेपालमा सञ्चालन गर्न लागेको पनि हमालले बताए ।
बेलायतबाट सन १९९८मा सुरु भएको विश्व प्रसिद्ध कार्यक्रम हु वान्ट्स टु बी ए मिलिनेयर अहिलेसम्म विश्वका १६१ देशबाट फ्रेन्चाईजको रुपमा प्रशारण भईसकेको छ । यही प्रतियोगिताको नेपाली संंस्करणको रुपमा केविसी नेपाल (को बन्छ करोड पति नेपाल) आउँदो मँसिरको पहिलो साताबाट एचडी च्यानल एपी वान टेलिभिजनमार्फत प्रशारण हुँदैछ । यही कार्यक्रमलाई राजेश हमालले सञ्चालन गर्न लागेका हुन् ।
बिहिबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा अभिनेता राजेश हमालले भने,‘अन्तराष्ट्रिय रुपमैं लोकप्रियता हाँसिल गरेको कार्यक्रमको सञ्चालक बन्न पाउँदा खुसी लागेको छ । को बन्छ करोडपतिले यसमा सहभागी हुने नेपालीहरुलाई बौद्धिकसँगै आर्थिक रुपमा पनि धेरै हदसम्म सबल बनाउने छ ।’ शिक्षासँग जोडिएको एउटा बौद्धिक कार्यक्रम भएकाले पनि यो कार्यक्रम सञ्चालन गर्न पाउँदा आफुलाई खुसी लागेको उनले बताए ।
पत्रकार भेटघाट कार्यक्रममा केविसी नेपाल (को बन्छ करोडपति नेपाल)को प्रोमो पनि रिलिज गरिएको छ । प्रोममा ‘नमस्कार नेपाल, तपाईहरु सन्चै हुनुहुन्छ’ भन्ने नेपाली सम्बाद सहित कौन बनेका करोडपतिका सञ्चालक एवम् बलिउड अभिनेता अमिताभ बच्चनले को बन्छ करोडपतिलाई सफलताका शुभकामना व्यक्त गरेका छन् । आफुले सञ्चालन गरेको लोकप्रिय कार्यक्रम कौन बनेका करोडपतिको फ्रेन्चाईजको रुपमा को बन्छ करोडपति नेपालमा सञ्चालन हुन लागेकोमा आफुलाई खुसी लागेको उनले प्रोमो मार्फत बताएका छन् । साथै यो कार्यक्रमको सफलताको कामना समेत उनले गरेका छन् ।
को बन्छ करोडपति कार्यक्रममा सहभागी हुनका लागि दर्ता प्रक्रिया पनि सुरु गरिएको आयोजक पक्षले पत्रकार भेटघाटका क्रममा जानकारी गराईयो । जसका लागि केबिसी नेपाल मोवाईल एप्स डाउनलोड गरेर यसलाई घरमै बसेर पनि खेल्न सकिने पनि जानकारी गराईयो ।
आयोजक विपिन कुमार आचार्यले नेपालीहरुलाई गेम खेलाउँदै आर्थिक रुपमा समृद्ध र अझ बौद्धिक बनाउन आफुहरुले को बन्छ करोडपति नेपाल कार्यक्रम टेलिभिजनमार्फत सञ्चालन गर्न लागेको बताए ।
सिभिल बैंकका सिईओ गोविन्द गुरुङले अन्तराष्ट्रिय रुपमा लोकप्रियता कमाएको यो कार्यक्रमलाई फ्रेन्चाईजको रुपमा नेपालमा पनि ल्याईएकोमा खुसी लागेको बताए । यसले आफुहरको व्यबसायमा पनि प्रवर्धन हुने भएकाले को बन्छ करोडपतिसँग आफुहरु जोडिएको बताए । इन्डिका हेयर कलरका कन्ट्री म्यानेजर सपनदास गुप्ता, राजिव शाहलगायतले पनि कार्यक्रमको सफलताको कामना गरे ।
वातावरण संरक्षणमा सिङ्गो समाज नै अग्रसर हुनुपर्छ ः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सिङ्गो समाज नै अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
एकीृकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रिय केन्द्रको सहयोगमा वन तथा वातावरण मन्त्रालय, वातारण विभागद्वारा यहाँ आज आयोजित ‘वातावरण सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले बढ्दो जनसङ्ख्या र शहरीकरणका कारण फोहरमैला व्यवस्थापनमा कठिनाइ आइपर्दा वातावरण संरक्षणमा गम्भीर चुनौती थपिएकाले सम्बद्ध पक्षले सो विषयमा यथोचित ध्यान पु¥याउनुपर्ने औँल्याउनुभयो ।
जलवायु परिवर्तनले सुख्खा डढेलो तथा बाढीपहिरोजस्ता समस्यालाई अझ जटिल बनाएको र नेपालका सुन्दर हिमशृङ्खला र हिमताल पग्लेर उत्पन्न हुने बाढीपहिराले जनधनको ठूलो क्षति हुँदै आएको तथा यसबाट वातारण विनाश र पर्यटनको आकर्षणको केन्द्रका रुपमा रहेका नेपालको मौलिक पहिचान गुम्ने अवस्थामा पुगेकामा राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गर्नुभयो ।
“पेरिस सम्झौतालगायत ओजन तहको क्षयीकरण रोकथाम गर्ने विषयमा भएको सम्मेलन तथा मरुभूमीकरणविरुद्ध बेइजिङ सम्मेलनले तय गरेका विभिन्न अन्तर्राष्ट्रिय महासन्धि तथा सन्धिको अनुमोदन तथा सम्मेलनको भावनाअनुसारका राष्ट्रिय नीति, कानून तथा संस्थागत संरचनाको विकास गर्दै जान नेपाल सरकार प्रतिबद्ध रहेको मैले महसुस गरेकी छु”, राष्ट्रपतिले भन्नुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्न सरकारले नागरिक समाज र सरोकारवाला समूहको सहभागितामा वातावरण र जलवायु परिवर्तनजस्ता विषयमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन, रणनीति तथा कार्ययोजना बनाई कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्मेलनले वर्तमान र भावी पुस्ताको स्वस्थ्य वातावरणमा स्वस्थ्य भएर बाँच्न पाउने मौलिक हक संरक्षणको विषयमा दूरगामी दृष्टिकोण र व्यावहारिक कार्यदिशा तय गर्ने विश्वस गर्नुभयो ।
सो अवसरमा वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तन, वातावरण र बढ्दो शरहीकरणसँग जोडिएका समस्यालाई एकीकृत ढङ्गले सम्बोधन गर्न सरकारले निरन्तर प्रयत्न गर्दै आएको बताउनुभयो । मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले विकासका कार्यबाट आर्थिक वृद्धिदर तथा जीवनयापनमा सहजता भए तापनि प्राकृतिक स्रोतको दोहन तथा प्रदूषणमा व्यापकता आई मानव जीवन कष्टपूर्ण हुन थालेपछि वातावरण संरक्षणको आवश्यकताको महसुस हुँदै गएको छ भन्नुभयो । सम्मेलनमा ‘वायु प्रदूषण तथा न्यूनीकरण’, ‘शहरी वातारण तथा फोहर व्यवस्थापन’ र ‘वातारणीय प्रभाव मूल्याङ्कन’लगायत विषयमा छलफल गरिनेछ ।
साफ यू-१८ वुमन्स च्याम्पियनसिप फाइनल आज
साफ यू-१८ वुमन्स च्याम्पियनसिप फुटबलको उपाधि जित्ने लक्ष्यसहित भुटान पुगेको नेपाली महिला टोली त्यसबाट अब एक कदम मात्र टाढा छ। त्यो लक्ष्य प्राप्त गर्नका लागि नेपालले फाइनलमा आज अपराजित रहेको बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने उक्त फाइनल खेल नेपाली समयअनुसार बेलुका ६:४५ बजे सुरु हुनेछ।
दुवै टोलीको लक्ष्य फाइनल जित्दै उपाधि उचाल्नु हुनेछ। तर नेपालको लागि बंगलादेश विरुद्ध मैदान उत्रिदा समूह चरणका बेहोरेको हारको बदला लिने उपयुक्त अवसर समेत छ।
समूह बी मा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो। नेपाल त्यो हारको बदला लिने दाउमा समेत हुनेछ।
सेमिफाइनलमा नेपालले चिरिपरिचित प्रतिद्वन्दी भारतलाई पेनाल्टीसुटआउटमा ३-१ ले गोलन्तरले पारजित गर्दै फाइनलमा स्थान बनाएको हो। जसमा गोलकिपर अन्जना मगरले दुई पेनाल्टी रोकेकी थिइन्। यस्तै बंगलादेशले भुटानलाई ४-० ले पारजित गर्दै फाइनलमा स्थान बनाएको हो।
भारतलाई सेमिफाइनलमा हराएपछि नेपाली टोलीको मनोबल उच्च छ।
प्रज्ञा –प्रतिष्ठानमा पुनः उप्रेती
नेपाल प्रज्ञा –प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आज नियुक्त गर्नुभएको हो । उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति हुनुहुन्थ्यो भने त्यसअघिको कार्यकालमा उपकुलपति हुनुहुन्थ्यो ।
प्रतिष्ठानको रिक्त सदस्यसचिवमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा जगतप्रसाद उपाध्याय नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको अध्यक्षतामा रहेको सिफारिस समितिको सिफारिशमा उहाँहरुको नियुक्ति भएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उहाँहरुको आजै शपथग्रहण हुने जानकारी दिनुभयो । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट औपचारिकपत्र नआइसकेको भए पनि नियुक्तिको प्रक्रिया शुरु भएको बताउनुभयो । अन्य प्राज्ञ परिषद् सदस्यको नियुक्तिको पनि तयारी गरिएको छ । तीन वटै प्रज्ञा–प्रतिष्ठानमा गत भदौ १९ गते पदाधिकारी रिक्त भएका थिए ।
––––