राष्ट्रिय शिक्षक शिक्षा सम्मेलन – २०८२ सम्पन्न

पोखरा । शिक्षक शिक्षाका नवप्रवर्तन तथा चुनौतीहरु सम्बोधन गर्ने उद्देश्यका साथ “Innovations and Challenges in Teacher Education” थिमअन्तर्गत  पोखरामा आयोजित तीन दिने शिक्षक शिक्षा विषयक राष्ट्रिय सम्मेलन – २०८२ समापन भएको छ ।  वैशाख २९ गते सोमबार शिक्षक शिक्षासम्बन्धी १४ कार्यपत्रहरु प्रस्तुत गरेर बर्तमान शिक्षक शिक्षालाई स्वदेशी, रैथाने एवम् वैदिक ज्ञान र विज्ञान प्रविधि क्षेत्रमा विकास भएका नवप्रवर्तनसँग जोड्दै प्रविधि र संस्कृति मैत्री बनाउनु पर्ने र शिक्षकलाई तालिम भन्दा निरन्तर शिक्षाको अवसर तथा सुविधा दिएर पेसाप्रति जवाफदेही बनाउन सकिने निष्कर्शसहित सम्मेलन  समापन भएको हाे  । शैक्षिक योजना तथा व्यवस्थापन विभागका विभागीय प्रमुख डा. श्रीकृष्ण पन्थीको संयोजकत्वमा भएको ३ दिने उक्त सम्मेलन अवधीमा देशका ५० भन्दा बढी शिक्षाकर्मी तथा प्राध्यापकहरुको सहभागीता थियो भने विभिन्न विषयमा प्यानल छलफल र ब्रेकआउटसहित १२ वटा सत्रहरू चलाइएको थियो । पृथ्वीनारायण क्याम्पस शैक्षिक योजना तथा व्यवस्थापन विभागको आयोजना, पृथ्वीनारायण क्याम्पस तथा विश्वविद्यालय अनुदान आयोग (UGC) को सहयोग तथा नेपाल संस्कृत विश्वविद्यालय (NSU) एवम् नेपाल शीक्षाशास्त्री समाज (TESON), पोखराको सहकार्यमा ३ दिनसम्म चलेको सम्मेलनमा श्रुति शर्मा, शकुन्तला पगेनी, यादवराज अधिकारी, डा. खरिकादेवी पराजुली, डा. पितृराज बास्तोला, डा. पिताम्बर पौडेल, डा. विष्णुप्रसाद शर्मा, डा. प्रेमप्रसाद पौडेल, डा. श्रीकृष्ण पन्थी, रामप्रसाद सुवेदी, डा. खगराज बराल, प्रा. डा. गुरुप्रसाद सुवेदी, शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला, शिक्षविद्, प्रा. डा. वासुदेव काफ्ले लगायतले शिक्षक शिक्षाका विविध विषयमा प्रस्तुति दिनुभएको थियो । गण्डकी विश्वविद्यालयका डीन डा. कपिल अधिकारीले सम्मेलन पुस्तिका अनावरण गरी वैशाख २७ गते शनिवार उद्घाटन गरेको उक्त सम्मेलनको सोमबार २९ गते बुद्धजयन्तीका दिन  शिक्षाविद् प्रा. डा. वासुदेव काफ्लेले समापन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन समारोहमा बिभागीय सदस्य उपप्रा राम प्रसाद सुवेदीले कार्यक्रमको उद्देश्य सहित स्वागत, तथा शिक्षाशास्त्र संकायका सहायक क्याम्पस प्रमुख तथा कार्यक्रमका सल्लाहकार गजेन्द्रप्रसाद च्वाईं, अनुसन्धान कार्यक्रम (CRI) प्रमुख प्रा. डा. विकास के सी तथा डीन अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । अनुसन्धान प्रमुख के सी ले यस बिभाग अनुसन्धान तथा रचनात्मक कार्यमा अगाडि रहेकोमा बधाई दिनुभएको थियो भने बिशेष अतिथि  अधिकारीले अगामी १० वर्षमा AI ले शिक्षण र चिकित्सा पेसाको स्वरूप परिवर्तन गर्न सक्ने अध्ययनहरूले देखाएकोमा हामी ज्ञानका बारेमा पूर्व र पश्चिम भनि सीमारेखा नहुने कोर्न बताउनु भएको थियो । कार्यक्रमको पहिलो दिनका प्रमुख वक्ता नेपाल संस्कृत विश्वविद्यालयका प्रा. डा. गुरुप्रसाद सुवेदीले गुरुकुल शिक्षाको पुनर्बोध तथा शिक्षण पद्दति शीर्षकमा प्रवचन दिदैं गुरूकुल शिक्षा प्रणाली वैज्ञानिक रहेको हुँदा हामीले अधुनिक प्रविधिको साथसाथै पौरस्त्य ज्ञानको समेत प्रबर्धन गर्न जोड दिनुपर्ने विचार राख्नुभएको थियो । वक्ता डा. प्रेमप्रसाद पौडेलले शिक्षक शिक्षामा वैश्विक अभ्यासहरुको बिश्लेषण गर्दै नेपालको शिक्षक शिक्षाको गुणस्तरीय विकासकालागि भावी कार्यदिशा सम्बन्धमा आफ्नो विचार राख्नुभएको थियो । दोस्रो दिनका प्रमुख वक्ता शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले बदलिँदो गन्तव्यको शिक्षक शिक्षा तथा शिक्षक शिक्षण शीर्षकमा केन्द्रित रहेर वैश्विक शिक्षक शिक्षा र हाम्रो शिक्षक शिक्षामा अन्तर के छ, उल्झन के छ, कसरी रैथाने ज्ञानलाई जोड्दै पाठ्यक्रमलाई सान्दर्भिक बनाउने र अबको गन्त्व्य के हुनुपर्छ जस्ता विषयमा गहन विचार राख्नुभएको थियो । अर्का प्रमुख वक्ता पूर्व शिक्षा सचिव तथा नास्ट सेवा आयोगका अध्यक्ष डा. खगराज बरालले नेपालमा शिक्षक र शिक्षक शिक्षा अभ्यास, चुनौती तथा आगामी दिशा विषयक कार्यपत्र प्रस्तुत गर्दै देशको शिक्षक शिक्षामा सरकारको नीतिगत अस्थिरता र विरोधाभास रहेको तथ्यगत प्रस्तुति दिनुभएको थियो । तेस्रो दिनका प्रमुख वक्ता शिक्षाविद् प्रा. डा. वासुदेव काफ्लेले शिक्षक शिक्षामा समता, समावेशीकरण र विविधता शीर्षकमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । शिक्षाविद् काफ्लेले अबको शताब्दी समाजमा पछि पारिएका वा परेका बर्ग (subaltern community) को भएकाले शिक्षक शिक्षामा बिविधता व्यवस्थापन र समाबेशीतालाई पनि जोड दिनुपर्ने र समाबेशीताको मुद्धा एक् लामो र खर्चिलो यात्रा रहेको तर बहिष्करणको परिणाम अझ बढी खर्चिलो हुने विचार राख्नुभएको थियो । अर्का वक्ता डा. श्रीकृष्ण पन्थीले त्रिभुवन विश्वविद्यालयको पूर्व सेवाकालिन शिक्षक शिक्षा र शिक्षक सेवा आयोगको शिक्षक अनुमतिपत्र तथा छनोट परीक्षाको पाठ्यसामग्रीवीचको तुलनात्मक अध्ययनमा १० प्रतिशत मात्रै तालमेल रहेको अनुसन्धानमा देखिएको हुँदा विश्वविद्यालयको शिक्षा र सेवा आयोगको परीक्षालाई सान्दर्भिक बनाउनुपर्ने विचार राख्नुभएको थियो । उक्त दिन शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला समेतको सहभागीतामा “Talk to Gurus” शीषर्कमा Breakout Session पनि राखिएको थियो । शैक्षिक योजना तथा व्यवस्थापन विभागका विभागीय प्रमुख डा. श्रीकृष्ण पन्थीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा शैक्षिक योजना तथा व्यवस्थापन विभागका सदस्य तथा शिक्षण अभ्यास बिभाग प्रमुख रामप्रसाद सुवेदीले स्वागत, सहभागी कल्पना ढुंगानाले कार्यक्रमको अनुभव, अंग्रेजी शिक्षा विभागका विभागीय प्रमुख डा. नवराज न्यौपानेले सम्मेलनका उपलब्धि व्यवहारमा रूपान्तरण हुनुपर्ने धारणा राख्नुभएको थियो भने कार्यक्रमका सल्लाहकार तथा शिक्षाशास्त्र संकायका सहायक क्याम्पस प्रमुख गजेन्द्रप्रसाद च्वाईंले राम्रो कार्यक्रम गरेकोमा बिभागलाई धन्यवाद दिनु भएको थियो भने बिशिष्ट अतिथि काफ्लेले शिक्षक शिक्षा नेपालमात्र होइन, विश्वमै चौबाटोमा छ । यो विषय अहिले साझा सवाल हो । अमेरिकामा पनि सबैभन्दा बढी जागिर छाड्ने पेसा शिक्षण नै भएको छ जसरी केही वर्ष यता देशमा शिक्षक अभाव हुँदैगएको छ भने भएका राम्रा शिक्षकलाई पनि कसरी रिटेन गर्ने भन्ने चुनौति थपिएको छ । शिक्षक परिवर्तनको निर्माता भएको हुँदा उसलाई निरन्तर शिक्षाको आवश्यकता हुन्छ भन्ने मन्तव्य राख्दै सान्दिर्भिक कार्यक्रम गरेको भनि विभागलाई बधाई दिनु भएको थियो । बिभागीय प्रमुख डा श्रीकृष्ण पन्थीको संयोजकत्वमा राम प्रसाद सुवेदीले अर्थ र अतिथि सत्कार, कृष्ण प्रसाद तिमिल्सिनाले फोटोग्राफी तथा जलपान, सृजना सुवेदीले हल व्यवस्थापन, श्रीकान्त सापकोटाले संचार र स्टेशनरी व्यवस्थापनसहित कार्यक्रम संचालनको जिम्मा बिभागीय सदस्य गोविन्द प्रसाद गैह्रेले लिनुभएको उक्त कार्यक्रम व्यवस्थापनमा एक्का तामाङ र राम बहादुर मगरले हल तथा कार्यक्रम व्यवस्थापनमा उल्लेख्य सहयोग पुर्याउनु भएको थियो । साथै आर्थिक सहनियन्त्रक पुष्पराज पौड्याल तथा कर्मचारी प्रशासन प्रमुख पूर्ण बहादुर गुरुङ, लेखा अधिकृत पुष्प राज भट्टराई, पश्चिमान्चल क्षेत्रिय पुस्तकालय प्रमुख किशोर सुबेदी तथा QAA संयोजक अमृत कुमार भण्डारीले कार्यक्रममा व्यवस्थापनमा सहजीकरण गरी सहयोग गर्नु भएको थियो भने क्याम्पस प्रमुख प्रा. डा. हरि प्रसाद पाठक प्रमुख सल्लाहकार र शिक्षाशास्त्र संकाय प्रमुख गजेन्द्र प्रसाद च्वाईं तथा स्नातकोत्तर शिक्षा कार्यक्रम संयोजक महादेव पहारी सल्लाहकारको भूमिकामा रहेर कार्यक्रममा सहयोग पुर्याउनु भएको थियो । यसरी सम्मेलन रचनात्मक, उपयोगी र भव्य रुपमा सम्पन्न गराउन सहयोग पुर्याउनु हुने सबै मुख्य वक्ता, वक्ता, प्यानल प्रस्ताता तथा सहभागी तथा अन्य सहयोगी सबैलाई, बिशेषगरी आर्थिक तथा अन्य आवश्यक सहयोग पुर्‍याउनु भएकोमा विश्वविद्यालय अनुदान आयोग र पृथ्वीनारायण क्याम्पसलाई आयोजक एवम् शैक्षिक योजना तथा व्यवस्थापन बिभागले धन्यवाद ज्ञापन गरेको छ ।    

पन्चासे बुद्ध विहार साहिस्वारामा विभिन्न कार्यक्रमका साथ बुद्ध जयन्ती मनाइयाे 

 
     

गण्डकी कोटिहोम उल्लासमय, कलाकारदेखि आयोग आयुक्तसम्मको सहभागिता

कास्की । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा  शुक्रवार साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति सहित उल्लासमय बनेको छ।
कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लगायत  पोखरेली चेली चर्चित गायिका समीक्षा अधिकारीको सँगै लोकदोहोरी गायिका पार्वती जिसीको उपस्थिति सहित  कोटिहोम सङ्गीतमय बन्यो ।
शुक्रबार  प्रमुख अतिथीको रुपमा अख्तियार  दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा अमात्य भएको कोटिहोममा   टोखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी सहित १५ जना विशिष्ट व्यक्ति  र १ सय जना विद्यार्थी स्वयंसेवीको रूपमा कोटिहोममा आएका छन् ।
सोहि अबसरमा  प्रमुख प्रशासकीय  अधिकृत बिसीको भजनको भिडियो विमोचन गरि २५ हजार रुपैयाँ दान  गरेका छन्।  यसै गरि पोखरा महानगरपालिका वडा न १६ स्थित हरिलक्ष्मी गुरुङद्वारा १ लाख १ सय ५ रुपैयाँ,पोखरा महानगरपालिका वडा न ६ स्थित कमला गिरि द्वारा १ लाख २१ हजार र धार्मिक सेवा समिति मौलाकालिका मन्दिरबाट २५ रुपैयाँ सहित अन्य ब्यक्तिबाट दान प्राप्त भएको छ।
कोटिहोममा यही वैशाख २७ गते शनिवार १ हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ ।  उक्त अवसरमा  बिहान ९ बजे तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको ढकालले जानकारी दिए ।
संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई बिहान १० बजे सम्मान गर्ने तयारी भएको छ ।
शनिवार चर्चित लोकगायक पशुपति शर्मा,  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन तथा विशेष साड्डीतिक कार्यक्रम र आइतबार लोकदोहोरी गायिका अस्मिता डल्लाकोटिको प्रस्तुति रहने छ ।
महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले कोटिहोममा साधु, सन्त, महन्तहरूको दर्शन, प्रवचन, आशीर्वाद तथा सङ्घीय प्रदेश सरकारका मन्त्री तथा सांसद, राजनितिक दलका नेता तथा समस्त भक्तजनको उपस्थितिले महायज्ञ सफल भईसकेको बताए ।
कोटिहोममा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए ।
उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा  प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ ।
कोटिहोममा यही बैशाख २९ गते चौरासी पूजन कार्यक्रम गरिने भएकाले आमाबुवाहरूको उपस्थितिमा, सवा करोड पार्थिव शिवलिड्डको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त  गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने,  वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
कोटिहोममा  सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल,  जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।
कोटिहोममा  राष्ट्रिय भजन प्रतियोगिता, खुल्ला रक्तदान कार्यक्रम चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी रहेको छ ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा

पोखरा ।  पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत मंगलबार बिहान ११ हजार कलश सहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न भएको छ।
कोटिहोम परिसरबाट सुरु भएको यो यात्रा पोखराका बिभिन्न मुख्य सडक हुदै अगाडि बढेको थियो । गंगाको जलसहित ११ हजार कलश बोकेर देशभरबाट आएका भक्तजन, साधु–सन्त, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको उत्साहपूर्ण सहभागिताले पोखराको वातावरण भक्तिमय बनेको थियो।कलश यात्रामा चर्चित कथा बाचिका देवी प्रतिभा ,वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजी सहित मुख्य पात्रहरुको सहभागिता रहेको थियो ।
कलश यात्रा कार्यक्रम संयोजक दुर्गा केसीले यात्रामा जिल्ला बाहिरबाट समेत उल्लासमय सहभागिता रहेको बताउँदै सबैलाई धन्यवाद व्यक्त गरिन्। “हामीले अपेक्षा गरेभन्दा बढी सहभागिता भयो, जसले महायज्ञको महत्त्व र उत्साहलाई झल्काएको छ,” उनले भनिन्।
यात्रामा समूह, भेषभूषा, अनुशासन र ब्यानरसहित सहभागी हुने समूहलाई पुरस्कारको व्यवस्था गरिएको थियो। आयोजकका अनुसार, महायज्ञ समापनपछि प्रतिकलश १ हजार ३ सयमा र दुई कलश २ हजार ५ सयमा घर लैजान सकिने व्यवस्था गरिएको छ।
महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले यो यात्राले पोखरालाई धार्मिक गन्तव्यको रूपमा थप स्थापित गरेको बताए। “यो शोभा कलश यात्रा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश बोकेर सम्पन्न भएको छ,” उनले भने।
। महायज्ञ वैशाख १७ देखि जेठ २६ गतेसम्म चल्नेछ, जसमा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमान कथा, श्रीमददेवी भागवत कथालगायतका प्रवचन, हवन, भजन, झाँकी, देवलीला र नृत्य प्रस्तुतिहरू हुने महायग मूल आयोजक समितिका सह – निर्देशक युवक लामिछानेले बताएका छन्  ।
राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रवर्द्धन तथा असहाय बालबालिका र ज्येष्ठ नागरिक संरक्षणका लागि आयोजित यो महायज्ञमा सामाजिक सञ्जालमार्फत प्रचार गर्नेहरूलाई २५ हजारसम्मको पुरस्कार र सम्मानपत्र प्रदान गरिने महायज्ञ मुल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले बताए।
महायज्ञले पोखराको धार्मिक र सांस्कृतिक पहिचानलाई उजागर गर्दै सामाजिक एकता र आध्यात्मिक जागरणको सन्देश प्रवाह गरेको आयोजकको दाबी छ।