साफ यू-१८ वुमन्स च्याम्पियनसिप फाइनल आज

साफ यू-१८ वुमन्स च्याम्पियनसिप फुटबलको उपाधि जित्ने लक्ष्यसहित भुटान पुगेको नेपाली महिला टोली त्यसबाट अब एक कदम मात्र टाढा छ। त्यो लक्ष्य प्राप्त गर्नका लागि नेपालले फाइनलमा आज अपराजित रहेको बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने उक्त फाइनल खेल नेपाली समयअनुसार बेलुका ६:४५ बजे सुरु हुनेछ। दुवै टोलीको लक्ष्य फाइनल जित्दै उपाधि उचाल्नु हुनेछ। तर नेपालको लागि बंगलादेश विरुद्ध मैदान उत्रिदा समूह चरणका बेहोरेको हारको बदला लिने उपयुक्त अवसर समेत छ। समूह बी मा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो। नेपाल त्यो हारको बदला लिने दाउमा समेत हुनेछ। सेमिफाइनलमा नेपालले चिरिपरिचित प्रतिद्वन्दी भारतलाई पेनाल्टीसुटआउटमा ३-१ ले गोलन्तरले पारजित गर्दै फाइनलमा स्थान बनाएको हो। जसमा गोलकिपर अन्जना मगरले दुई पेनाल्टी रोकेकी थिइन्। यस्तै बंगलादेशले भुटानलाई ४-० ले पारजित गर्दै फाइनलमा स्थान बनाएको हो। भारतलाई सेमिफाइनलमा हराएपछि नेपाली टोलीको मनोबल उच्च छ।

प्रज्ञा –प्रतिष्ठानमा पुनः उप्रेती

नेपाल प्रज्ञा –प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आज नियुक्त गर्नुभएको हो । उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति हुनुहुन्थ्यो भने त्यसअघिको कार्यकालमा उपकुलपति हुनुहुन्थ्यो । प्रतिष्ठानको रिक्त सदस्यसचिवमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा जगतप्रसाद उपाध्याय नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको अध्यक्षतामा रहेको सिफारिस समितिको सिफारिशमा उहाँहरुको नियुक्ति भएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उहाँहरुको आजै शपथग्रहण हुने जानकारी दिनुभयो । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट औपचारिकपत्र नआइसकेको भए पनि नियुक्तिको प्रक्रिया शुरु भएको बताउनुभयो । अन्य प्राज्ञ परिषद् सदस्यको नियुक्तिको पनि तयारी गरिएको छ । तीन वटै प्रज्ञा–प्रतिष्ठानमा गत भदौ १९ गते पदाधिकारी रिक्त भएका थिए । ––––

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक नेपाल विद्यार्थी सङ्घ र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न आज बस्दैछ । बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, नेविसङ्घको संशोधित विधान, बजार मूल्य वृद्धि र समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विधान संशोधन मस्यौदा समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले सो मस्यौदा तयारीबारेमा जानकारी गराउनुहुनेछ । सङ्घीय संरचनाअनुसार पार्टीका सङ्गठनात्मक संरचनालाई पुनः संरचना गर्न काङ्ग्रेसले विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न महामन्त्री खड्काको संयोजकत्वमा गत भदौ ७ गते पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले हालसम्म विधान संशोधन मस्यौदा तयारीका लागि पार्टीका विभिन्न निकाय, भ्रातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समितिलगायत सरोकारवालाबाट सुझाव लिइसकेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । समितिले संशोधित विधान सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिएको छ । महामन्त्री खड्का संयोजकत्व समितिले सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सांसद, प्रदेशसभा सदस्य र भ्रातृ संस्थाका प्रमुखको सुझाव लिएको हो । काङ्गे्रसले असोज ८ देखि १३ गतेसम्म सातै प्रदेशमा अन्तक्रिया कार्यक्रम गरी विधान संशोधन गर्न सुझाव सङ्कलन गरेको थियो । सङ्कलित रायसुझाव समावेश गरेर असोज २५ भित्र मस्यौदालाई अन्तिम रूप दिने गृहकार्य भइरहेको छ । सुझावको अध्ययनपछि अन्तिम मस्यौदा तयार गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पेश गरिनेछ । केन्द्रीय समितिले पारित गरेको विधान मस्यौदा महासमिति बैठकमा पेश हुनेछ । गत भदौ ९ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्न महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।

११ जना एसएसपीहरुको बढुवा सिफारिस

0
११ जना एसएसपीहरुको बढुवा सिफारिस नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको प्रहरी नायव महानिरीक्षक डिआइजी बढुवामा सिफारिस भएको छ ।बढुवा सिफारिस हुने एससपीहरुमा विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुर ज्ञवाली, पूर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कुमार कार्की, हरिभक्त प्रजापती र सूर्य प्रसाद उपाध्याय रहेका छन् । शनिबार गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बढुवाको सिफारिस गरेको हो ।