तीनवटा पेट्रोल पम्पमा सिलबन्दी

0

भैरहवा । ओमसतिया र रोहिणी गाउँपालिकामा पर्ने हुलाकी राजमार्गका तीनवटा पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ ।

सीमाक्षेत्रमा पेट्रोलियम पदार्थको अपचलनबाट नेपाली सवारीसाधनलाई डिजल र पेट्रोल अभाव भएपछि संयुक्त बजार अनुगमन टोली रुपन्देहीले आज छड्के अनुगमन शुरु गरेको हो ।

ओमसतिया गाउँपालिका पर्ने सुरज आयल डिस्ट्रिब्युटर्स, रोहिणी गाउँपालिकामा पर्ने जय माँ दुर्गे आयल स्टोर्स धकधई र न्यू एभरेस्ट आयल सप्लायर्समा सिलबन्दी गरेको संयुक्त बजार अनुगमन टोली रुपन्देहीका संयोजक तथा सहायक प्रजिअ नारायण पाण्डेले जानकारी दिए ।

सीमा क्षेत्रमा पर्ने यी पेट्रोल पम्पले नेपाल आयल निगमले दिएको निर्देशन अवज्ञा गर्दै भारतीय नम्बर प्लेटका मालवाहक ट्रक, बस र कारलाई अनाधिकृतरुपमा पेट्रोल तथा डिजल बिक्री–वितरण गरेको थिए ।

भारतीय बजारमा पेट्रोलियम पदार्थ अनाधिकृतरुपमा पैठारी गरेको सूचना थाहा पाएपछि निगमले भारतीय नम्बरका मालवाहक ट्रक, बस र कारलाई भारततर्फ फर्किने बेलामा बढीमा ५० लिटर इन्धन मात्र दिन पाइने सर्कुलर गरेको थियो ।

आयल निगमको निर्देशनलाई अवज्ञा गर्दै ती पेट्रोल पम्पले भारतीय नम्बरका सवारीसाधन तथा बस र ट्रकलाई मागे जतिको इन्धन दिएको अनुगमनका क्रममा अनुगमन टोलीले भेटेपछि कार्वाही प्रक्रिया अगाडि बढाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका प्रमुख वेदप्रकाश उपाध्यायले बताए ।

नेपाली बजारमा भन्दा भारतीय बजारमा पेट्रोलियम पर्दाथ डिजल र पेट्रोलको मूल्यमा झण्डै २० रुपैयाँ बढी छ । नेपालबाट इन्धन भारततर्फ विभिन्न माध्यमबाट पैठारी हुँदा नेपाली बजारमा अभाव देखिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय रुपन्देहीका प्रमुख उपाध्यायले जानकारी दिए ।

अनुगमनका क्रममा सिलबन्दी गरिएका पेट्रोल पम्पलाई कानुनअनुसार कडा कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । बजार अनुगमनलाई समेत निरन्तरता दिने संयुक्त बजार अनुगमन टोलीले बताएको छ ।

‘राजधानीको नाम चाँडै टुङ्गिन्छ’ : मन्त्री कार्की

0

दमक । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुङ्गिने बताएका छन् ।

झापाको गौरादहमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री कार्कीले प्रदेशले चाँडै नाम र राजधानीको स्थान पाउने बताए । प्रदेशको नामका लागि कोशी, सगरमाथा, कञ्चनजङ्घा, किरात, मेचे, लिम्बुवान्लगायत नाम प्रस्तावित भएकाले नाम छनोट गरी निर्णयमा पुग्न प्रदेश सरकार लागिपरेको उनले स्पष्ट पारे ।

उनले विराटनगर, गोठगाउँ, धरान, धनकुटा, इटहरीलगायतका नाम प्रस्तावित भएकाले राजधानीको टुङ्गो पनि चाँडै लगाउने बताए ।

मन्त्री कार्कीले विपत् व्यवस्थापन, शान्तिसुरक्षा, सञ्चारको क्षेत्रमा स्पष्ट कानून नबनेका कारण केही चुनौती रहेको बताए । उनले दमकका व्यवसायी खेमराज पौडेलको हत्यामा संलग्न दोषीले उन्मुक्ति नपाउने स्पष्ट पारे ।

कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकार बन्ने

0

काठमाडौँ । कास्कीको वीरेठाँडीदेखि मुस्ताङसम्म केवलकार निर्माण हुने भएको छ ।

सो केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट अध्यक्ष अरुणकुमार सुवेदीले समझदारीपत्रमा हस्ताक्षर गरे ।

सो केवलकारको लम्बाइ ८३ दशमलव ६५ किलोमिटर हुनेछ । सो केवलकारमा ६ वटा स्टेशन रहनेछन् । पहिलो शुरुवाती स्टेशन वीरेठाँटीमा हुनेछ । त्यसपछि घोरेपानी, तातोपानी, लेते, मार्फा, कागबेनी र मुक्तिनाथ रहनेछ ।

सो आयोजनाको कूल लागत करीब ३५ अर्ब लाग्ने बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए ।  गत वैशाख १५ गते बसेको बोर्डको ३० औँ बैठकले सो केवलकार निर्माणसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको थियो । बोर्डले मुक्तिनाथ दर्शन प्रालिलाई आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको थियो ।

समझदारीपत्रमा हस्ताक्षर भएको मितिले १८ महीनाभित्र विस्तृत परियोजना प्रतिवेदन तयार पारी बोर्डसमक्ष पेश गर्नुपर्ने प्रवक्ता वाग्लेले जानकारी दिए । नेपालमा निजी क्षेत्रबाट केवलकार निर्माण शुरु भई सञ्चालनमा आएको करीब डेढ दशकपछि सार्वजनिक निजी साझेदारी अवधारणामा हालसम्मकै लामो केवलकार निर्माण गर्न लागिएको हो ।

पछिल्लो पटक नेपालमा केवलकार निर्माणका लागि स्थानीय तहले नै पहल गर्दै आएको छ । मनकामना केवलकार र चन्द्रागिरिमा केवलकार निर्माण भई सञ्चालनमा आइसकेको छ । यस्तै दोलखाको कालीञ्चोकमा समेत केवलकार निर्माण सम्पन्न हुने चरणमा छन् ।

हाल देशभर दुई दर्जनभन्दा बढी स्थानमा केवलकार निर्माणका लागि पहल भइरहेको छ ।

राष्ट्रपति भण्डारीले गरिन् पशुपतिमा पूजा एवं दर्शन

0

काठमाडौँ । नेपाली महिलाको महत्वपूर्ण पर्व हरितालिका (तीज)का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेकी छन् ।

भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न जाँदा उनलाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापालगायत कोष सञ्चालक परिषद्का सदस्य एवं कर्मचारीले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीलाई पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टले फूल एवं प्रसाद दिएका थिए ।

सात लाखभन्दा बढी भक्तजन 

तीजका अवसरमा पशुपतिनाथ मूल मन्दिरभित्र प्रवेश गरेर सात लाखभन्दा बढी भक्तजनले दर्शन गरेको कोषका सदस्यसचिव डा ढकालले जानकारी दिए । बेलुकी ८ बजेसम्म भक्तजन लाममा बसेर पशुपतिनाथको दर्शन गरेका थिए । राष्ट्रपति भण्डारी मन्दिर प्रवेश गर्नुअघि एक घण्टा लाम बसेका दर्शनार्थीलाई मन्दिर प्रवेश गर्न दिइएको थिएन ।

यस वर्ष लाम व्यवस्थित गरिएकाले तिलगङ्गा–गौशाला–चावहिल मार्गमा दिनभर सार्वजनिक यातायात सञ्चालन भयो । यसले गर्दा पनि भक्तजन आवतजावत गर्न सहज भएको थियो । यस वर्ष एक घण्टामा मन्दिरभित्र पुगेर दर्शन गरी बाहिर निस्कन सकिएको झापाबाट आएकी दर्शनार्थी जानुका गुरागाईंले सुनाइन् ।

दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको थियो । तीजका दर्शनार्थीलाई प्रवेश गराउन मन्दिरका चार ढोका बेलुकी ८ बजेसम्म खुला गरियो । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा दिनभर भीड लाग्यो ।

पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भ¥याङ हुँदै कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको थियो ।

जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने र वनकाली–चारशिवालय–पञ्चदेवलपूर्व–बज्रघर–दक्षिणढोका हुँदै चौँसट्ठी लिङ्गको सानोढोकाबाट मन्दिर प्रवेश गरी दक्षिणढोकाबाट बाहिरिने व्यवस्था गरिएको थियो ।

दर्शनार्थीका सवारी पार्किङ गर्नका लागि तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरीपारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भागमा स्थान छुट्याइएको थियो । पर्वसँग सम्बन्धित सरकारी निकायका कर्मचारीको सवारी भने कोषको कार्यालय र अमालकोट कचहरीको कार्यालय परिसरमा राख्ने व्यवस्था गरियो । पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर उपत्यकाबाहिर धनेश्वर, कुशेश्वर, हलेसीलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो लाग्यो ।