तीजको लहर आयो बरि लै : तस्विरमा हेर्नुहोस् कलाकारको तीज

0

काठमाडौँ । आज  नेपाली महिलाहरूको महान चाड हरितालिका तीज ।

प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ ।

गएराती दरखाने र आज ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ ।

यस पर्वलाई कलाकारहरुले पनि भव्यताका साथ मनाएका छन् । रातो साडीमा सजिएका कलाकाहरुको तस्विरले सामाजिक सञ्जाल भरिएका छन् ।

केहीले पशुपति नाथ मन्दिर समेत पुगेर पूजाआजा गरेका छन् ।

भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ ।

‘मदहोस’मा सृजना

0

काठमाडौं – मुभि मेकर्सको ब्यानरमा चलचित्र ‘मदहोस’ बन्ने भएको छ । सुरज प्रधानको प्रस्तुति रहेको चलचित्रको आइतबार ‘सुन ए गगन रुक जा पवन’ बोलको गीत रेकडिङ गर्दै चलचित्रको काम सुरु गरिएको गरिएको हो ।

गीतमा एसके अधिकारीको शब्द र बाबुल गिरी तथा सन्तोष प्रगाढको संगीत रहेको छ । गीतमा गायिका नित्या शिवा र संगीतकारद्धय बाबुल गिरी तथा सन्तोष प्रगाढले नै स्वर दिए । शंकर अधिकारीको लेखन तथा निर्देशन रहने ‘मदहोस’ यौन हिंसाको शिकार भएका युवतीको कथामा निर्माण हुन लागेको हो । शिक्षित बेरोजगार युवाहरु सामाजिक संजाल कसरी दुरुपयोग गरिरहेका छन् भन्ने समेत चलचित्र देखाउन खोजेको छ ।
विक्रम कार्कीको छायांकन, राजन महर्जनको नृत्य रहने चलचित्रमा सृजना बस्नेत, दीपेन्द्र कोइराला, कसिश दाहाल, राजु पौडेल, सलिना खड्का, प्रियंका अधिकारी लगायतका कलाकारको अभिनय रहनेछ । सृजना यसै चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् । उनीसँग छोटो चलचित्र तथा म्युजिक भिडियो अभिनय गरेको अनुभव पनि छ ।

जसिता र प्रदीपको लभ स्टेशन ५ असोजबाट फ्लोरमा

0

काठमाडौं– ‘लिलीविली’ जोडी प्रदीप खड्का र जसिता गुरुङको अभिनय रहने चलचित्र ‘लभ स्टेशन’ आगामी ५ असोजबाट छायांकनका लागि फ्लोरमा निस्कने भएको छ । निर्माण ब्यानर काफिया फिल्मस्ले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै  चलचित्रको बिभिन्न पक्षबारे जानकारी दिएको हो ।

दार्जिलिङ देखि छायाँकन सुरु गरिने यो चलचित्रको निर्देशन उज्ज्वल घिमिरेले गर्दैछन् । कार्यक्रममा चलचित्रमा आवद्ध कलाकार तथा प्राबिधिकको जानकारी समेत दिइयो ।  प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाह लगायतको अभिनय रहने चलचित्रको नाम ठाउँको आधारमा जुर्याइएको निर्देशक घिमिरेले बताए । ‘प्रदीप र जसिताको जोडी चलचित्रका लागि उपयुक्त भएकोले यो चलचित्र बन्न लागेको हो’ घिमिरेले थपे ‘चलचित्रको कथा पनि मेरै हो ।’ चलचित्र आफ्नो ड्रिम्स् प्रोजेक्सट भएको घिमिरेले खुलाए ।

स्क्रिप्ट राम्रो र सिनियर निर्देशक घिमिरेसँग काम गर्न पाउँदा आफु खुसी रहेको अभिनेता प्रदीपले बताए । उनले पारिवारिक प्रेमकथामा आधारित ‘लभ स्टेशन’ बिगतका चलचित्र भन्दा उत्कृष्ट बन्ने बताए । अभिनेत्री जसिताले पनि उज्ज्वल घिमिरे आफ्नै सफल निर्देशक भएकोले उहाँसँग काम गर्ने चाहना पहिले देखिनै रहेको बताइन् । उनले काफिया फिल्मस्ले फेरि आफुलाई प्रदीपको जोडीको रुपमा चयन गरेकोमा हर्सित रहेको सुनाइन् ।

गोविन्द शाही प्रस्तुतकर्ता रहेको चलचित्र दार्जिलिङपछि कालिङपोङ, सिक्किम, फिक्कल लगायतका स्थानमा छायाँकन हुनेछ । ४५ दिन छायाँकन अबधि तय गरिएको चलचित्र आगामी फागुनको अन्तिम साता प्रदर्शनमा आउने निर्माता गोबिन्द शाहीले बताए ।

आलोक शुक्लाको छायाँकन रहने लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेको यो चलचित्रका निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।  लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गर्न लागेका हुन् ।

देशदेखि विदेशसम्म यस्तो हुनेछ सेलिब्रेटीको तीज

0

यतिबेला महिला दिदीबहिनीलाई तीजको रौनकले छोइसकेको छ । हिन्दु नारीहरूको महत्वपूर्ण चाड पनि हो तीज । तीजमा दर खाने, खुसी साटासाट गर्नेदेखि उपहार आदान–प्रदान गर्नेसमेत गर्दछन् । यो तीजको रौनकले केहीलाई महिना दिन अगाडिदेखि नै छोएको छ भने कोही कामको चटारो मिलाएर तीज मनाउनतिर लागेका छन् । यो तीजले हाम्रा केही सेलिब्रेटीलाई व्यस्तसमेत बनाएको छ भने कोहीले परिवारसँग तीज मनाउन फुर्सदसमेत निकालेका छन् । के छन् कलाकार अर्थात् सेलिब्रेटीका तीज योजना उनीहरूकै शब्दमा ।

सञ्चिता लुइँटेल (अभिनेत्री) 
विगतका वर्षहरूको तुलनामा यस पटकको तीज मेरो स्पेसल भइरहेको छ । दुई साता अगाडिदेखि नै म दरखाने कार्यक्रममा सहभागी भइरहेकी छु । तीजका विभिन्न उपहारसमेत हात परेका छन् । तीजको दिन व्रत बसेर घर नजिकको मन्दिरमा पुगेर महादेवको दर्शन गरेपछि यस पटकको तीज अझ स्पेसल हुने मेरो धारणा रहेको छ ।

दीपाश्री निरौला (अभिनेत्री निर्देशक)
तीज विशेष चाड लाग्छ । तीजका लागि आवश्यक सबै ड्रेस ब्याङ्क्वेटले दिन्छ । त्यसैले सपिङ गर्नुपरेको छैन । व्रत पहिले पनि बस्थे । यो पटक पनि बस्छु ।

साहिमा श्रेष्ठ (गायिका)
तीज मेरो मनपर्ने चाड हो । तर पनि तीजका लागि भनेर मैले खासै सपिङ गरेकी छैन । एक सारी र केही सुन किनेकी छु । दिदीबहिनी, साथीभाइसँग नाचगान गर्ने, मन्दिर जाने यस्तै यस्तै होला यस पटकको मेरो तीज ।

शिल्पा पोखरेल (अभिनेत्री)
एक प्रोजेटको सिलसिलामा तीजमा म भारत हुनेछु । भारतमै तीज मनाउँछु । भारतमा भए पनि त्यहाँका नेपाली दिदीबहिनी नचाउने छु । आफू पनि उनीहरूसँगै नाच्ने छु । यो तीज भारतमा मनाउने भएकाले पनि मेरा लागि सम्झना योग्य हुनेछ । तीजका लागि केही सपिङ समेत गरेकी छु ।

सरिता लामिछाने (अभिनेत्री)
तीजका लागि भनेर म कहिल्यै पनि धेरै सपिङ गर्दिनँ । आफ्नो संस्कार र संस्कृतिको रूपमा लिएको तीज सरल तरिकाले मनाउन मनपर्छ । म विवाीित नारी भएकाले पहिलेदेखि नै व्रत बस्दै आएकी छु । तर यस पटक बस्दिनँ होला । अहिले मेरो स्वास्थ्यमा समस्य देखिएको छ । यो समय व्रत बस्नु लाभदायक हुँदैन । यस पटकको तीज मेरा लागि नआएको जस्तो लागेको छ । मन दुखाउने तीज फिल भएको छ । हजुरआमादेखि साना नानीसम्म बलात्कृत भएको समाचारले अहिलेको तीज राम्रो महशुस भएको छैन ।

एन्जेला रेग्मी (गायिका) 
तीजका लागि भनेर यो वर्ष आफैले एक तीज गीत पनि ल्याएकी छु । कार्यक्रमहरू थुप्रै छन् । भ्याई नभ्याई छ । तीजकै दिन चितवनमा कार्यक्रममा छ । त्यसमा सहभागी हुन्छु । तीजका लागि भनेर स्पेसल सपिङ केही गरेकी छैन । हल्काफुल्का सपिङ भने गरेको छु । तीजको व्रत अहिलेसम्म बसेको पनि छैन । यस पटक पनि धेरै कार्यक्रम भएकाले बस्दिनँ । आफ्नो मनको साथीका लागि व्रत बस्ने हो । व्रतले स्वास्थ्यलाई पनि राम्रो गर्छ भन्ने मेरो धारणा छ ।

खुस्बु खड्का (अभिनेत्री) 
तीजका लागि भनेर सारी किनेकी छु । तीज मेरो मनपर्ने चाड हो । म पहिलेदेखि नै तीजको व्रत बस्दै आएकी छु । व्रत बस्ने, आमाले पकाको दर खाने, मन्दिर जाने र दिदीबहिनीहरूसँग नाचगान गरेर तीज भव्य बनाउने सोचेकी छु । हेरौँ के हुन्छ ।

भूमिका गिरी (लोक गायिका) 
तीज हिन्दु नारीहरूको महान चाड हो । म पनि नारी भएकाले तीज विशेष लाग्छ । देश विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनु पर्ने भएकाले मैले तीजका लागि साडीहरू सपिङ गरेकी छु । व्रत बस्दिनँ । केही दिन पहिले दुबईको तीज कार्यक्रममा सकेर अहिले जापान आएकी छु । जापान निवासी नेपाली दिदीबहिनीहरूसँग तीज रमाइलो गर्न मनाउँछु ।

रजनी केसी (अभिनेत्री) 
तीज मेरो मनपर्ने चाडमध्येको एक हो । यो चाडमा विशेष पनि लाग्छ । अहिले देशबाहिर भएको कारण यो वर्ष तीज आफन्तसँग मनाउन पाउँदिनँ । विदेशमा भए पनि धेरै कार्यक्रममा सहभागी हुनपर्ने छ । तीजका लागि भनेर स्पेसल ड्रेस सारी किनेकी छु । सारी लगाएर मज्जाले नाच्ने योजना छ । धार्मिक आस्थाका लागि व्रत बस्दै आएकी छु । व्रतले आफ्नो स्वास्थ्य पनि राम्रो हुन्छ भन्ने मेरो धारणा छ ।

अञ्जु निरौला (मोडल)
तीजका लागि भनेर खासै सपिङ गरेकी छैन । तीज मेरो मनपर्ने चाडमध्येको एक हो । मैले जानेबुझेदेखि नै तीजको व्रत बस्दै आइरहेकी छु । आफूभन्दा ठूला दिदी, आमालगायतले व्रत बसेको देखेर म पनि बस्न थालेकी हुँ । दिदी बहिनी, आमाहरूसँग नाचगान गर्ने, मन्दिर जाने, दर खाने यस्तै यस्तै छ योजना ।

निरु खड्का (अभिनेत्री)
तीजकै लागि भन दिदीहरू तथा आफ्ना लागि चुरा र सारीहरू किनेकी छु । आआफ्नो काममा ब्यस्त हुने हामी सबैलाई यो चाडले भेटघाटको अवसर पनि जुराउने गर्दछ । यसकारण पनि तीज विशेष लाग्छ । धेरै तीज कार्यक्रममा बोलाएका छन् । भ्याई नभ्याई छ । भ्याएसम्म पुग्छु । व्रत बस्छु । नाचगान गर्छु ।

सरिता प्रजाप्रती (गायिका)
तीज भनेपछि निकै रमाइलो लाग्छ । १५ वर्षको उमेरदेखि तीज विशेष तवरले बनाउँदै आएकी छु । म शिवजी भक्त पनि हुँ । श्रीमानको आयु लामो होस् भनेर व्रत बस्ने चलन मलाई राम्रो लाग्छ । तीजका लागि ब्याग जुत्ता किनिसकेकी छु । अन्य केही किन्न बाँकी छ । आझ त्यो पनि सकाउँछु । तीज भन्दैमा म दिनभर खाली पेट बस्दिनँ । स्वास्थ्यमा समस्या आउने भएकाले फलफूल खान्छु । तीजको दिन गीत गाएर दिदी बहिनी र साथीहरूलाई नचाउँछु ।

अश्लेषा ठकुरी (अभिनेत्री)
तीजकै लागि भनेर मैले पनि ‘स्वमीज्यू..’ बोलको  गीत निकालेकी छु । विभिन्न कार्यक्रममा बोलाएका छन् । गएर  त्यही गीत गाउँछु, नाच्छु र अरूलाई पनि नचाउँछु । व्रत बस्छु, मन्दिर गएर भगवानको दर्शनसमेत गर्छु ।

ज्योती मगर (गायिका)
तीज मेरो मनपर्ने चाड हो । पहिले व्रत बस्थेँ । अहिले बस्दिनँ । भगवानसँग केही माग्नु पनि छैन । सबै पुगेको छ । सबै दिइसक्नु भएको छ । तीजका लागि सपिङ गर्नु पर्दैन । किनभने तीजको गीतको भिडियो सुटिङका लागि  केही पहिले धेरै सपिङ गरेकी छु । पहिले जस्तो रमाइलो यो वर्ष लागेको छैन । म भारतको सिमला कार्यक्रमको लागि जाँदै पनि छु ।

दीपिका प्रसार्इं (अभिनेत्री)
तीज पहिलेदेखि नै मनपर्ने चाड हो । तीजको लागि भनेर विशेष केही सपिङ गरेकी छैन । सुटिङका लागि जहिले पनि सपिङ गरिरहेकी हुन्छु । दरखाने, साथीहरू, दिदीबहिनी र आफन्तसँग नाचगान गर्ने, मन्दिर जाने योजना छ । अन्य त्यस्तो खास योजना बनाएकी छैन ।

सिलु भट्टराई (गायिका)
बिनाअर्थको खर्च मलाई खासै मन पर्दैन । आफूसँग जे छ, त्यसमै रमाइलो गर्न मनपर्छ । गतवर्ष किनेको साडी यो वर्ष पनि लगाउँछु । व्रत बस्दैमा सबै कुरा पूरा हुन्छ भन्ने होइन । साँचो मनले गरेको हरेक काम कुरा पूरा हुन्छ । केही नखाई व्रत बस्नुपर्छ भन्ने मलाई लाग्दैन । हामी कलाकार कामले हिँडिरहनुपर्ने हुन्छ । त्यसैले योजना बनाएकी छैन ।

लक्ष्मी आचार्य (गायिका) 
यो तीज स्वदेशमै मनाउने विचारमा छु । तीजका कार्यक्रमहरूको भ्याई नभ्याई निम्तो छ । सायद बिजी पनि हुन्छु । आफ्नो दिदी बैनीहरूसँग मज्जाले नाच्छु । तीजका लागि पनि विशेष सपिङ गरेकी छु । व्रत बस्छु । यो चलन राम्रो लाग्छ । अरूका लागि भन्दा पनि आफ्नो खुसीका लागि व्रत बस्दै आएकी छु । व्रत बस्न थालेको पनि झन्डै ६ वर्ष भयो । वर्ष दिनमा एक पटक आउने यो चाड मलाई मनपर्छ ।